तपाईं आफ्नो हिस्साको नेता बन्नुस्

शुक्रबार, २० चैत, २०७७
डिजिटल संस्करण

रामप्रति हनुमानहरूको समर्पण शंकाविहीन हुन्छ र उनीहरू रामकै कारण विश्व सुन्दर रहेको विश्वास गर्छन् । यस्ता प्रशंसाको चाङमाथि रामहरूको अज्ञानताले नयाँ उचाइ पाइरहेको हुन्छ ।

हाम्रो देशको राजनीतिक इतिहासतर्फ नजर लगाउने हो भने झन्डै हरेक दशकमा राजनीतिक परिवर्तन ल्याउन युवापुस्ता अग्रपंक्तिमा छन् । ००७ सालमा राणाशासनको अन्त्य, ०४७ मा संवैधानिक राजतन्त्रको स्थापना, ०६२/६३ मा शाहवंशको अन्त्य हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गराउन तथा १० वर्षे द्वन्द्वमा पनि सबैभन्दा धेरै युवापुस्ताको भूमिका निर्णायक रह्यो । यतिका आन्दोलनमा युवापुस्ताले देखाएको सक्रियताले नेपाल समृद्ध र बलियो हुनुपर्ने थियो, तर हेरौँ त अहिले हामी कहाँ छौँ ? विद्यमान अवस्थाबारे सोधियो भने असल, इमानदार र दूरदृष्टि भएको नेता नै पाउन सकिएन भनेर सबैले ठूलो स्वरमा एउटै राग अलाप्ने गर्छन् । त्यसैले त कतिले विगतका केही व्यक्तित्व फर्किऊन् भन्ने अपेक्षा गर्छन् वा कुनै इमानदार तानाशाहले देशको शासन चलाओस् भन्ने कामना गर्छन् । जबकि, हाम्रो संवैधानिक व्यवस्था, शासन प्रणाली र लोकतान्त्रिक अभ्यासले त्यसको अनुमति दिनेछैन । फ्रान्सेली विद्वान् कोम्टे डे माइस्ट्रेको एक प्रसिद्ध भनाइ स्मरण हुन आउँछ, जहाँ उनी भन्छन्–‘लोकतन्त्रमा जनताले त्यस्तै नेताहरू पाउँछन्, जसका लागि उनीहरू योग्य हुन्छन् ।’ 

छलफल सुरु गर्नुअघि म सबैलाई विकासमा हाम्रो योगदान के छ, हाम्रो भूमिका र जवाफदेहिता के हो भन्नेबारे एकपटक ध्यानपूर्वक सोच्न हौस्याउँछु । तपाईं–हामीमध्ये कतिले सम्भवतः जनआन्दोलन र निर्वाचनमा सहभागी भएर आफ्नो जिम्मावारी पूरा भएको सोच्यौँ होला । केहीले सरकारलाई कर तिरिरहेकै छौँ त भन्ने सोच्छन् । केहीले जुन जोगी आए पनि कानै चिरेको र नेताहरूको बोलीको कुनै मूल्य रहेनछ भनी सोचिरहेका हुन्छन् । यस्तै सोचले गर्दा हामीले आफ्ना अघिल्तिरका धेरै अवसर गुमायौँ । हामीमध्ये कतिजना छौँ, जो सडकमा हिँडिरहेका वेला टक्क रोकिन्छौँ र सडकमा फालिएका चाउचाउका खाली प्याकेट टिपेर त्यसलाई फोहोर फाल्ने भाँडामा हाल्छौँ ? थाहा भएकै कुरा हो, हामीमध्ये केहीले तत्कालै भन्नेछौँ– हाम्रा क्षेत्रमा फोहोर फाल्ने भाँडा नै छैनन् । हामीमध्ये कतिले सडकमा थुकेका छैनौँ ? कति सार्वजनिक यातायात, सिनेमा हल वा मन्दिरमा लाम लागेका छौँ ? हामीले हाम्रो सहरलाई सफा बनाउन किन भूमिका खेलेनौँ ? हामीमध्ये केहीले सोच्न सक्छन्– सडकमा फ्याँकिएका चाउचाउका खोस्टा टिप्नकै लागि भनेर कसैलाई पैसा तिरिएको छ । त्यसैले त्यो उनीहरूको काम हो । त्यसो हो भने फोहोर गर्ने र थुक्ने कामचाहिँ हाम्रो जिम्माको हो त ? वास्तवमा हामी के सोच्छौँ भने ‘म’अरूभन्दा महŒवपूर्ण छु, त्यसैले मैले अनुशासन पालन गरिराख्नु पर्दैन ।

