हिमाली जिल्ला मनाङका स्थानीय तह प्रविधिमैत्री बन्दै गएको छ । मनाङमा मनाङ ङिस्याङ गाउँपालिका, चामे, नार्पाभूमि र नासों गाउँपालिका गरी चार स्थानीय तह छन् । चारैवटा स्थानीय तहका वेबसाइट अद्यावधिक (अपडेट) छन् ।
गाउँपालिकाले गरेका क्रियाकलापको जानकारी र तस्बिर वेबसाइट, मोबाइल एप, फेसबुक र ट्विटरबाट सार्वजनिक गर्ने गरिएको छ । सबै गाउँपालिकाले मोबाइल एप बनाएका छन् । सबै गाउँपालिकाले फेसबुक अकाउन्ट खोलेका छन् । यी सबै सञ्चालनका लागि हरेक स्थानीय तहमा सूचना प्रविधि अधिकृत राखिएका छन् ।
नागरिकलाई स्थानीय तहको सेवासुविधाबारे जानकारी दिन डिजिटल बडापत्र राखिएको छ । कार्यालयका कर्मचारीले विद्युतीय हाजिरी गर्न थालेका छन् । डिजिटल बडापत्र र विद्युतीय हाजिरी मेसिन राख्ने क्रममा रहेको स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले बताएका छन् ।
नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेका अनुसार गाउँपालिकालाई प्रविधिमैत्री बनाइएको छ । कार्यालयको वेबसाइट, मोबाइल एप, फेसबुकमार्फत गाउँपालिकाका कामकारबाहीको जानकारी दिने गरिएको उनले बताए । उनका अनुसार कर्मचारीको हाजिरी विद्युतीय मेसिनबाट गर्न थालिएको छ ।
मनाङ ङिस्याङ गाउँपालिकामा पनि डिजिटल बडापत्र राखिएको गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । फेसबुक, मोबाइल एप र वेबसाइटमार्फत गाउँपालिकाले गर्दै आएका कामकारबाहीबारे जानकारी दिने गरिएको छ । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेका अनुसार डिजिटल बडापत्र र विद्युतीय हाजिरी सुरु गरिएको छ । गाउँपालिकाले गर्ने कामकारबाही मोबाइल एप, वेबसाइट, फेसबुक अकाउन्टबाट जानकारी गराउँदै आएको उनले बताए ।
दुर्गम गाउँपालिका पनि प्रविधिमैत्री
मनाङमा सबैभन्दा विकट मानिने नार्पाभूमि गाउँपालिकाले समेत मोबाइल एप, ट्विटर, फेसबुक पेज र वेबसाइट सञ्चालन गरेको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङमाछिरिङ लामाले बताए । नार्पाभूमि गाउँपालिका यसअघिको नार र फू गाविस मिलेर बनेको हो ।
प्रविधिका यी सञ्जालमा स्थानीय तहका कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाब तथा गुनासो, समस्या दर्ता, वडा विवरण, महŒवपूर्ण स्थान, आपत्कालीन नम्बरहरू राखिएका छन् ।
जनप्रतिनिधि र कर्मचारीको फोटोसहितको सम्पर्क विवरण राखिएका छन् । नागरिकले घरघरै बसेर आफ्ना समस्या तथा गुनासासमेत दर्ता गर्न सक्ने नार्पाभूमि गाउँपालिकाका सूचना अधिकारी उज्ज्वल बास्तोलाले बताए । मनाङमा अहिले प्रविधिका माध्यमबाट सूचना आदानप्रदान तथा कार्यसम्पादन हुन थालेको छ ।