विभिन्न १० समूहभित्र स्थापित रमेश कर्पोरेसनले व्यवसायी स्वर्गीय रमेश गुप्ताको विरासतलाई आत्मसात् र सम्मान गर्न रमेश कर्पोरेसन नामक संस्थाले नयाँ सुरुवातको प्रारम्भ गरेको छ । विभिन्न १० समूहअन्तर्गतका १४ कम्पनी मिलेर स्थापित रमेश कर्पोरेसन व्यावसायिक समूहहरूको एक संगठन हो ।
ब्रान्डले आफ्नो नयाँ यात्राको प्रारम्भ स्वर्गीय गुप्ताले देखेको उज्ज्वल भविष्य एवं दृष्टिलाई प्रतिबिम्बित गर्न नयाँ ब्रान्ड, पहिचान एवं नवीन ट्यागलाइनका साथ प्रारम्भ गरिएको संस्थाले जनाएको छ । रमेश कर्पोरेसनअन्तर्गतको एउटै छातामा विभिन्न क्षेत्रसँग सम्बन्धित कम्पनीहरू समाविष्ट भएको जनाइएको छ । कर्पोरेसनको नयाँ ट्यागलाइन ‘फर्वार्ड टुगेदर’ले स्वर्गीय गुप्ताले देखेको भविष्य एवं आदर्शलाई आत्मसात्समेत गरेको जनाइएको छ ।
यसले सम्पूर्ण ग्राहक, कर्मचारी, लगानीकर्ता तथा इकोसिस्टम पार्टनरहरूका लागि सामूहिक प्रतिबद्धता र दर्शनलाई प्रतिनिधित्व गर्ने संस्थाको दाबी छ । ब्रान्डको नयाँ लोगोले एकजुटको भावना तथा सामूहिक रूपमा कार्य गरेमा अगाडि बढ्न सकिने शक्ति प्राप्त हुन्छ भन्ने कुरालाई मूर्त रूप दिएको संस्थाको दाबी छ ।
कर्पोरेसनका अध्यक्ष सुशील गुप्ताले भने, ‘हाम्रो यो नयाँ सुरुवातले ब्रान्डको विकासको महत्वपूर्ण चरणलाई प्रतिनिधित्वसमेत गरेको छ । हामीले हामी को हौँ भन्ने कुरालाई हाम्रा बुबाको दर्शन एवं सिद्धान्तहरूलाई आत्मसात् गर्दै उहाँको दृष्टिलाई आधार मानेर भविष्यलाई आकार दिइरहेका छौँ ।’
उपाध्यक्ष रोहित गुप्ताले दीर्घकालीन मूल्यको सिर्जना गर्न सबै साझेदारहरूका साथ अगाडि बढिरहेको बताए । ५ दशकअगाडि हार्डवेयर व्यवसायबाट प्रारम्भ भएको रमेश कर्पोरेसन आज जीवनका अधिकांश पक्षहरूलाई समेट्दै आएको जनाइएको छ । प्रारम्भदेखि आयात र ट्रेडिङ व्यवसाय, दूरसञ्चार र सूचना प्रविधिमा विविध पक्षहरूमार्फत आफ्नो उपस्थिति रहँदै आएको कर्पोरेसनले हालसम्म उत्पादन, वित्तीय सेवा, रियल इस्टेट, कन्जुमर ड्युरेबल्स, हाइड्रोपावर, माइनिङजस्ता कम्पनीहरूलाई आफ्नो संगठनअन्तर्गत समाविष्ट गर्दै आएको जनाइएको छ ।
कर्पोरेसनमा आबद्ध कम्पनी
- टेलिटक प्रालि
- टेलिडाइरेक्ट प्रालि
- टेलिनेट प्रालि
- टिडिओ नेपाल प्रालि
- युनिभर्सल इलेक्ट्रोकम प्रालि
- युनिभर्सल ट्रेड सेन्टर प्रालि
- लुम्बिनी विद्युत् उद्योग प्रालि
- सस्तोडिल प्रालि
- मिजु कन्स्ट्रक्सन प्रालि
- बलेफी हाइड्रोपावर प्रालि
- डोल्सिन मिनरल्स प्रालि
- मोडर्न इन्फ्रास्ट्रक्चर प्रालि
- द रियाल्टर्स प्रालि
- टेलिहोल्डिङ प्रालि