पृथ्वीबाट मंगलतर्फ

बुधबार, १८ चैत, २०७७
डिजिटल संस्करण

अमेरिकी अर्बपति एलन मस्कले स्पेसएक्स कम्पनीमार्फत मंगल ग्रहमा दैनिक तीन उडान भर्ने र ती प्रत्येक उडानमा एक सय पृथ्वीवासीलाई मंगल ग्रह सयर गराउने रोमाञ्चक परियोजना अघि बढाइरहेका छन् । स्टारलिंक परियोजना जति स्वप्निल छ, उत्तिकै चुनौतीपूर्ण पनि छ । हामीमध्ये कतिपयलाई असम्भव लाग्ने यस्तो परियोजनामा अर्बाैं डलर खन्याउनु उदेकलाग्दो पनि हुन सक्छ । 

मस्कको कम्पनी स्टारलिंक परियोजनाअन्तर्गत अन्तरिक्षमा ४० हजार स्याटेलाइट स्थापित गरेर इन्टरनेटको क्षेत्रमा आमूल परिवर्तन ल्याउने काममा लागिपरेको छ । उनको कम्पनीलाई १२ हजार स्याटेलाइट प्रक्षेपण गरी अन्तरिक्षमा स्थापित गर्ने अनुमति प्राप्त पनि भइसकेको छ । जसमध्ये हजार बढी स्याटेलाइट स्थापित गरिसकिएका छन् । आजको मितिमा अन्तरिक्षमा सबैभन्दा बढी स्याटेलाइट स्टारलिंक परियोजनाकै छन् ।

मस्कको कम्पनी स्पेसएक्ससँग एकैपटकमा एउटै रकेटबाट सयौँ स्याटेलाइट प्रक्षेपित गर्ने क्षमता छ । प्रत्येक महिना यस्ता दशौँ रकेट उडाउने क्षमता स्पेसएक्स कम्पनीले राख्छ । आगामी दुई–तीन वर्षमै स्टारलिंक परियोजनाका १०औँ हजार स्याटेलाइट स्थापित भइसक्ने विश्वास गर्ने पर्याप्त आधार छन् । अबका केही वर्षमा स्पेसएक्सका ४० हजार स्याटेलाइट अन्तरिक्षमा स्थापित भई प्रथ्वीको परिक्रमा गरिरहेका हुनेछन् । एक सफल उच्च प्रविधिका नवप्रवर्तक मस्कसँग सपना देख्ने र त्यसलाई साकार पार्न लगानी गर्न सक्ने दुवै योग्यता छ । यही कारण स्पेसएक्सले सन् २०५० सम्ममा १० लाख मानिसलाई मंगल ग्रहमा पुर्याउने योजनामा अर्बाैं डलर लगानी गरिरहेको छ । 

मस्कले मंगल ग्रहमा टेराफार्मिङको योजना पनि बुनिरहेका छन् । उनी मंगल ग्रहमा मानव बस्ती बसाल्ने योजनामा व्यवसाय देखिरहेका छन् । मंगल पुग्ने पहिलो होमोसेपियन्स (मानव) भएर पहिलो मार्सियन हुन चाहन्छन् । एन्डी वेरको २०११ मा लेखिएको उपन्यास ‘द मार्सियन’माथि सन् २०१५ मा राइडली स्कटले विज्ञान फिल्म ‘द मार्सियन’ बनाएका थिए । फिल्मी पर्दामा पहिलो मार्सियन हुने सौभाग्य अभिनेता म्याट डामोनले पाए । मस्क वास्तविक जीवनमै यो श्रेय पाउन चाहन्छन् ।
२०२१ को १८ फेब्रुअरीमा नासाको महत्वाकांक्षी अभियानअन्तर्गतको रोवर पर्सिवरेन्सले मंगल ग्रहको जेजेरो क्रेटरमा ल्यान्ड गरेपछि एलनको सपनालाई पखेटा लाग्नु स्वाभाविक भएको छ । मस्कको सपना बुझ्न चाहनेहरूले द मार्सियन सिनेमा हेर्दा हुन्छ । अहिले मैले तपाईंसँग एक किलो आलु र एक किलोग्राम हिरामध्ये कुन रोज्नुहुन्छ भनेँ भने तपाईंको उत्तर के होला ? द मार्सियन हेरेपछि मलाई जस्तै तपाईंलाई पनि संकोच अनुभव हुन सक्छ । 

