काठमाडौंको दिगु तलेजु मन्दिरमा पुरुषोत्तम राजोपाध्याय मूल पुजारी नियुक्त भएका छन् । दिगु तलेजुका सहायक पुजारी नारायणमान जोशीले राजोपाध्यायलाई मन्दिरमा स्वागत गरेका छन् । सहायक पुजारी मदनराज जोशीको संयोजकत्वमा मूल पुजारी भित्र्याइएको हो । गत १९ कात्तिकमा दिगु तलेजुका मूल पुजारी नारायणराज राजोपाध्यायको निधनपछि सो पद रिक्त थियो ।
मन्दिरको पूजा दीक्षाप्राप्त राजोपाध्यायले नै सम्पन्न गर्नुपर्ने भएकाले नारायणराज राजोपाध्यायको निधनपछि सो पद रिक्त रहेको सहायक पुजारी मदनराजले बताए । मूल पुजारी नहुँदा सहायक पुजारी जोशीहरूबाट नित्य पूजा हुँदै आएको थियो । ‘दीक्षाप्राप्त मूल पुजारी नभएको अवस्थामा समस्या भइरहेको थियो, आफ्नो पुर्खाले धानेको परम्परालाई निरन्तरता दिन आफूले योगदान दिन पाउँदा खुसी लागेको छ,’ नवनियुक्त मूल पूजारी राजोपाध्यायले भने ।
दिगुतलेजुलाई मल्ल राजाहरूकी कुलदेवीको रूपमा लिइन्छ । विगतमा नित्य पूजामा राजाहरू स्वयं उपस्थित हुने गरेको बताइन्छ । प्रताप मल्लको स्तम्भको ठीक अगाडि श्वेतभैरवको मन्दिरसँगै दिगुतलेजुको प्यागोडा शैलीको ६२ हात उचाइको कलात्मक मन्दिर छ । भाषावंशावलीअनुसार यो मन्दिर शिवसिंह मल्लले बनाएका थिए । १७२७ सालमा प्रताप मल्लले मन्दिरमा सुनको छाना र गजुर हाली मन्दिर जीर्णोद्धार गरेका थिए । कुलदेवता वा देवीलाई अलग्गै कोठामा राख्ने प्रचलन छ ।