४१ अंकले बढ्यो नेप्से

कारोबार रकम सुधार भएर ६ अर्ब ६७ करोड पुग्यो

बिहिबार, १२ चैत, २०७७
डिजिटल संस्करण

बुधबार नेप्से परिसूचक ४१ दशमलव ३६ अंकले बढेर २ हजार ५ सय ७० बिन्दुमा पुगेको छ । यस दिन लगानीकर्ताहरू सक्रिय हुँदा कारोबार रकममा पनि सुधार आएको छ ।  कारोबारमा आएको १३ समूह र उपसमूहमध्ये १२ समूहको सूचक बढेको छ । हाइड्रोपावर समूहको सूचक भने यस दिन घटेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको सूचक ५ दशमलव ४४ प्रतिशतले बढेको छ । दोस्रो समूहको सूचक बढ्नेमा लगानीगत समूह रहेका छन् ।

लगानीगत समूह ५ प्रतिशतसम्म बढेको छ । अन्य समूहको सूचक भने २ दशमलव ६९ प्रतिशतसम्मले बढेका छन् भने उपसमूह पनि १ दशमलव ९ अंकले बढेको छ । यस दिन धितोपत्र र ऋणपत्र गरी कुल २ सय ८ किसिमका कम्पनीको १ करोड ६९ लाख कित्ता किनबेच हुँदा ६ अर्ब ६७ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रहेको छ । सो दिन बैंकको ६५ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, दोस्रो कारोबार हुनेमा अपर तामाकोसी हाइड्रोपावरको ४१ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । 

 साल्ट ट्रेडिङको मूल्यमा सर्किट
साल्ट ट्रेडिङ कर्पोरेसनमा सर्किट लागेर बुधबारको कारोबार बन्द भएको छ । लगातार २ दिनदेखि १० प्रतिशतले सर्किट लागेको हो । त्यसैगरी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेपलभमेन्टको ९ दशमलव ९६ प्रतिशत मूल्य बढेर कारोबार भएको छ । त्यस्तै, चन्द्रागिरी हिल्स ९ दशमलव ९५ प्रतिशतले बढेको छ । आरएसडिसी लघुवित्त संस्थाको पनि ९ दशमलव ९४ प्रतिशत र माउन्टेन हाइड्रो ९ दशमलव ९२ प्रतिशतले बढेको छ । अन्य कम्पनी ८ दशमलव २० प्रतिशतदेखि १ प्रतिशतसम्मले बढेका छन् । 

यस दिन हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा धेरै घटेको छ । रैराङ हाइड्रोपावर ३ दशमलव ६० प्रतिशतले घटेको छ । त्यस्तै, अपर तामाकोसी हाइड्रोपावरको पनि यस दिन ३ दशमलव २६ प्रतिशतले घटेको छ । त्यस्तै, सान्जेन जलविद्युत् कम्मनीको ३ प्रतिशतले घटेको छ । खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर कम्पनीले २ प्रतिशतसम्म घाटा व्यहोरेका छन् । 

See More On

सुझावित समाचार