हामी समूहगत रूपमा हाम्रो व्यक्तिगत जवाफदेहिताबारे सोच्छौँ र त्यसलाई नियमित रूपमा व्यवहारमा लागू गर्छौं भने त्यही बानी विकसित भएर आउँछ र परिवर्तनका धर्साहरू देखिन थाल्छन् । यसैको फलस्वरूप सहर सफा हुँदै गएको देख्न थालिनेछ र मानिस हिजोभन्दा आज झन्–झन् अनुशासित भएर जानेछन् । सामूहिक कार्यले मात्र यस्ता परिवर्तन निम्त्याउँछ । हामी जुनसुकै धरातलमा उभिएका किन नहोऔँ, हामीले कति समय कामसँग सम्बन्धित गतिविधिमा खर्च गर्ने गरेका छौँ ? हामीमध्ये कतिले कति समय गफगाफमा र कति समय काममा खर्चिने गरेका छौँ ? हामीमध्ये कतिले कामसँग सम्बन्धित क्षेत्रमा भएका नयाँ–नयाँ विकास र प्रयोगबारे अध्ययन गरेका छौँ । र, कतिले व्यक्तिगत उपयोगका लागि कार्यालयका स्रोत–साधनको दुरुपयोग गरेका छौँ ? वास्तवमा हामी कहिल्यै पनि यस्ता सवालमा घोत्लिन चाहँदैनौँ, किनभने यी हाम्रा लागि असहज सवाल हुन् । त्यसैले हामी आफूभन्दा माथि भएकालाई आरोप र दोष थोपरेर आफू शान्त हुन चाहन्छौँ । हामीमध्ये कतिले आ–आफ्नो क्षेत्रमा काममा इमानदार नभएका वरिष्ठहरूका विरुद्ध वा सहकर्मीविरुद्ध आवाज उठायौँ ? हरेक युवापुस्ताले आफ्नो कामप्रति लगनशीलता र उत्तरदायित्वलाई सुनिश्चित गर्नु जरुरी छ । राम्ररी काम नगर्नेविरुद्ध आवाज उठाएजसरी नै प्रत्येक क्षेत्रमा उत्तरदायित्व तथा लगनशीलताका लागि प्रेरित पनि गर्न सक्छौँ । त्यसैले अरूलाई आरोप लगाउन बन्द गरौँ र आफैँबाट कामको थालनी गरौँ । 

आलेखमा युवापुस्तालाई मात्र आरोप लगाइरहेको भान हुन सक्छ । पहिलो जनआन्दोलन अर्थात् ०४७ सालदेखि नै हामीसँग असल, इमानदार र दूरदृष्टि नेतृत्व छनोट गर्ने अवसर थिए, तर के हामीले त्यसको चयन सही ढंगले गर्यौँ ? यसको स्पष्ट जवाफ हो– गरेनौँ । आजको युवापुस्ता मूलतः तीन समूहमा विभाजित छ । पहिलो, राजनीतिक दलका कार्यकर्ता । दोस्रो, सामाजिक सञ्जालमा ‘हनुमान’ भनेर चिनिएका र तेस्रोमा राजनीतिक रूपले बढी तटस्थ युवा, जो गुनासो गर्नका लागि मात्र सक्रिय छ । राजनीतिक दलप्रति समर्पित युवाहरूले मात्र राजनीतिक दलका नेतृत्वको सिन्डिकेट तोड्न सक्छन् । तपाईं आफ्नो गुटलाई बलियो बनाई गति दिन चाहनुहुन्छ भने त्यसले हामी सबैलाई दुष्चक्रमा फसाउने निश्चित छ । यस्ता कार्यकर्ताले सोच्नुपर्छ– के उनीहरू सम्बद्ध दलका नेताले युवाले चाहेको दिइरहेका छन् ? छैन भने उनीहरूलाई छोड्नुस् र आजैदेखि परिवर्तनको आवाज उठाउनुस् । आवाज पनि उठाउन सक्नुहुन्न भने तपाईंले गर्नुपर्ने काम गरिरहनुभएको छैन ।

