इंग्ल्यान्डले भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा ६ विकेटले जित निकालेको छ । पुनेमा भएको खेलमा भारतले पहिलो ब्याटिङ गरी ५० ओभरमा ६ विकेट गुमाएर तीन सय ३६ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा इंग्ल्यान्डले ४३.३ ओभरमै चार विकेटको क्षतिमा तीन सय ३७ रन बनायो । इंग्ल्यान्डले ३९ बलअघि नै जित निकालेको हो ।
इंग्ल्यान्डको जितमा शीर्ष तीन ब्याट्सम्यानले उत्कृष्ट योगदान दिएका थिए । जोनी वेरिस्टोले शतकीय इनिङ्स खेलेका थिए । उनले ११२ बलमा १ सय २४ रनको योगदान दिए । वेन स्ट्रोक्स शतकीय इनिङ्स खेल्नबाट एक रनले चुकेका थिए । उनी ९९ रनमा भुवनेश्वर कुमारको ओभरमा आउट भए । स्टोक्सले ५२ बलमा १० छक्का र चार चौका प्रहार गरे ।
जोनीले आफनो शतकीय इनिङ्समा ११ चौका र सात छक्का हिर्काए । ओपनर जासन रोयले ५२ बलमा ५५ रनको योगदान दिए । ओपनर जासन र जोनीबीच १६.३ ओभरमा १ सय १० रनको साझेदारी भएको थियो । त्यसपछि जोनी र स्टोक्सबीच दोस्रो विकेटका लागि १ सय ७५ रनको बलियो साझेदारी भएको थियो ।
भारतको ब्याटिङ्समा लोकेश राहुलले १ सय ८ रनको योगदान दिए । उनले १ सय १४ बलमा सात चौका र दुई छक्का प्रहार गरे । यसैगरी ऋषभ पन्तले ४० बलमा सात छक्का र तीन चौकाको सहयोगमा ७७ रन तथा हार्दिक पाण्ड्याले १६ बलमा चार छक्का र एक चौका प्रहार गरी ३५ रन बटुले । कप्तान विराट कोहलीले ६६ रन तथा रोहित शर्माले २५ रन बनाए ।