नेप्सेसँगै घट्यो कारोबार रकम

मंगलबार, १७ चैत, २०७७
डिजिटल संस्करण

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको छ । लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बस्दा कारोबार रकम घटेको लगानीकर्ता बताउँछन् । 

अघिल्लो दुई हप्ताको सेयर बजारमा केही सुधार देखिए पनि साताको अन्तिम बिहीबार बजार घटे पनि ६ अर्ब रुपैयाँमाथि कारोबार भएको थियो । केही हप्ता बढेको बजारमा सामान्य करेक्सन भएको विश्लेषकहरू बताउँछन् । बजार बढेपछि सामान्य करेक्सन हुनुलाई सेयर बजारमा सामान्य मान्ने गरिन्छ ।

नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर २ हजार ५ सयको बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७९ अंकले घटेर ४ सय ४९ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ समूहमध्ये हाइड्रोपावर, फाइनान्स र माइक्रो फाइनान्स समूहको सूचक १ दशमलव ०७ देखि शून्य दशमलव ९६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै ट्रेडिङ समूहको ४ दशमलव ६२ प्रतिशतले घटेको छ । त्यस्तै, दैनिकजसो बढिरहेको होटेल तथा पर्यटन समूहको सूचक पनि यस दिन ४ प्रतिशतले घटेको छ । अन्य समूहका सबै सूचक घटेका हुन् ।

धितोपत्र र ऋणपत्र गरी २ सय ९ किसिमका कम्पनीको कुल ९१ लाख ३८ हजार कित्ता–इकाइ सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ ।

निफ्राको सबैभन्दा धेरै कारोबार
सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रहेको छ । निफ्राको ४४ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो धेरै कारोबार हुनेमा अपर तामाकोसी हाइड्रोपावर रहेको छ । यसको ३८ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, तेस्रो धेरै कारोबार हुनेमा चन्द्रागिरि हिल्स रहेको छ ।

यसको सेयर मूल्यमा अघिल्लो हप्तासम्म लगातार सर्किट लाग्दै २ हजार रुपैयाँभन्दा माथि पुगेको थियो । त्यसैले, मूल्य घट्दा लगानीकर्ताले यसको सेयर किनबेच बढाएका हुन् । यसको ३७ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै बजार घट्नेमा पनि चन्द्रागिरि हिल्स नै रहेको छ । लगातार सर्किट लाग्दै बढेको यसको सेयर मूल्य एकै दिन ७ दशमलव १७ प्रतिशतले घटेको छ । 

See More On

सुझावित समाचार