कोरोना भाइरसविरुद्ध विश्वले देखाएको तत्परता वायु प्रदूषणविरुद्धको लडाइँमा पनि खाँचो पर्छ, तर पहिले समस्याको पहिचान गरिनुपर्छ
विगत १५ महिनाको अवधिमा कोरोना भाइरसका कारण २८ लाख मानिसको ज्यान गइसकेको छ । यही अवधिमा झन्डै तीन गुणा मानिस वायु प्रदूषणबाट मरे । पछिल्लो अध्ययनका अनुसार वायु प्रदूषणका कारण बर्सेनि ८७ लाख मानिस मर्छन् । यसका दुइटा दु:खद पक्ष छन् । एउटा त मर्नेको संख्या आफैँमा यति विशाल हुनु दु:खद हो, तर यति ठूलो मृत्यु विश्व समुदायले जसरी सामान्य मानेको छ, त्यो झनै दुःखद छ ।
कोरोना भाइरसको प्रकोप नियन्त्रणमा सारा संसार जुन तीव्रताका साथ एक ठाउँमा आयो, वायु प्रदूषणविरुद्ध पनि एकता र तीव्रताको खाँचो छ । तर, बिस्तारै आउने मृत्यु र विध्वंसलाई बेवास्ता गर्नु मानवीय स्वभाव नै हो । हामी सुस्त मृत्युलाई पृष्ठभूमिको आवाजजस्तै सामान्य मान्ने रहेछौँ । वायु प्रदूषणबाट बर्सेनि हुने ८७ लाख मृत्युको स्थितिलाई हामीले आपत्कालीन संकटका रूपमा लियौँ भने मात्र यथास्थितिमा हस्तक्षेपको सम्भावना बढ्छ । जीवाश्ममा आधारित इन्धनको उपभोगमा परिवर्तन गरेर मात्र वायु प्रदूषणको स्तरमा सुधार गर्न सकिन्छ ।
कोरोनाविरुद्धको लडाइँमा विश्वभरका मानिस आफ्नो दैनिक जनजीवन परिवर्तन गर्न तयार भए । हवाई आवागमन ठप्पप्रायः भयो र हामीले जिउने तरिका परिवर्तन भयो । संकटबाट प्रभावित मानिसहरूको वित्तीय सहयोगका लागि ठूलो रकम परिचालन भयो । हामीले यही काम जलवायु परिवर्तनको सन्दर्भमा पनि अवलम्बन गर्न सक्थ्यौँ । तर, हामीले जलवायु परिवर्तनविरुद्धको कदमलाई अझै अत्यावश्यक कामका रूपमा लिन सकेका छैनौँ । यही सोचमा मूल समस्या छ । मुख्यतः मानिसलाई हाम्रो व्यवहारले वर्तमान स्थितिलाई सुधार गर्न सकिन्छ भनेर बुझाउन आवश्यक छ ।
वायु प्रदूषणले बर्सेनि कोभिडले भन्दा तीन गुणा बढी मानिसको ज्यान लिन्छ, यति गम्भीर संकटविरुद्ध आवश्यक तत्परता देखिँदैन
मानिसहरू आफूअगाडि भर्खरै घट्ने नयाँ घटनाविरुद्ध कदम चाल्न तत्पर देखिँदा रहेछौँ, तर दशकौँ वा शताब्दीऔँदेखि चलिरहेको घटनालाई सामान्य रूपमा लिँदा रहेछौँ । त्यही भएर पर्यावरण आन्दोलनको मुख्य काम यही सामान्य लिन थालिएको परिघटना कति खतरनाक छ भनेर बोध गराउनु हुनेछ ।
जलवायु परिवर्तन हरदिन महसुस नहुने भएकाले यो अदृश्य हुन्छ, हामी यसको प्रभाव मात्र महसुस गर्छौं । जलवायु परिवर्तनअघि पनि अमेरिकाको क्यालिफोर्निया राज्यमा आगो लाग्थ्यो । तर, अहिले डढेलो पहिलेभन्दा ठूलो, बलियो र तीव्र बनेको छ । यो यथार्थको पहिचान गर्न तथ्यांकले सघाउँछ । महामारीका सुरुका दिनमा ताजा हावा र चराको चिर्बिरे आवाज सुन्न थालिएको विषय सबैभन्दा बढी चर्चा भएको थियो । विश्वभर नै प्रदूषणको स्तरमा भारी गिरावट आएको थियो । तर अहिले स्थिति बिस्तारै सामान्य अवस्थामा फर्किंदा प्रदूषणको स्तर पुनः पहिलेकै स्थितिमा पुग्न थालेको छ । तर, अब विगतमा सामान्यीकरण गरिएको मृत्युलाई स्विकार्न छाड्नुपर्छ । समग्र तथा गुणात्मक प्रभावमाथि प्रकाश पारेर मानिसको नजर यतातिर तान्न सकिन्छ । परिस्थिति कसरी फरक हुन सक्थ्यो भन्ने कुराको लेखाजोखा सार्वजनिक गरेर मानिसको चेतना बढाउन सकिन्छ । जलवायु परिवर्तनको सन्दर्भमा विश्व पहिलेभन्दा बिग्रिँदै जाने विकल्प मात्र छ भनेर मानिसलाई बुझाउनुपर्छ । ठोस कदमले मात्र खराबको स्तरलाई सीमित पार्न सकिन्छ ।
ऊर्जा क्षेत्रमा आइरहेका नाटकीय परिवर्तनले केही आशा जगाएको छ । विश्वको धेरै स्थानमा कोइला उद्योग धराशयी भइरहेका छन् । तेल तथा ग्यास उद्योगमा पनि ह्रास आइरहेको छ । नविकरणीय इन्धनको प्रभावकारिता निरन्तर वृद्धि भइरहँदा तिनको प्रयोग बढेकोबढ्यै छ । कोभिड–१९ कसरी जनावरबाट मानिसमा आइपुग्यो भनेर निकै गहन अध्ययन भइरहेका छन् । तर, त्यतिकै गहनताका साथ हामीले ८७ लाख मानिसको ज्यान लिने प्रदूषणप्रति गम्भीरता देखाउन आवश्यक छ ।
महामारीपछिको विश्वले जलवायुविरुद्ध हालसम्मको अकर्मण्यतालाई स्विकारिँदैन भन्ने मेरो विश्वास छ । महामारीविरुद्ध अमेरिकी सरकारले जसरी खर्बाैं डलर पैसा प्रयोगमा ल्यायो, जलवायु संकटविरुद्ध पनि यस्तै तदारुकताको आवश्यकता छ । बाइडेन प्रशासनले केही उत्साहप्रद आशा देखाएको छ, तर यति मात्र पर्याप्त हुँदैन । उसले थप कदम उठाउनुपर्छ र जलावायुविरुद्धको अग्रसरतामा विश्वको सहयोग लिने प्रयास गर्नुपर्छ । कार्बन उत्सर्जन कटौती र थप सफा ऊर्जाको प्रयोग वृद्धिले मृत्यु घट्नेछ । भविष्यमा हामीले उल्लेख्य प्रगति ग¥यौँ भने कोरोनाकालमा जस्तै पुनः चराको चिर्बिर सुन्ने दिन फर्किनेछ । तर, पहिले हामीले समस्या र सम्भावना दुवैको पहिचान गर्नुपर्छ ।
(सोल्नित लेखक हुन्)
गार्जियनबाट