पृथ्वीका होमोसेपियन्स अर्थात् मानिस केही वर्षमै मंगल ग्रहमा मार्सियन बन्ने समय नजिकिँदै गइरहेको छ । के हामी पनि यस्तै सपना देख्न, त्यसलाई अमल गर्न सक्ने अवस्थामा छौँ ? हामीले विश्वलाई हेर्ने दृष्टिकोण र दायरा फराकिलो बनायौँ भने हामी पनि स्वप्नदर्शी हुन सक्नेछौँ ।

हिरा, मोती, सुन, चाँदीजस्ता बहुमूल्य धातुका साथै आममानिसले जीवनभर हेर्न नपाएका अनेकौँ दुर्लभ रेडियो एक्टिभ धातु ब्रह्माण्डका अनेकौँ स्थानमा पृथ्वीभन्दा करोडौँ गुणा ठूलो परिमाणमा उपलब्ध छन् । सुनैसुनले भरिएका अनेकौँ ऐस्टेरोयड पृथ्वीकै परिक्रमा गरिरहेका छन् । कुनै ग्रह त हिरैहिराका छन् । कुनै ग्रहमा हिरा पानीझैँ आकाशबाटै खस्ने गर्छन् । विज्ञानले आकलन गरेको ९३ अर्ब प्रकाश वर्षसम्मको फैलावट भएको यो ब्रह्माण्डका दुई खर्बभन्दा बढी ग्यालेक्सीमा २ का पछाडि २२ वटा शून्य थपेर बनेको संख्यामा रहेका ताराहरूमध्येको एक तारा सूर्यको परिवारमै अनगिन्ती खगोलीय पिण्ड छन् । हामीले अलिअलि नियाल्न सकेको सौर्यमण्डलभित्रका अनगिन्ती पिण्डहरूमा आजसम्म आलु त के दुबोको एउटा त्यान्द्रोसम्म कहीँ कतै भेटिएको छैन । सौर्य परिवारको सदस्य वरुण ग्रहमा आकाशबाट पानीको सट्टा हिरा झर्छन् ।

अहिले तपाईंलाई आलुको महत्व थाहा नभए पनि आफू नेप्चुन ग्रहमा पुगेको कल्पना गरी हिरा र आलुको मूल्य थाहा पाउने प्रयास गर्नुस् । लेखमा आलुकै बिम्ब लिएको जम्माजम्मी कारण द मार्सियन फिल्मकै प्रभाव हो । फिल्मका नायकले मंगल ग्रहमा आफू बाँच्न आलुखेती गर्छन् । तपाईं आलुको सट्टा अन्य कुनै खाद्य पदार्थको कल्पना गर्न सक्नुहुन्छ । लेखाइको सारा मर्म यति मात्रै हो– हामी बसेको पृथ्वीबाहेक अन्यत्र पनि पृथ्वीमा पाइने जस्ता बहुमूल्य धातु त पाइन्छन्, तर यहाँजस्तो जीवन कतै पाइएको छैन, अहिलेसम्मका लागि । यसको तात्पर्य परग्रही एलियनहरू कतै छँदैछैनन् भन्ने पनि होइन । एउटा सामान्य घाँसको त्यान्द्रो पनि जीवनकै डोमेन हो । आँखाबाट देखिने जीवनचक्र मात्रै नभई आँखाबाट नदेखिने जीवाणु वा विषाणु पनि जीवनचक्र नै हुन् । आजसम्म पृथ्वीबाहेक अन्य कतै एउटा भाइरससम्म फेला परेको छैन ।