हनुमानहरू आर्थिक वा राजनीतिक फाइदामा आश्रित भई अन्धसमर्थक हुन्छन् । उनीहरूले नेताका अगाडि भ्रम सिर्जना गरिरहेका हुन्छन् । रामप्रति हुनमानहरूको समर्पण शंकाविहीन हुन्छ र उनीहरू रामकै कारण विश्व सुन्दर रहेको विश्वास गर्छन् । यस्ता प्रशंसाको चाङमाथि रामहरूको अज्ञानताले नयाँ उचाइ पाइरहेको हुन्छ । त्यतिखेर उनीहरू हामी अजेय हौँ भन्ने सोच्न थाल्छन् । यी युवाले यदि आफ्ना रामहरूले गरेका गलत कामबारेउनीहरूलाई नै अवगत गराउन थाले भने यो देशका लागि जतिफलदायी हुन्छ, त्योभन्दा धेरै उनीहरू स्वयंका लागि फलदायी हुन्छ ।

तेस्रो समूहका सामान्य रूपमा निर्वाचनमा परिणाम परिवर्तन गराउने खालका ‘गेम चेन्जर’ हुन्छन् । हरेक राजनीतिक दलसँग तिनका आफ्ना कार्यकर्ता तथा हनुमानहरू हुन्छन् र स्वाभाविक रूपले उनीहरूले निर्वाचनको परिणामलाई पल्टाउने क्षमता राख्छन् । निर्वाचन परिणाम पल्टाउनेहरूको समूह युवापुस्ता नै हुने गर्छ । उनीहरू आमरूपमा ती हुन्, जसले उनीहरूसँग असल नेता नभएको गुनासो गर्छन्, तर छनोट गर्ने वेला झन्भन्दा झन् पुरातन अनुहारलाई नै छनोट गर्छन् । उनीहरू तिनै हुन्, जो पुरातन सोच बोक्नेलाई नै देशको जिम्मा लगाउन चाहन्छन् । उनीहरू नागरिकले लोकतन्त्र र आधारभूत स्वतन्त्रता गुमाउँदा के हुन्छ भन्ने परिणामबारे पनि नसोची तानाशाही व्यवस्थाको विकल्प रोजिरहेका हुन्छन् । माथि वर्गीकरण गरिएका जुनसुकै वर्गीकरणमा परेका युवापुस्ताले पनि नेतृत्व गर्न अभिप्रेरित हुनैपर्छ । नेतृत्व गर्नुपर्छ भन्नुको अर्थ राजनीतिक दलको नेता बन्नैपर्ने भन्ने होइन । तपाईं पहिले आफूलाई नेतृत्व गर्ने हुनुस्, त्यसपछि घर, समुदाय, कार्यथलोको नेतृत्व गर्न सक्ने हुनुस् । तपाईं आफ्नो हिस्साको एक नेता बन्नुस् वा अर्को शब्दमा भन्ने हो भने जिम्मेवार,उत्तरदायी र इमानदार बन्नुस् ।

(डा. कँडेल चिकित्सा क्षेत्रमा आबद्ध छन्)
 

सुझावित समाचार