गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयको विरोधपछि विज्ञटोलीद्वारा स्थलगत अनुगमन, एक महिनाभित्र नमुनाको रिपोर्ट आउने
प्रहरी सुरक्षामा ‘डोल्पा सदरमुकाम दुनै बचाऊ कार्यक्रम’को नमुना संकलन गरिएको छ । जलस्रोत तथा सिँचाइ विभाग काठमाडौंबाट आएको सहसचिव विष्णुदेव यादव, शाखा अधिकृत कृष्णा गिरी र इन्जिनियर मुकेश पाठकसहितको तीन सदस्यीय विज्ञटोलीले बिहीबार नमुना संकलन गरेको हो ।
स्थलगत अनुगमन गरेर नमुना संकलनका क्रममा केही समूहले अवरोध गर्न खोजेपछि प्रहरी आफैँले सुरक्षा दिएको जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतको नदी व्यवस्थापन महाशाखाका प्रमुख यादवले बताए । ‘एक अर्ब रकमबराबरको सदरमुकाम बचाऊ कार्यक्रमको नियमित अनुगमनका क्रममा हामी आएका हौँ, नमुना संकलन भइसक्यो, त्यसको परीक्षणपछि मात्रै गुणस्तरका विषयमा भन्न सकिन्छ,’ उनले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायत निकायलाई आफूहरूले जवाफ पेस गर्नुपर्ने भएकाले गुणस्तरीय विकासको पक्षमा आफूहरू सचेत रहेको यादवको भनाइ छ । टोलीले निर्माणस्थलको स्थलगत अनुगमनसमेत गरेको छ ।
आयोजनामा प्रयोग भएको मसला, तारजाली र आरसिसीको नमुना लिइसकेकाले एक महिनाभित्रै सबै नमुनाको रिपोर्ट आउने अनुगमन टोलीले जनाएको छ । अनुगमन टोलीलाई सुरक्षा चुनौती भएको सूचना आएपछि सहज रूपमा नमुना संकलन गर्ने वातावरण मिलाइदिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक हरिराम डाँगीले बताए ।
अनुगमन टोलीले सहमति कार्यान्वयन नगरेकोमा कांग्रेसको आपत्ति
प्रमुख प्रतिपक्षी कांग्रेसले दुनै बचाऊ कार्यक्रमअन्तर्गत भइरहेको काममा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै विरोध जनाउँदै आएको छ । डोल्पा कांग्रेस सभापति अंगतकुमार बुढाले राज्यको अर्बबराबरको लगानी भएको आयोजनामा नाफा कमाउने खेलमा भेरी उत्खनन तीव्र पारिएको बताए । अनुगमनका क्रममा आयोजनामा खोलाका काम नलाग्ने ढुंगा प्रयोग गरेको पाइएको उनले दाबी गरे ।
‘प्रहरीले रोक्न खोज्दाखोज्दै जबर्जस्ती अनुगमन टोलीसँग हिँडे, कम्तीमा दुईवटा जाली खोलेर हेर्ने सहमति भएको थियो, तर टोलीले सहमति कार्यान्वयन गरेन,’ उनले भने । हजारौँ जनताको भविष्यसँग जोडिएको आयोजनाको कांग्रेसले निरन्तर निगरानी गर्ने बुढाले बताए ।
जिल्ला सदरमुकाम नै नदी कटानको उच्च जोखिममा रहेको भन्दै भविष्यमा हुन सक्ने सम्भावित ठूलो धनजनको क्षतिबाट जोगाउन संघीय सरकारअन्तर्गतको सिँचाइ तथा जलस्रोत मन्त्रालयले दुई चरण गरेर आयोजनाका लागि एक अर्ब रकम छुट्याएको छ ।
कान्छाराम थोदुङ क्याराभान जेभीले निर्माणको जिम्मा पाएको दोस्रो चरणको कार्यक्रममा ५७ करोड ३२ लाख ८३ हजार चार सय रुपैयाँ निकासा भएको छ । यसअघि पहिलो चरणमा ३३ करोड रुपैयाँ निकासा भएको थियो । दुवै ठेक्का डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाका हुन् । दुनै बचाउन गरिएको तटबन्धमा भेरी नदीमा डोजर प्रयोग गरी ढुंगा, बालुवा झिकिँदै आएको छ ।