भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ । जिल्लाको दोरम्बा गाउँपालिका वडा नं–७ दोब्लास्थित खरपाखामा लागेको आगो निभाउन जाने क्रममा गएराती ७० वर्षीय प्रभुलाल श्रेष्ठको ज्यान गएको हो ।
आगो निभाउन गएका श्रेष्ठ भिरबाट करिब एक सय मिटर तल लडेका थिए । घटनापछि श्रेष्ठको स्थानीयहरूले उद्धार गरी एम्बुलेन्समार्फत काठमाडौंतर्फ लैजाने क्रममा दोरम्बा वडा नं–७ कै दोब्लामै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
मृतकको शव पोस्टमार्टमको लागि जिल्ला सदरमुकाम मन्थली ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।