महिलाका सुरक्षित स्थान खुम्चिरहेका छन्, यस्तो अवस्थामा प्रहरी निगरानी बढाएर मात्र समस्या समाधान हुने छैन
मार्च ३ मा ३३ वर्षीया ब्रिटिस महिला साराह एभेरार्ड लन्डनबाट बेपत्ता भइन् । एक हप्तापछि उनको लास केन्टस्थित वुडल्यान्डमा भेटियो । अहिले एक प्रहरी अधिकारीमाथि साराहको अपहरण गरेर हत्या गरेको मुद्दा लागेको छ । यो दुःखद समाचार बाहिरिँदा विश्व र बेलायतले अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै थियो । साथै विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई विश्वव्यापी माहामारी घोषणा गरेको वर्षगाँठ पनि यसै अवधिमा परेको थियो । अघिल्लो वर्ष महामारीको अवधिमा महिलाविरुद्धको हिंसा उलेख्य वृद्धि भएको थियो ।
एभेरार्डको तस्बिर र उनको समाचार ब्रिटिस प्रेसमा पहिलो पृष्ठमै छापिए । घटनाबारे जति नयाँ तथ्य बाहिरिँदै छन्, ती आक्रोश बढाउने खालका मात्र देखिन्छन् । सामाजिक सञ्जालमा आएर धेरै महिला आफूले विगतमा भोगेका यौन दुर्व्यवहार र रातमा एक्लै हिँड्नुपर्दाका डरबारे लेखिरहेका छन् । आमसर्वसाधारण मात्र होइन, राजनीतिक दलका महिला नेतृहरूले पनि यौनशोषण तथा डरसम्बन्धी आफ्ना अनुभव व्यक्त गरिरहेका छन् ।
एभेरार्डको हत्यालाई ब्रिटिस मिडियाले अत्यधिक स्पेस दिए । सम्भवतः उनी श्वेत समुदायकी भएकी र मध्यमवर्गकी आकर्षक महिला भएकीले यति ठूलो स्थान दिइएको हुन सक्छ । अन्यथा महिलाविरुद्ध हुने अधिकांश यौन दुर्व्यवहार तथा हिंसाबारे सर्वसाधारणले सुन्नै पाउँदैनन् । युएन वुमेन युकेको एक पछिल्लो सर्वेक्षणमा १८–२४ वर्ष उमेर समूहका ९७ प्रतिशत महिलाले आफूले यौन दुर्व्यवहार भोगेको बताएका छन् । सम्पूर्ण उमेर समूहका महिलामा झन्डै ८० प्रतिशतले सार्वजनिक स्थानमा यौन दुर्व्यवहार भोगेको बताएका छन् ।
हत्याको तथ्यांक उत्तिकै भयानक छ । बेलायतमा एक दिन बिराएर महिलाको हत्या हुन्छ । अधिकांश हत्याराहरू पीडितकै प्रेमी या उनले चिनेजानेका मानिस हुन्छन् । महामारीको समयमा घरेलु हिंसाको स्थिति थप विकराल बन्यो । बेलायतमा लकडाउन लागू भएपछिको पहिलो महिनामा घरेलु हिंसासँग सम्बन्धित हत्या अघिल्लो वर्षको सोही समयको भन्दा तेब्बर बढी देखिएको थियो ।
युएन वुमेन–युकेको एउटा पछिल्लो सर्वेक्षणमा १८–२४ वर्ष उमेर समूहका ९७ प्रतिशत महिलाले आफूले यौन दुव्र्यवहार भोगेको बताएका छन् । सम्पूर्ण उमेर समूहमा झन्डै ८० प्रतिशत महिलाले सार्वजनिक स्थानमा यौन दुर्व्यवहार भोगेको अनुभव गरेका छन् ।
लैंगिक हिंसासम्बन्धी विश्वका अन्यत्र भागको तथ्यांकमा पनि उस्तै नाटकीय वृद्धि देखिन्छ । संयुक्त राष्ट्रसंघको रिपोर्टले विश्वव्यापी रूपमा भएको घरेलु हिंसाको वृद्धिलाई अर्को प्रकारको महामारी अर्थात् छाया महामारीको रूपमा बुझ्नुपर्ने भनेको छ । अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालेको सय वर्षभन्दा बढी भइसक्दा पनि हामीहरू लैंगिक हिंसा अन्त्य गर्ने बिन्दुबाट धेरै टाढा छौँ ।
एभेरार्डको हत्या र त्यसप्रतिको आमप्रतिक्रियालाई महिलाहरूको खुम्चिँदो सुरक्षित स्थानको सन्दर्भमा हेर्नुपर्छ । सार्वजनिक स्थल महिलाका लागि खतरनाक बन्दै गएको छ । हुन त पीडकनजिकका पुरुषबाट हुने आक्रमणको तुलनामा सार्वजनिक स्थानमा हुने आक्रमण निकै थोरै हुने गर्छ । तर, एभरार्डको जस्तो घटनाले मनोवैज्ञानिक असर पार्छ । प्रहरीबाट नै आक्रमण हुन थाल्दाको स्थितिमा हरेक महिला असुरक्षित महसुस गर्न थाल्छन् ।
महिला हिंसा दुरुत्साहित गर्न महिलाहरूले कठिनाइ तथा दुःखद भोगाइहरू सार्वजनिक रूपमा साझा गर्नु महत्वपूर्ण छ । साथै हिंसा तथा डरको व्यपकताबारे बोल्नुपर्छ । पुरुषलाई बानी–व्यवहार बदल्न आग्रह गर्न आवश्यक छ । सरकारले यौन दुव्र्यवहार तथा हिंसाविरुद्ध कानुन बन्नुपर्छ । तर, संरचनात्मक लिंगवाद प्रहरीको संख्या बढाएर वा केही पुरुषको व्यवहार बदलेर समाधान हुँदैन । यसका लागि हाम्रो समाजको पूर्ण रूपान्तरण हुनुपर्छ । दैनिक व्यवहारमा गरिने लैंगिक भिन्नतादेखि पितृसत्तात्मक तह जन्माउने अर्थतन्त्रसम्म बदल्नुपर्छ ।
एभेरार्डको हत्याले जुन आन्दोलन निम्त्याएको छ, यो यस्तो खालको एक्लो आन्दोलन होइन । विश्वका विभिन्न स्थानमा यौनिक हिंसाविरुद्ध प्रदर्शन भइरहेका छन् । अमेरिका, अर्जेन्टिना, नाइजेरिया, युगान्डा, दक्षिण अफ्रिका र भारतमा महिला तथा पुरुष यौनहिंसा, नारीहत्या र लैंगिक हिंसाको विरोधमा प्रदर्शनरत छन् ।
यी आन्दोलनहरूले महिलामाथि हुने हिंसाविरुद्ध दमित रहेको आक्रोशलाई आवाज दिइरहेको छ । यिनले महिला अब मौन बस्ने छैनन् भनेर स्पष्ट भनिदिएको छ । उनीहरू रातको समय आफ्नो पनि हो भनेर सुनिश्चित गरेपछि मात्र चुप बस्नेछन् । विश्वव्यापी नारीवादी ऐक्यबद्धता र आमपरिचालनले मात्र लैंगिक न्यायलाई हाम्रो नयाँ यथार्थ बनाउन आवश्यक क्रान्तिकारी परिवर्तन ल्याउनेछ ।
(क्याथरिन युनिभर्सिटी अफ नोटिंघममा अमेरिकी अध्ययन विषय पढाउँछिन्)
अलजजिराबाट