सहजपुर–बिपीनगर–बोगटान सडक : ३० महिनामा सक्ने योजना २७ महिनामा ३५ प्रतिशत मात्र काम

सडक निर्माण सुस्त

शुक्रबार, ६ चैत, २०७७
डिजिटल संस्करण

७ फागुन ०७५ मा सहजपुर–बिपीनगर–बोगटान सडक कालोपत्रेको डोटीको बिपीनगरमा शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘यो सडक अबको ३० महिनाभित्र पिच भएर सरर गाडी गुड्नेछ । तपाईंहरूको घरछेउमै पिच सडक हुनेछ । अबको ३० महिनामा यो क्षेत्रको कायापलट हुनेछ ।’ 

सडक निर्माण सक्नुपर्ने सम्झौताको ३० महिनाको अवधि आउँदो जुन महिनामा सकिँदै छ । प्रधानमन्त्रीले सडक शिलान्यास गरेको पनि २५ महिना बितेको छ । तर, कालोपत्रेको सुरसार छैन । डोजर लगाएर ठाउँठाउँमा सडक खनिएकाले स्थानीयले झन् सास्ती व्यहोरिरहेका छन् । बर्खामा हिलो र अरू वेला धुलोले आवतजावतमा पहिलेको भन्दा बढी सास्ती खेप्नुपरिरहेको कैलालीको चुरे गाउँपालिका–१, निगालीका अमर धामीले बताए । 

‘प्रधानमन्त्रीले सडक छिट्टै कालोपत्रे हुन्छ भनेर भाषण गरेर जानुभो, यता रूख कटानको आदेश नपाएको भनेर काम अघि बढेन,’ धामीले भने, ‘रूख नभएको ठाउँमा बाटो काटिएको छ । कालोपत्रेको काम नहुँदा हिलो र धुलोले पहिलेको भन्दा आवतजावतमा झन् सास्ती खेप्नुपरेको छ ।’ 

करिब ३१ वर्षसम्म कालोपत्रे हुन नसकेको सडक प्रधानमन्त्री स्वयंले शिलान्यास गरेपछि सडक कालोपत्रे हुने स्थानीयले आशा गरेका थिए । सडक कालोपत्रे हुने भएपछि खुसी भएका स्थानीयले धनगढीबाट हेलिकोप्टर चढेर सडक शिलान्यास गर्न दलबलसहित बिपीनगर पुगेका प्रधानमन्त्री ओलीलाई ५१ किलोको फूलको मालासमेत पहिर्याएका थिए ।

तर, प्रधानमन्त्रीको आश्वासन र आफूहरूले आशा गरेअनुसार काम नभएको चुरे–१, निगालीका चक्र बोहराले बताए । सडक कालोपत्रेको शिलान्यास भए पनि त्यसपछि कामले गति नलिएको उनले बताए । निर्माणाधीन सडकमा आवतजावतमा समस्या हुने गरेको उनले बताए ।

तत्कालीन जिल्ला पञ्चायत सभापति भरतबहादुर खड्काले ०४४ सालमा ट्र्याक खोल्ने कामको शिलान्यास गरेको सडक प्रधानमन्त्रीले करिब ३१ वर्षपछि पुनः शिलान्यास गरेका थिए । एकपटक शिलान्यास भइसकेको सडक पुनः शिलान्यास गरिएको भन्दै त्यसवेला कतिपयले आलोचना पनि गरेका थिए । कैलालीको सहजपुरदेखि डोटीको बोगटानसम्म ४० किलोमिटर सडक जुन २०२१ मा सक्ने गरी ८ डिसेम्बर २०१८ मा पिआरएल कुमार जेभीसँग सम्झौता भएको थियो । आयोजना कार्यालयका अनुसार दुई अर्ब रुपैयाँ लागत रहेको यो सडक निर्माणका लागि सरकारले एक्जिम बैंक अफ इन्डियासँग ऋण लिएको छ ।

