प्रचण्ड भन्छन्– विश्वासको मत फिर्ता र अविश्वासको प्रस्ताव दर्ता सँगसँगै होस्

शनिबार, १४ चैत, २०७७
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने बताएका छन् । बृहत् नागरिक आन्दोलनले राजधानीमा शनिबार आयोजना गरेको नागरिकसभामा प्रचण्डले पछिको बाटो सुरक्षित होस् भनेर समर्थन फिर्ता लिन ढिलाइ भएको उनले स्पष्ट पारे ।

उनले भने, ‘प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोतान्त्रिक भनेर सडकमा जाने राजनीतिक दलहरूको बीचमा अबको निकासबारे एउटा न्यूनतम सहमति र समझदारी होस् । अविश्वासको प्रस्ताव दर्ता गर्ने र समर्थन फिर्ता सँगसँगै होस् भन्नका निम्ति मात्रै मैले दाह्रा किटेर समर्थनलाई एकदुई दिन रोकेको हो । योभन्दा बढी केही पनि होइन ।’

केही दिनभित्रै अविश्वासको प्रस्ताव फिर्ता लिने प्रक्रिया अगाडि बढाउने उनले स्पष्ट पारे । उनले भने, ‘मैले जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यसलाई म समर्थन गर्न सक्दिनँ, चाहे राजनीति जतासुकै जाओस् । मेरो राजनीति र मेरो नैतिकतालाई मैले बचाउनुपर्छ । म केही दिनभित्रै त्यो प्रक्रिया अगाडि बढाउँछु ।’

तत्काल समर्थन फिर्ता नलिन जबर्जस्ती दबाब रहेको पनि उनले बताए । ‘एउटा भनाइ के हुँदोरहेछ भने विरोधीले जे कुरालाई राम्रो भन्छ, हामीले त्यसलाई राम्रो ठान्नुहुँदैन । विरोधीले जेलाई नराम्रो भन्छ त्यसलाई हामीले सकारात्मक ढंगले हेर्नुपर्ने हुन्छ । मैले यसलाई दुई भागमा बाँडेर हेर्ने गरेको छु । हिजो असंवैधानिक भनेर सडकमा भएका साथीहरूले  मलाई हत्तनपत्त समर्थन फिर्ता नलिई है भनेर जबर्जस्त भनिरहनु भएको छ । जबर्जस्तै छ, म नामचाहिँ कसैको भन्दिनँ । हत्तनपत्त समर्थन फिर्ता लिइस् भनेर झन् उल्टो पर्छ है भन्ने छ । र, मैले भनिराखेको छु, नैतिक र राजनीतिक ढंगले म अब धेरै दिन पर्खन सक्दिनँ ।’ 
 
संसद् पुनस्र्थापनापछि आवश्यक तयारीका साथ योजनाबद्ध ढंगले अघि बढ्न चुकेको उनले स्वीकार गरे । उनले भने, ‘संसद् पुनस्र्थापना भएपछि प्रधानमन्त्रीले स्वतः राजीनामा दिनुपर्ने पस्थिति बन्छ र राजनीति सहज ढंगले अगाडि बढ्छ । सायद हामीले संसद् पुनस्र्थापना भइसकेपछि थोरै रिल्याक्स ग¥यौँ । ठूलो लडाइँ त जितिनैहालियो अब त त्यस्तो धेरै के बाँकी छ र ! सजिलै पार होला भनेर हामीले थोरै रिल्याक्स ग¥यौँ र दोस्रो योजनामा गम्भीर नभएकै हौँ । त्यहाँ गल्ती भयो । तुरुन्त यो डिजाइनमा छ, लोकतन्त्रको विरुद्ध, परिवर्तनको विरुद्ध छ भनेर एकपछि अर्को तयारी, जुन तदारुकताका साथ गर्नुपथ्र्यो त्यहाँ थोरै हामी चुकेका हौँ ।’

सुझावित समाचार