१५ चैतदेखि बढी तौल बोक्ने मालबाहक साधनको सामान बाटैमा झारिने

चितवनमा दैनिक १ लाख रुपैयाँ जरिवाना संकलन, बढी तौल बोक्नेलाई ६३ सयसम्म जरिवाना

बुधबार, ४ चैत, २०७७
डिजिटल संस्करण

सरकारले १५ चैतदेखि तोकिएको भन्दा बढी तौल बोक्ने मालबाहक साधनमा बढी भएको सामान झिक्ने भएको छ । बढी भार बोकी सडकमा सञ्चालन गरिएको पाइएमा सोही ठाउँमा नै सवारीसाधनबाट सामग्री झारिने यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए ।

‘यसबाट हुने सबै किसिमका नोक्सानीको व्यवसायी स्वयं जिम्मेवार हुनेछन्,’ उनले भने, ‘निकालिने सामान (तौल)को व्यवस्थापन मालबाहकधनीले गर्नुपर्नेछ ।’ जरिवाना ट्राफिक प्रहरीले गर्नेछ भने बढी तौल बोक्ने मालबाहकलाई कारबाहीका लागि यातायात कार्यालयमा पठाइने प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, चितवनका प्रहरी सहायक निरीक्षक विजयप्रसाद अधिकारीले जानकारी दिए । 

सरकारले सडक सुरक्षार्थ मुख्य सडकहरूमा तौलपुल निर्माण गरी सवारीसाधनको भारवहन नियमन र नियन्त्रण गर्न थालेको हो । चालू आर्थिक वर्षदेखि चितवनको आँपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण भई सञ्चालनमा आइसकेको छ । तौलपुल भन्नाले मालबाहक सवारीसाधनको कुल वजन जोख्ने प्रयोजनका लागि सडक–किनारामा स्थापना गरिएको उपकरण वा यन्त्रसहितको संरचना हो ।

आँपटारीमा तौलपुल स्टेसन परीक्षणका रूपमा २० माघदेखि सञ्चालनमा आएको हो । यससँगै मालबाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ पनि कार्यान्वयनमा आएको थियो । अहिले दैनिक औसतमा १ लाख रुपैयाँ जरिवाना जम्मा भइरहेको विभागका प्रवक्ता डा. भुसालले जानकारी दिए । बर्दिवासमा भने भर्खरै सञ्चालनमा आएको विभागले जानकारी दिएको छ । 

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक संरचनाको संरक्षण तथा यातायात व्यवस्थापनमा पर्ने असरलाई न्यूनीकरण गर्ने उद्देश्यले मालबाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ जारी गरिसकेको छ । निर्देशिकाअनुसार मालबाहक सवारीसाधनले तोकिएको मापदण्डअनुसारको भार ओसारपसार गर्नुपर्ने उल्लेख छ । पछिल्लो समय बढी तौल बोकेको सम्बन्धमा जनगुनासो सुनिन थालेकाले सम्पूर्ण सरोकारवालाहरूमा निर्देशिकाअनुसार गर्न–गराउन यातायात व्यवस्था विभागले अनुरोध गरेको प्रवक्ता डा. भुसालले बताए ।  

 बढी तौल बोक्दा कति जरिवाना ?
बढी तौल बोक्ने ढुवानीका साधनबाट सामान निकाल्न भने ट्राफिक प्रहरीले अझ थालेको छैन । तर, बढी तौल बोक्ने साधनलाई प्रहरीले जरिवाना गर्न थालिसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले जानकारी दिएको छ । जरिवाना पहिलोपटक ५ सय रुपैयाँ छ । त्यसपछि पटकैपिच्छे थप ५ सय रुपैयाँका दरले वृद्धि गरिँदै लगिएको छ । प्रहरीका अनुसार बढी तौल बोक्ने ढुवानीका साधनलाई अधिकतम ६ हजार ३ सय रुपैयाँसम्म जरिवाना हुनेछ । 

यसकारण तौलपुल आवश्यक
यातायात व्यवस्था विभागले तौलपुलको कार्यान्वयनले सडकलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सहयोग गर्नेछ । तौलको नियमन नहुँदा सडक चाँडै जीर्ण हुने गरेको र अब मर्मतमा लाग्ने खर्चलाई समेत घटाउन सहयोगी हुनेछ । 

यातायात व्यवस्था विभागले सन् २०१६ मा गरेको अध्ययनअनुसार पनि सवारीको बढी भारका कारण सडक छिटो जीर्ण बन्न पुगेको देखाएको थियो । अध्ययनले गैँडाकोट, हेटौँडा र धार्केमा गरेको सर्वेक्षणमा ७५ प्रतिशत मालबाहक साधनले तोकिएको भन्दा बढी तौल बोक्ने गरेका छन् । मालबाहक सवारीसाधनले तोकिएको भन्दा न्यूनतम पनि १ टन बढी तौल बोक्दा वार्षिक १ किलोमिटरमा ९७ रुपैयाँ क्षति पुग्ने प्रक्षेपण छ । 

तौलपुलको कार्यान्वयनले मालबाहक साधनको भार नियन्त्रण हुनेछ भने सडक सुरक्षामा सहयोग पुग्नेछ । विभागले देशभरका सडकहरू अधिक भारबाहक सवारीसाधनका कारण बिग्रिएर साना तथा मझौला सवारीसाधन सञ्चालनमा समेत व्यवधान सिर्जना भएको उल्लेख गरेको छ । विभागले तौलपुलमा स्वदेशी तथा विदेशी मालबाहक सवारीसाधनको भार परीक्षण गरी अधिक भारत तुरुन्त निकालिनेछ । त्यसपछि मात्र मालबाहक साधन गन्तव्यतर्फ जाने अनुमति पाउनेछ । 

सुझावित समाचार