ओली प्रधानमन्त्री रहेसम्म संसद्माथि तिरस्कार र अपमान रहिरहने दाबी
संसद् पुनर्स्थापनापछि पहिलोपटक राखिएको शून्य समयमा सांसदहरूले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदममाथि कटाक्ष गरेका छन् । मंगलबारको बैठकमा सांसदहरूले केपी ओली प्रधानमन्त्री रहेसम्म संसद्माथि तिरस्कार र अपमान रहिरहनेसमेत ठोकुवा गरे ।
बैठकमा कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्रीले संसद्प्रति गरेको तिरस्कार र अपमानको यथोचित समयमा हिसाबकिताब हुने बताए । ओली सरकार रहेसम्म संसद्प्रतिको तिरस्कार र अपमान बढ्दै जाने उनको भनाइ थियो । थापाको भनाइ छ, ‘हामी स्पष्ट छौँ, जति दिन यो सरकार रहन्छ, संसद्को तिरस्कार, अपमान र उपेक्षा गर्ने काम अझै बढ्दै जान्छ । किनकि प्रधानमन्त्रीलाई यो संसद्सँग बदला लिनु छ ।’
संसद्लाई बिजनेसविहीन बनाउन खोज्ने प्रधानमन्त्रीको भूमिकाप्रति पनि थापाको आपत्ति थियो । ‘कहिले प्रश्न छल्न हठात बैठक स्थगित, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद् भंग । अनि अहिले प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नका लागि संसद्लाई कामविहीन बनाउने प्रपञ्च,’ उनले भने, ‘यो विधेयक अधिवेशन हो । हामी काम गर्न तयार छौँ । एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने, तर संसद्लाई एउटा विधेयक पनि नदिने । अनि विधेयकलाई कानुन बनाउनका लागि चाहिने राष्ट्रिय सभाको बैठक पनि नबोलाउने ।’
एमाले सांसद खगराज अधिकारीले विपक्षी दलहरूलाई नैतिकताको पाठ सम्झाए । उनको भनाइ थियो, ‘नैतिकता त गजबको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, अविश्वासको प्रस्ताव फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?
ठाउँठाउँमा गएर नेकपाको मलामी जाने कोही भएनन् भन्ने, तर एमालेदेखि सातो जाने । चुनावमा जान खुट्टा कमाउने, तर लोकतन्त्रको दुन्दुभी बजाउने । नैतिकता कता गयो, कसले खोज्ने ?’ अधिकारीले भने ।
सांसद चाँदतारा कुमारीले अधिकारीतर्फ लक्षित गर्दै नैतिकताको पाठ नसिकाउन भनिन् । ‘असंवैधानिक संसद् विघटनको विरोध गर्छु । र, त्यो अति निन्दनीय थियो । यही पुनस्र्थापित संसद्मा आएर नैतिकताको पाठ पढाउनु झनै निन्दनीय छ,’ उनको भनाइ थियो ।
बैठकको सुरुमै सभामुखसँग समय मागेर दिलेन्द्र बडूले दार्चुलाको महाकाली नगरपालिकामा भारतले एकतर्फी रूपमा बनाएको बाँधको विरोध गरे । गृह मन्त्रालयमा यसबारे पटक–पटक ताकेता गरिए पनि सरकार मौन रहेको उनको आरोप थियो । उनले भने, ‘अहिले ३५ हेक्टर जमिन पारिपट्टिको बगर बनेको छ । त्यो बगरसमेत आफ्नो हिस्सामा मिलाउने गरी तटबन्धन बनाउन थालिएको छ ।’ शून्य समयमा विशेषगरी हत्या, अपहरण, बलात्कार, कोभिडलगायतका विषयलाई पनि सांसदले प्राथमिकताका साथ उठाएका थिए ।