झापाको कमल गाउँपालिका–५ मा एक साताअघि एक युवाको शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले अनुसन्धान अघि नबढाएको पीडित परिवारले आरोप लगाएको छ । सोलुखुम्बु थुलुङ दूधकोसी–१ घर भई कमल गाउँपालिका–५ स्थित आफन्तकोमा बस्दै आएका २१ वर्षीय दलबहादुर लिम्बू गत बुधबार शरीरभरि नीलडामसहित मृत अवस्थामा फेला परेका थिए । सो घटनाको अनुसन्धानमा प्रहरीले आनाकानी गरेको पीडित परिवारले आरोप लगाएको हो ।
मृतकका दाजु नीरबहादुर लिम्बूले भाइको हत्या भएको दाबी गरे । प्रहरीले जाहेरी लिन ढिलासुस्ती गरेको उनको आरोप छ । दलबहादुर कमल–५ स्थित हजुरबुबा वीरबहादुर लिम्बूको घरमा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । ‘भाइको शरीरभरि कुटेको नीलडाम छ । मेरो भाइले प्राण छोड्नुअघि सबै भएर मार्न लागे भनेर मलाई फोन गरेको थियो । त्यसैले मेरो भाइको हत्या नै भएको हो,’ उनी भन्छन्, ‘तर, प्रहरीले पोस्टमार्टम रिपोर्ट नआई जाहेरी लिन मानेको छैन । हत्याराहरू खुलेआम हिँडिरहेका छन् ।’
मृत्यु हुनुअघि उनीहरू दाजुभाइबीच भएको ३० मिनेट लामो फोन रेकर्ड नीरबहादुरले नयाँ पत्रिकालाई पनि सुनाए । नीरबहादुरका अनुसार हजुरबुबा र उनको परिवारबीच अंशबन्डामा लामो समयदेखि झगडा थियो । ‘बाजेहरूसँग अंशबन्डा हुन बाँकी थियो । यो विषयले गर्दा झगडा परिरहन्थ्यो । भाइले यही विषयमा आफू अप्ठ्यारोमा परेको भन्दै आएको थियो,’ उनले भने, ‘मैले सबै कुरा भनेँ । प्रहरीले यतातिर अनुसन्धान गरेको छैन ।’ दलबहादुर प्रहरीमा जागिर खान भन्दै गत २१ माघमा तराई झरेका थिए । त्यहाँ असफल भएपछि उनी हजुरबुबाको घरमा बस्दै आएका थिए ।
मृत्यु हुनुअघि निर्घात कुटपिट
मृत्यु हुनुभन्दा दुई दिनअघि दलबहादुरमाथि निर्घात कुटपिट भएको थियो । उनले कमल गाउँपालिका–५ स्थित एक होटेल फुटाएर त्यहाँ रहेको बियर खाएको भन्दै स्थानीयले निर्घात कुटपिट गरेका थिए । ‘दुई दिनअघि राति होटेल फुटायो भनेर कुटेछन् । त्यसपछि प्रहरीलाई बुझाएछन्,’ दाइ नीरबहादुर भन्छन्, ‘बियरको पैसा चार हजार जरिवाना तिरेर बाजेले नै छुटाएका पनि रहेछन् । तर, त्यहाँबाट गएपछि उसको कसरी मृत्यु भयो ।’ इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज कार्कीले पनि उनीमाथि कुटपिट भएको बताए ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक कार्कीले प्रहरीले जाहेरी लिन आनाकानी नगरेको दाबी गरे । उनले पोस्टमार्टम रिपोर्ट आएपछि स्पष्ट भएर जाहेरी दर्ता गर्ने बताए । ‘पहिला पोस्टमार्टमका लागि जाहेरी दर्ता गर्दा नै पछि शंका भएमा अर्को गर्नेछु भनेर उल्लेख गरेको छ ।
यस्तो विषयमा प्रहरीले जाहेरी लिन्छ,’ उनले भने, ‘तर, पोस्टमार्टम रिपोर्ट आएपछि कसरी जाहेरी दर्ता गर्ने भन्ने स्पष्ट हुन्छ भनेर परिवारका सदस्यलाई भनेको छु । केही दिनभित्र रिपोर्ट आउँछ अनि जाहेरी दर्ता हुन्छ ।’