नेसनल प्याब्सनका सदस्य विद्यालयमा जगेडा कोष बनाउन निर्देशन

बुधबार, ११ चैत, २०७७
डिजिटल संस्करण

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेसनल प्याब्सन)ले आफ्ना सदस्य विद्यालयहरूलाई असहज अवस्थाको व्यवस्थापन गर्न जगेडा कोष खडा गर्न निर्देशन दिएको छ । नेसनल प्याब्सनको केन्द्रीय समितिको १२औँ बैठकले आकस्मिक  र भैपरी आउने असहज अवस्थाको व्यवस्थापन गर्न मासिक आएको ०.५ प्रतिशत रकम जम्मा गरी जगेडा कोष बनाउन निर्देशन दिएको हो । 

बैठकका निर्णय सार्वजनिक गर्न नेसनल प्याब्सनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ऋतुराज सापकोटाले विगतमा असहज परिस्थिति आउनेबित्तिकै विद्यालयमा तलब खुवाउनलगायतका समस्या आउने गरेकोले जगेडा कोषको व्यवस्थापनका लागि निर्देशन दिएको बताए ।

विगतका विपत् तथा एक वर्षअघि कोरोना भाइरसका कारण विद्यालय बन्द हुँदा एक–दुई महिना पनि तलब खुवाउन रकम नभएको र विद्यालय सञ्चालनमै समस्या पाइएपछि जगेडा कोष बनाउन आवश्यक देखिएको उनले बताए । कोभिडका कारण निजी विद्यालय अहिले पनि समस्यामा छन् । कोभिडका कारण निजी विद्यालयमा १०–२० प्रतिशत विद्यार्थी घटेको अध्यक्ष सापकोटाले बताए । सहरी क्षेत्रमा बढी समस्या रहेको उनले बताए । 

नेसनल प्याब्सनको बैठकले विश्वव्यापी कोरोना कहरबाट सिर्जित असहज परिस्थिति र निजी विद्यालयहरूमा पछिल्लो समयमा देखिएका विभिन्न समस्याहरूको छलफल गरी सिकाइका गतिविधिलाई विभिन्न माध्यमबाट अझ प्रभावकारी ढङ्गले व्यवस्थापन गर्नका लागि आवश्यकताअनुसार सहजीकरण गर्ने निर्णय भएको छ । 

नेसनल प्याब्सनले सातौँ महाधिवेशनको समयसमेत निर्णय गरेको छ । आगामी ११ देखि १३ कात्तिकसम्म सातौँ राष्ट्रिय महाधिवेशन गर्ने नेसनल प्याब्सन केन्द्रीय समितिले निर्णय गरेको छ । वर्तमान र पूर्वपदाधिकारीको स्मृतिमा सम्बन्धित प्रदेश र जिल्लामा कोष बनाउनेसमेत निर्णय गरेको छ ।

सुझावित समाचार