सुरुको सम्झौता अवधि सकिनै लाग्दा अहिलेसम्म ३५ प्रतिशत मात्र काम भएको आयोजना प्रमुख उज्ज्वल श्रेष्ठले जानकारी दिए । सडक क्षेत्रमा पर्ने रूख कटानको आदेश नपाउँदा कालोपत्रेको काम सुरु नै हुन नसकेको उनले बताए । ‘काममा ढिलाइ हुनुको मुख्य कारण रूख कटानको अनुमति नपाउनु हो,’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘रूख कटानको अनुमति अहिलेसम्म पाइएको छैन ।’ 

मन्त्रिपरिषद्को गत १९ माघको बैठकले यो सडकमा पर्ने तीन हजार ७९५ वटा रूख कटानको अनुमति दिने निर्णय गरेको छ । तर, उक्त निर्णय प्रक्रियामै रहेकाले रूख कटानको आदेश आइनसकेको श्रेष्ठले बताए । डेढ किलोमिटर कालोपत्रेका लागि अहिले बेस हाल्ने काम सकिएको जानकारी उनले दिए । थप काम भइरहेकाले रूख नभएका ठाउँमा यही आर्थिक वर्षमा १० किलोमिटर कालोपत्रे सकिने आयोजना कार्यालयको दाबी छ ।

सम्झौता अवधिमा काम नसकिने देखिएपछि सुरुको सम्झौता अवधिमा साढे ६ महिना म्याद थप भएको छ तर, अहिले पनि कामले गति लिन नसकेको छैन । रूख नभएका ठाउँमा पनि निर्माण कम्पनीले काम नगरेको स्थानीयको आरोप छ । सुरुको सम्झौता अवधि सकिनै लाग्दा अहिलेसम्म ३५ प्रतिशतमात्र भएको आयोजना प्रमुख उज्ज्वल श्रेष्ठले जानकारी दिए । सडक क्षेत्रमा पर्ने रुख कटानको आदेश नपाउँदा कालोपत्रेको काम सुरु नै हुन नसकेको उनले बताए । ‘काममा ढिलाइ हुनुको मुख्य कारण रुख कटानको अनुमति नपाउनु हो ’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘रुख कटानको अनुमति अहिलेसम्म पाइएको छैन ।’ 

निर्माण अवधि सकिन लाग्दा बल्ल रुख कटानको अनुमति

मन्त्रीपरिषद्को गत १९ माघको बैठकले यो सडकमा पर्ने तीन हजार ७९५ वटा रुख कटानको अनुमति दिने निर्णय गरेको छ । तर उक्त निर्णय प्रकृयामै रहेकाले रुख कटानको आदेश आइनसकेको श्रेष्ठले बताए । 

डेढ किलोमिटर कालोपत्रेका लागि अहिले बेस हाल्ने काम सकिएको उनले जानकारी दिए । थप काम भइरहेकाले रुख नभएका ठाउँमा यही आर्थिक वर्षमा १० किलोमिटर कालोपत्रे सकिने आयोजना कार्यालयको दावी छ ।

सम्झौता अवधिमा काम नसकिने देखिएपछि सुरुको सम्झौता अवधिमा साढे छ महिना म्याद थप भएको छ तर अहिले पनि कामले गति लिन सकेको छैन । रुख नभएका ठाउँमा पनि निर्माण कम्पनीले काम नगरेको स्थानीयको आरोप छ ।

कामको गति र हालसम्मको प्रगति हेर्दा सडक कालोपत्रे हुन करिब डेढ वर्ष लाग्ने आयोजना प्रमुख श्रेष्ठले बताए । यो सडकले कैलाली र डोटीका दर्जनौँ विकट ग्रामीण बस्तीलाई यातायात सुविधासँग जोडेको छ । निर्माणाधीन ४० किलोमिटरमध्ये करिब १८ किलोमिटर कैलालीमा पर्छ । 
 

See More On

सुझावित समाचार