१३औँ दक्षिण एसियाली खेलकुद सागमा फुटबलबाट स्वर्ण पदक दिलाएका कप्तान सुजल श्रेष्ठसहित आठ खेलाडी नेपाल सुपर लिगमा सर्वाधिक मूल्यमा बिक्री भएका छन् । शुक्रबार भएको अक्सनमा सुजलसहित तेज तामाङ, सुनिल वल, दीप कार्की, दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट र विशाल सुनुवार सर्वाधिक महँगो मूल्यमा विभिन्न क्लबमा अनुबन्ध भएका हुन् ।
मिडफिल्डर सुजल र गोलकिपर दीप पोखरा थन्डर्समा अनुबन्धित हुँदा डिफेन्डर विकास खवास र गोलकिपर विशाल एफसी चितवनमा, तेज काठमाडौं रेजर्समा अनुबन्धित भएका हुन् । यस्तै, डिफेन्डर दिनेश धनगढी एफसी र मिडफिल्डर एरिक विष्ट ललितपुर सिटीले महँगो मूल्यमा भित्र्याएको हो । ए श्रेणीमा रहेका उनीहरूलाई क्लबले दुई लाखमा अनुबन्ध गरेको हो ।
यस्तै, ए श्रेणीमा रहेका राष्ट्रिय टोलीका मिडफिल्ड रविशंकर पासवानसहित विराज महर्जन, जर्ज प्रिन्स कार्की, छिरिङ गुरुङ, हेमन्त थापामगर, सुवास गुरुङ, दिलेन लोक्तानलाई कुनै पनि टोलीले लिएनन् । नेपाल इभेन्ट्स प्रालिको आयोजना हुन लागेको नेपाल सुपर लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अक्सनका लागि एक सय ४९ जना खेलाडीलाई विभिन्न श्रेणीमा वर्गीकरण गरेको थियो । जसमा ‘ए’मा २८, ‘बी’मा ६३ र ‘सी’मा ५८ खेलाडी रहेका थिए ।
नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगितामा विभिन्न सात सहरका टोलीले सहभागिता जनाउँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग वैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदै छ ।