संक्रामक रोगको उपचारका लागि सुविधानसम्पन्न संरचना आवश्यक : संसदीय उपसमिति

बुधबार, ११ चैत, २०७७
डिजिटल संस्करण

संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले संक्रामक महामारी भविष्यमा पनि आउन सक्ने भन्दै उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा पर्याप्त सुविधासहितको संरचना तयार गर्नुपर्ने सुझाब दिएको छ । जीवनराम श्रेष्ठको संयोजकत्वमा रहेको उपसमितिले बुधबार सुझाबसहितको प्रतिवेदन मुल समितिलाई बुझाएको हो ।

शिक्षा समितिले गत भदौमा कोभिड रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले ७ सदस्यीय उपसमिति गठन गरेको थियो ।

प्रत्येक अस्पतालमा संक्रामक रोगसम्बन्धी निश्चित शय्याको युनिट व्यवस्था गर्नुपर्ने पनि उपसमितिको सुझाब रहेको छ । प्रतिवेदनमा भनिएको छ, ‘प्रादेशिक अस्पतालमा सबै रोगहरूको उपचार हुने गरी सेवा सुबवधा प्रदान गर्न क्षमता अभिवृद्धि गर्नुपर्ने हुन्छ ।’

कारगारहरूलाई मानवीय वातावरणसहितको बस्ने स्थिति निर्माण गरी संक्रामक रोगहरू तथा अन्य स्वास्थ्य समस्याका उपचार तथा व्यवस्थापनका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने पनि उपसमितिको सुझाब रहेको छ ।
 

सुझावित समाचार