गिनी (पश्चिम अफ्रिकी देश)मा नयाँ संस्करणको इबोला संक्रमण फैलिरहेको छ । संक्रमणबाट बिरामी भएकामध्ये ५० प्रतिशतको मृत्यु भएको समाचारहरूमा उल्लेख छ । गम्भीर संक्रमण देखिएका १८ जनामध्ये शनिबारसम्ममा नौजनाको मृत्यु भइसकेको छ । यसअघि सन् २०१३ र २०१६ मा लाइबेरिया र सिरियामा फैलिएको इबोला महामारीबाट १२ सयजनाको मृत्यु भएको थियो ।
यसपटक अफ्रिकी देशहरूमा देखिएको इबोला भाइरस ५–६ वर्षअघि देखिएको भाइरसभन्दा निकै फरक रहेको अध्ययनहरूले देखाएका छन् । स्थानीयस्तरमा गरिएका जिओमिक अध्ययनहरूअनुसार हाल फैलिएको इबोला भाइरस नयाँ प्रजाति हुन सक्ने उल्लेख छ ।
अहिले फैलिएको इबोलाको मृत्युदर लगभग ५० प्रतिशतसम्म छ । पहिले देखिएको इबोला संक्रमणभन्दा यो निकै नै घातक मानिएको छ । तत्कालीन समयमा सन् २०१३ मा पश्चिम अफ्रिकामा फैलिएको इबोला भाइरस सबैभन्दा घातक मानिएको थियो । गिनी, लाइबेरिया, सिएरालियोन र नाइजेरियामा महामारी फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अन्तर्राष्ट्रिय स्वास्थ्य संकटकालको घोषणा गरेको थियो । त्यसवेला एकपटक संक्रमण भइसकेका व्यक्तिलाई पुनः संक्रमण देखिएको थियो ।
इबोला भाइरस हर्पेस भाइरस होइनन् न त भाइरसको आरएनएले नै लामो समयसम्म संक्रमण गराउन सक्छ । पहिला देखिएको इबोला भाइरसको प्रकृतिभन्दा भिन्न देखिएकाले पछिल्लो संक्रमणलाई भाइरोलोजिस्टहरूले अचम्मको संज्ञा दिएका छन् ।
तर, इबोलामाथि गरिएको पछिल्लो अध्ययनअनुसार इबोलाको भाइरस केही मात्रामा भए पनि संक्रमितमा लामो समयसम्म रहन सक्छ । सन् २०१६ मै संक्रमित भएका गिनीका एकजनाबाट अहिले भाइरस फैलिएको अनुमान गरिएको छ । उनमा भाइरसको अंश पाँच सय दिनसम्म रहेको र शारीरिक सम्पर्कमार्फत (वीर्यमार्फत) अर्को व्यक्तिमा सरेको पत्ता लागेको छ ।
इबोला भाइरसबाट सर्ने एक संक्रामक रोग हो । एक्कासि ज्वरो आउने, एकदमै कमजोर अनुभव हुने, मांसपेशी दुख्ने र घाँटीमा समस्या देखिनुलाई डब्लुएचओले यसको सुरुवातको लक्षण मानेको छ । त्यसपछि वान्ता हुने, झाडापखाला लाग्ने र कसैकसैलाई आन्तरिक र बाहिरी रक्तस्राव पनि हुन्छ ।
–एजेन्सीको सहयोगमा