नक्कली सौन्दर्य सामग्री उत्पादन गर्ने कारखानामा प्रहरीको छापा, सञ्चालक चेतन गोयल पक्राउ

बुधबार, २५ चैत, २०७७
डिजिटल संस्करण

भारतमा बनेको भन्दै गैरकानुनी तवरले सौन्दर्यवद्र्धक सामग्री उत्पादन गर्ने कारखानामा प्रहरीले छापा मारेको छ । चन्द्रागिरि नगरपालिका– १५ स्थित ढुंगेअड्डामा खोलिएको कारखानामा छापा मार्दै प्रहरीले सञ्चालक चेतन गोयललाई पक्राउ गरेको छ ।

नक्कली सामग्री उत्पादन गरेकै अभियोगमा गोयललाई प्रहरीले दुई वर्षअघि पनि पक्राउ गरेको थियो । त्यसवेला जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुई लाख ५० हजार रुपैयाँ धरौटी बुझाएपछि उनी छुटेका थिए । प्रहरीका अनुसार धरौटीमा छुटेलगत्तै उनले करिब डेढ करोड रुपैयाँ लगानीमा कारखाना खोली गैरकानुनी तवरले नक्कली सौन्दर्यवद्र्धक सामग्री उत्पादन गर्दै आएका थिए । 

महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीका अनुसार गैरकानुनी तवरले सञ्चालित उनको कारखानामा नेपाल र भारत दुवै मुलुकमा उत्पादन भएको भनी उल्लेख गरिएको मेहेन्दी र फेस क्रिम भेटिएका छन् । उत्पादित सामग्रीमा नक्कली होलोग्राम प्रयोग भएको र सामग्री सबै नक्कली रहेको अनुसन्धानमा संलग्न एसपी पंगेनीले बताए । ‘गैरकानुनी तवरले कारखाना सञ्चालन भइरहेको सूचनापछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीसँगै हामी सम्बन्धित ठाउँ पुग्यौँ । त्यहाँ भारतमा बनेको भनिएका, तर त्यहीँ प्याकिङ गरिएका विभिन्न सौन्दर्य सामग्री फेला पर्यो, गुणस्तर परीक्षण गर्दा सबै नक्कली रहेको खुल्यो,’ उनले भने ।

प्रहरीका अनुसार गोयलले दुई वर्षदेखि हबिक काला कोकिला नामको उद्योग सञ्चालन गर्दै आएका थिए । उद्योगबाट उनले उच्च अदालत पाटनको आदेशपछि खारेज भइसकेको निशा नामको ट्रेडमार्क प्रयोग गरी मेहेन्दी उत्पादन गर्दै आएका थिए । सँगै उनले कारखानाबाट सोही ट्रेडमार्क प्रयोग गरी अन्य २४ प्रकारका सौन्दर्य सामग्री उत्पादन गर्दै आएका थिए । यसका लागि उनले अत्याधुनिक चारवटा मेसिन नै जडान गरेका थिए ।

‘अदालतको खारेज भइसकेको ट्रेडमार्कको अनधिकृत प्रयोग गरी मेहेन्दी उत्पादन गरेको देखियो । सँगै अन्य २४ प्रकारका सौन्दर्य सामग्री पनि उत्पादन भएको भेटियो । भारतमा उत्पादन गरेको भनिएको सामग्रीमा लेबल लगाउने काम त्यहीँ हुने गरेको पाइयो,’ एसपी पंगेनीले भने । 

प्रहरीका अनुसार उत्पादित सामग्री बिक्री गर्न उनले न्युरोडस्थित ताम्राकार प्लाजा मखन गल्लीमा आहान इन्टरप्राइजेज नामको होलसेल पसल नै खोलेका थिए । सोही पसलबाट उनले देशभर नक्कली सौन्दर्य सामग्री बिक्री गर्दै आएका थिए । कारखाना सञ्चालनका लागि उनले १२ जना कर्मचारी नियुक्त गरेको प्रहरीले जानकारी दिएको छ । 

See More On

सुझावित समाचार