स्टारलिंक परियोजनाले चन्द्रमा र मंगल ग्रह दुवैलाई पृथ्वीसँग भर्चुअल्ली जोड्न चाहन्छ । चन्द्रमा पृथ्वीबाट करिब १.३ प्रकाश सेकेन्ड टाढा छ । मंगल ग्रह हामीसँग कहिले ११ प्रकाश मिनेट नजिक आउँछ र कहिले २२ प्रकाश मिनेट टाढा पुग्छ । अर्थात्, मंगल र पृथ्वीका बीच रेडियो तरंगका माध्यमले संवाद गर्ने हो भने सन्देश ओहोरदोहोर हुन ११.११ मिनेट समय लाग्छ । यसका लागि हाइली डेडिकेटेड इन्टरनेट कनेक्सन आवश्यक हुनेछ । उनीहरू अन्तरिक्षमा ४०औँ हजार उपग्रह स्थापना गरेर इन्टरनेट सञ्जाल खडा गर्न लगानी गरिरहेका छन् । जुन दिन मस्क मंगल ग्रहमा बस्न पुग्छन्, आफ्ना साथीभाइसँग त्यहाँबाट सञ्चार सम्पर्क गर्न प्रबन्ध गरिरहेका छन् । स्पेसएक्स जोडतोडले मंगल यात्राको प्रबन्ध जुटाउने योजनामा काम गरिरहेको छ । मंगल ग्रहका लागि दैनिक तीनवटा उडान सञ्चालन गर्ने योजना छ । र, यी प्रत्येक उडानमा सयजनाले यात्रा गर्न सक्नेछन् । कम्पनीको योजना प्रत्येक दिन तीन सय होमोसेपियन्सलाई मार्सियन बनाउने छ । स्पेसएक्स सन् २०५० सम्ममा दश लाख मानवलाई मंगल पुर्याउने योजनामा छ । 

स्पेसएक्सकी अध्यक्ष ज्ञान सटवेलले टाइम म्यागजिनसँगको अन्तर्वार्तामा भनेकी छन्– हाम्रो कम्पनीले पृथ्वी र मंगल ग्रहका बीच इन्टरनेट सुविधा स्थापित गर्ने दिशामा काम गरिरहेको छ । मंगलमा मानिस पुर्याउनुभन्दा पहिला पृथ्वी र मंगलका बीच संवाद हुने माध्यम हुन जरुरी छ । स्टारलिंक परियोजना यसका लागि युद्धस्तरमा काम गरिरहेको छ । स्टारलिंक कम्पनीका स्याटेलाइटले मंगल ग्रह र पृथ्वीका बीच कुनै अवरोध नभएको इन्टरनेट सेवा प्रदान गर्नेछन् । हामी अत्यन्त महत्वाकांक्षी परियोजनामा जुटेका छौँ । आगामी केही वर्षभित्रै हामी मंगलका लागि दैनिक तीन उडान सञ्चालित गर्नेछौँ । वर्षमै हजारौँलाई मंगलमा अवतरण गराउनेछौँ । सन् २०५० सम्ममा मंगल ग्रहको आवादी १० लाख पुर्याउने हाम्रो लक्ष्य छ ।

स्पेसएक्सले सन् २०२४ भित्रै मंगल ग्रहमा चारवटा कार्गाे यान पठाउने योजनामा पनि काम गरिरहेको छ । यी उडानले भविष्यमा मंगल ग्रहमा पुग्ने मानिसका लागि अत्यावश्यक वस्तु पहिले नै मंगल पुर्याउनेछन् । अफ्रिकामा उत्पत्ति भएको मानिएको होमोसेपियन्स (मानव) जीवन निर्वाह गर्ने क्रममा पृथ्वीभर फैलियो । आज अर्काे ग्रहमा आवादीको योजना बनाउने स्थितिमा पुगेको छ । पृथ्वीका होमोसेपियन्स मानिस केही वर्षमै मंगल ग्रहमा मार्सियन बन्ने समय नजिकिँदै गइरहेको छ । के हामी पनि यस्तै सपना देख्न, त्यसलाई अमल गर्न सक्ने अवस्थामा छौँ ? हामीले विश्वलाई हेर्ने दृष्टिकोण र दायरा फराकिलो बनायौँ भने हामी पनि स्वप्नदर्शी हुन सक्नेछौँ । समुन्नत जीवनको दु्रत यात्रा तय गर्न सक्ने हुनेछौँ । 

सुझावित समाचार