आर्मीसँग न्यु डायमन्ड पराजित

शनिबार, २१ चैत, २०७७
डिजिटल संस्करण

न्यु डायमन्ड क्लब पाँचौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मीसँगसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको छ । प्रतियोगिताको पहिलो दिन ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गरेको न्यु डायमन्डले शुक्रबार आर्मीविरुद्ध अन्तिम सेटसम्म कडा चुनौती प्रस्तुत गरेको थियो । 

पहिलो सेटमा १७–२१ ले पछाडि परेको न्यू डायमन्ड दोस्रो सेटमा फर्कियो । यस सेटमा न्यु डायमन्डले आर्मीलाई २५–२० ले निराश पार्यो । आर्मीले अघिल्लो सेटको बदला लिँदै तेस्रो सेट २५–२३ ले बाजी मार्यो । न्यु डायमन्डका खेलाडी सम्हालिँदै चौथो सेट २५–१५ ले जिते ।

पहिलो चार सेटमा दुवै टोलीबीच २–२ सेट बराबरी भएको थियो । पाँचौँ तथा अन्तिम सेट कुनै पनि पक्षमा जान सक्थ्यो । आर्मी अन्तिम सेटमा सम्हालियो । यसविपरीत न्यु डायमन्डले अन्तिम समयमा सहज अंक गुमाउँदा आर्मी १५–१२ ले विजयी भयो । आर्मीले महत्वपूर्ण दुई अंक बटुल्यो । 

नेपाल भलिबल संघको आयोजनामा सञ्चालन भइरहेको च्याम्पियनसिपको महिलातर्फ अर्काे खेलमा एपिएफ र नेपाल पुलिसले जित निकाल्न सफल भएका छन् । एपिएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३–० को सहज जित निकाल्यो । एकपक्षीय खेलमा एपिएफले ढोरपाटनलाई २५–३, २५–९ र २५– ५ ले हराएको हो । एपिएफले तीन अंक जोड्यो । यस्तै पुलिसले पनि भरतपुर मेट्रो खेलकुदमाथि ३–० कै जित रच्यो । पुलिसले भरतपुरलाई २५–४, २५–८ २५–१२ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको हो ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबले ३ अंक जोड्यो । हेल्प नेपालले नयाँबजार सामाजिक युवा क्लबमाथि ३–१ को जित निकालेको हो । पहिलो सेट २५ । १४ ले जितेको हेल्प नेपालले दोस्रो सेटमा २५–२३ ले पराजित भयो । खेलमा फर्कदै हेल्प नेपालले तेस्रो सेट २५–२२ र चौथो सेट २५–१६ ले जित्यो । 

See More On

सुझावित समाचार