पर्यटकीय केन्द्र ठमेलको काठमाडौं गेस्टहाउसनजिकैको चोकमा कोभिड सुरु नहुँदासम्म हट ब्रेड्स नामक रेस्टुरेन्ट राम्रै चलिरहेको थियो । विश्वभरि फैलिएको कोभिडले पर्यटक आउन छाडेपछि ठमेलको व्यवसाय धर्मराउन थाल्यो । कोभिडकै कारण धेरै व्यवसायी ठमेल छाडेर निस्किए । हट ब्रेड्स पनि यो महामारीमा टिक्न सकेन र बन्द भयो । हट ब्रेड्स बन्द भएपछि सोही ठाउँ किनेर चर्चित रेस्टुराँ त्रिसाराले आउटलेट खोल्ने तयारी सुरु गरेको छ ।
त्रिसाराले ग्राउन्ड फ्लोरमा आफ्नै बेकिङ फ्याक्ट्रीको आउटलेट खोलिसकेको छ भने माथिल्लो तलामा रेस्टुरेन्ट सञ्चालन गर्न डेकोरेसन हुँदै छ । कोभिडले व्यापार–व्यवसाय चौपट भएर त्यहाँका व्यवसायीहरू व्यवसाय बन्द गरेर बाहिरिइरहेका वेलामा त्रिसाराको टिमले यही वेला ठमेल प्रवेश गर्ने उपयुक्त समय ठहर्याएको छ, नत्र ठमेलकै मुटुमा यति राम्रो ठाउँ कहाँ सजिलै पाउनु र !
साढे तीन महिनाअघि ठमेलमा बेकरीको आउटलेट सञ्चालनमा ल्याएको त्रिसाराका सञ्चालक शोभनवीर मालाकार बताउँछन् । ‘न्यू इयर इभ’ अर्थात् ३१ चैतमा रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याउन लागेको बताउँदा उनमा बलियो दृढता देखिन्छ । त्यसअघि २७ मार्चमा नयाँ बानेश्वरमा त्रिसाराको नयाँ आउटलेट सञ्चालनमा आउँदै छ । नयाँ बानेश्वरबाट पुरानो बानेश्वरतिर जाने बाटोमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पानीट्यांकीनजिकै चोकमा आउटलेट सिँगार्ने काम तीव्र रूपमा भइरहेको छ ।
स्कुल पढ्दाका तीन साथीहरू शोभनवीर मालाकार, रौनकशमशेर राणा र अरुण श्रेष्ठले सन् २०११ मा लाजिम्पाटमा त्रिसारा रेस्टुरेन्ट खोलेका हुन् । त्रिसाराले दरबारमार्ग र पोखरामा पनि आउटलेट सञ्चालनमा ल्याइसकेको छ । उनीहरू कोभिड महामारीकै बीचमा बानेश्वर र ठमेलमा नयाँ आउटलेट खोल्न तम्सिएका हुन् । आउटलेट विस्तारको गृहकार्य पहिल्यै सुरु भए पनि कोभिडले रोकिएको थियो । त्यो कहर बिर्सिएर जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्किन थालेपछि त्रिसाराले नयाँ आउटलेटको काम अगाडि बढाएको हो । स्थापनाको झन्डै एक दशक पुग्नै लाग्दा त्रिसारा आक्रामक ढंगले आउटलेट विस्तार गर्दै छ, तीनवटा फरक–फरक ब्रान्डमा । त्रिसारा हेभेन अफ गार्डेन, त्रिसारा बेकिङ फ्याक्ट्री र पेरोस पिज्जा ब्रान्डबाट ठाउँ–ठाउँमा आउटलेट विस्तारको काम भइरहेको मालाकार बताउँछन् ।
पेरोस पिज्जा बाई त्रिसारा
त्रिसाराले नयाँ बानेश्वर र ठमेलमा अलग्गै ब्रान्ड पेरोस पिज्जा नामबाट रेस्टुरेन्ट सञ्चालन गर्न लागेको हो । तर, सञ्चालन त्रिसारा टिमले नै गर्नेछ । लाइभ म्युजिकमार्फत ग्राहक तान्दै आइरहेको त्रिसाराले बानेश्वर र ठमेलमा लाइभ म्युजिक बजाउनेछैन । उनी भन्छन्, ‘यो डिफ्रेन्ट ब्रान्ड भयो, यहाँ लाइभ म्युजिक बज्दैन, यो रेस्टुरेन्ट फुड ओरिन्टेड हुनेछ ।’ उपभोक्ताले लाजिम्पाट, दरबारमार्ग र पोखराका आउटलेटको तुलनामा पेरोस पिज्जामा सेवा–सुविधा, मूल्यमा फरकपन अनुभव प्राप्त गर्नेछन् ।
