कर्णालीका मुख्यमन्त्री शाहीले मार्गप्रशस्त गर्नुपर्ने एमाले निर्णय

सोमबार, २३ चैत, २०७७
डिजिटल संस्करण

एमाले कर्णाली प्रदेशको संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेको छ । आइतबार बसेको दलको बैठकले ४ चैतमा माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएकाले मुख्यमन्त्रीको राजीनामा माग गरेको हो ।

शाही साबिकको नेकपाका नाममा मुख्यमन्त्री भए पनि अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएकाले नैतिकताका आधारमा र आफ्नो पार्टीले समर्थन फिर्ता लिइसकेकाले मुख्यमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बताए । ‘मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न भनेका छौँ,’ उनले भने, ‘मार्गप्रशस्त नगरे पनि उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।’ 

संसदीय दलको बैठकमा मुख्यमन्त्री शाहीले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त नगरे एमालेबाट सरकारमा सामेल मन्त्रीहरूलाई राजीनामा गराउने निर्णय गरेको माधव नेपाल पक्षका एक सांसदले बताए । ‘तीनजना मन्त्रीलाई २४ घन्टाभित्र राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन दलले निर्देशन दिएको छ,’ उनले भने, ‘दलले भनेको वेला उहाँहरूको राजीनामा आउँछ ।’ 

शाही नेतृत्वको सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दलबहादुर रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सहभागी छन् । 

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन ४ चैतमा ओली पक्षले फिर्ता लिँदा नेपाल पक्षले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको जानकारी दिएको थियो । शनिबार बसेको माओवादी केन्द्रको बैठकले वर्तमान सरकारमा एमाले मन्त्रीहरू पनि रहेकाले विश्वासको मत लिनु आवश्यक नरहेको निर्णय गरेको थियो । ‘कुन एमालेलाई आधिकारिक मान्ने ? १० जनाले समर्थन फिर्ता लिएको जानकारी पाएका थियौँ,’ माओवादी केन्द्रकी सचेतक सीता नेपालीले भनिन् । 

सुझावित समाचार