मालाकार थप्छन्, ‘त्रिसारा अलिक एक्सक्लुसिभ ब्रान्ड हो । यसको आफ्नै भ्यालु भएको हुनाले ब्रान्ड बिग्रिने गरी आउटलेट विस्तार गर्दैनौँ ।’ काठमाडौं र पोखरामा प्रिमियम रेस्टुरेन्ट चलाइरहेका तीन युवाहरूले पेरोस पिज्जा ब्रान्डमा बजेट फ्रेन्ड्ली रेस्टुरेन्ट खोल्न लागेका हुन् । ‘पेरोसको मुख्य परिकार पिज्जा हुनेछ, अरू फरक स्वादका खानाहरू पनि हुनेछन्,’ उनले भने, ‘हामीले पेरोस पिज्जामा खाना पनि रिभ्यु गर्न लागिरहेका छौँ । दरबारमार्ग र लाजिम्पाटमा भन्दा ठमेल र बानेश्वरको आउटलेटमा खानाको मूल्य ‘रिजनेबल’ हुनेछ ।
त्रिसारा र पेरोस पिज्जाको थिम पनि फरक हुनेछ । ‘त्रिसारामा साथीभाइ योजना बनाएर रमाइलो गर्न आउनुहुन्छ, त्रिसारा जाने भन्नेबित्तिकै खानाका परिकारसँगै लाइभ म्युजिकमा रमाउन पनि हो,’ मालाकार भन्छन्, ‘तर, पेरोस पिज्जामा जान योजना बनाइरहनुपर्दैन, भोक लाग्यो भने आएर खाइहाल्ने रेस्टुरेन्ट हो, खानाका परिकारमा फोकस्ड हुने भएकाले अफर्डेबल प्राइस हुनेछ ।’ विगत १० वर्षमा त्रिसाराले फुड्समा जति अनुभव हासिल ग¥यो, त्यो अनुभवलाई सबै उपभोक्तामाझ बाँड्न छुट्टै ब्रान्ड पेरोस पिज्जा जन्माएको बताउँछन् उनी ।
त्रिसारा प्रिमियम ब्रान्ड हुनाले जथाभावी ब्रान्च खोल्दा र फ्रेन्चाइज मोडलमा जाँदा ब्रान्ड बिग्रिने सम्भावना रहन्छ । उपत्यकाबाहिरका सहरमा फ्रेन्चाइज मोडलमा जान पनि पेरोस पिज्जा उपयुक्त ब्रान्ड हुने उनको भनाइ छ ।
पेरोस पिज्जाको पहिलो आउटलेट बानेश्वरमा १ सय ६० जनाको सिट क्षमताको रेस्टुराँ हुनेछ, जसलाई तयार पार्न करिब ९० लाख रुपैयाँ खर्च भएको मालाकार बताउँछन् । ठमेलको आउटलेट अलिक सानो हुनेछ । यो आउटलेट एक सय सिट क्षमताको हुने र लगानी ७०–८० लाख रुपैयाँ पुग्ने उनको अनुमान छ । ठमेलमा तलपट्टि बेकरी र माथि रेस्टुरेन्ट हुनेछ ।
बानेश्वर र ठमेलपछि भक्तपुर, पाटन, बौद्ध, भैँसेपाटीलगायत कोर एरियामा पेरोस पिज्जाको आउटलेट विस्तार गर्ने त्रिसाराको योजना छ । उनी थप्छन्, ‘हामीले आगामी दुई वर्षभित्र पेरोस पिज्जाका १० वटा आउटलेट विस्तार गरिसकेका हुनेछौँ ।’
एक वर्षपछि कुमारीपाटीमा
उनीहरूले ललितपुरको कुमारीपाटीमा एक वर्षपछि मुख्य ब्रान्ड त्रिसारा गार्डेन अफ हेभेनकै नयाँ आउटलेट खोल्ने योजना बनाएका छन् । त्रिसारा ब्रान्डमै लाजिम्पाट, दरबारमार्ग र पोखरापछि कुमारीपाटीको चौथो आउटलेट हुने मालाकारले बताए । कुमारीपाटीमा करिब ४ सय सिट क्षमताको रेस्टुरेन्ट सञ्चालनमा आउनेछ, जहाँ लाइभ म्युजिक पनि बज्नेछ । कुमारीपाटीपछि बौद्ध र भैँसेपाटीमा पनि त्रिसाराका आउटलेट खोल्ने उनीहरूको योजना छ । ‘अहिले काठमाडौंमा त्रिसारा ब्रान्डमा दुईवटा आउटलेट छन्, कुमारीपाटी, बौद्ध, भैँसेपाटीमा पनि त्रिसारा खोल्ने योजना छ,’ उनी भन्छन्, ‘हामी भ्यालीभित्र त्रिसाराका बढीमा ६ वटासम्म आउटलेट खोल्नेछौँ, त्रिसाराको ब्रान्ड भ्यालु कायम राखेर फैलिने हो ।’
बेकरीका १२ आउटलेट पुर्याउँदै
त्रिसाराको दोस्रो ब्रान्ड त्रिसारा बेकिङ फ्याक्ट्री हो । ‘बेकरी उत्पादन र बिक्रीका लागि छुट्टै कम्पनी स्थापित गरेका हौँ,’ सञ्चालक शोभनवीर मालाकार भन्छन्, ‘हामी बेकरीमा लागेको दुई वर्ष भइसक्यो, बेकरीकै चारवटा आउटलेट खुलिसकेका छन् ।’ बेकरीको लाजिम्पाट, गोल्फुटार, ठमेल र दरबारमार्ग आउटलेट सञ्चालनमा छन् । उनीहरू बेकरीका आउटलेट ठाउँ–ठाउँमा खोल्ने योजनामा छन् । मालाकार थप्छन्, ‘बेकरीका कम्तीमा १२ वटाजति आउटलेट हामी आफैँ खोल्छौँ, त्यसपछि फ्रेन्चाइज मोडलमा पनि जान सकिन्छ ।’