कञ्चनपुरको भीमदत्त नगरपालिकामा सञ्चालित सघन सहरी विकास आयोजनाको काममा विवाद उत्पन्न भएको छ । चालू आर्थिक वर्ष ०७७/७८ मा सञ्चालित योजनाअन्तर्गत नगरपालिकामा निर्माण हुन लागेको कालोपत्रे सडक र ढल निर्माण कार्यमा विवाद देखिएको हो । नगरको दशरथचोकदेखि भगतपुर क्षेत्रमा विवाद देखिएपछि काम नै ठप्प भएको छ । स्थानीयले बर्सातको पानी छेकिने गरी नाला निर्माण गरिनुपर्ने तथा आफ्ना मान्छेको घर बचाउन सडक मापदण्ड कतै १२ मिटर, कतै १५ मिटर तोकिएको भन्दै निर्माण कार्यमा अवरोध गरेका छन् ।
जेआइलामा कन्स्ट्रक्सन प्रालिले १ अर्ब लागतमा भीमदत्त नगरपालिकाको वडा नं ४, ६ र १८ को १४ किलोमिटर क्षेत्रमा २३ सडक र २२ किलोमिटर नाला निर्माण गरिरहेको छ । स्थानीय जनताको सल्लाहविनै हचुवाका भरमा मोटो रकम खर्चिएर कमसल काम गरिरहेको भीमदत्त नगरका कांग्रेस नेता दुर्गादत्त बोहराले आरोप लगाएका छन् । कमसल खालको काम भएको दाबी गर्दै स्थानीयका घर डुबान हुने गरी नाला निर्माण गर्न थालेपछि रोक्न वडा कार्यालयमा निवेदन दिएको उनले बताए । ‘यत्रो पैसा हामीलाई सधैँभरि आउँदैन,’ बोहराले भने, ‘पैसाको सदुपयोग भएको छैन, बरु दुरुपयोग भइरहेको छ, काम पनि गुणस्तरहीन भइरहेको छ ।’
बोहराले डिजाइन नै गलत र पूर्वाग्रही भएको दाबी गर्दै जनताको भावना र विभेदकारी योजना भएकाले विवाद उत्पन्न भएको बताए । ‘मालपोत राजमार्ग जोड्ने सडकमा दैनिक मानिसको बढी चाप हुन्छ, त्यहाँ केही मान्छेले नगरविकासको जमिन अतिक्रमण गरेर बसेका छन्,’ उनले प्रश्न गरे, ‘उनीहरूलाई बचाउन साँघुरो सडक बनाउने अनि भगतपुरका जनतालाई डुबानमा पार्न उँचो ढल बनाउने ?’ नालाको उचाइ कम भए स्थानीयले विकास निर्माणको काममा अवरोध नगर्ने उनको भनाइ छ । जनताको चाहनाविपरीतका काम भए स्वीकार्य नहुने उनले बताए ।
तर, भीमदत्त नगरपालिका–४ का वडा सदस्य सुशील भट्टले उक्त क्षेत्रका अवरोध नभई काम स्थगित गरिएको बताए । ‘काम अवरोध गरिएको छैन,’ उनले भने, ‘स्थानीय जनताले कतै ढलको उचाइ कम गर्नुपर्ने माग अघि सारेका छन् ।’ अन्य ठाउँमा १२ मिटर सडक विस्तार भए पनि सो क्षेत्रको १५ मिटर हुँदा जनता चिढिएको भट्टले बताए । ‘अहिले अरू ठाउँमा काम भइरहेको छ,’ उनले भने, ‘अन्त्यमा त्यहाँ हुन्छ ।’
नाला डाइभर्टको पक्षमा वडाका जनप्रतिनिधि रहेको उनले बताए । भीमदत्त नगरपालिका न्याय समिति सदस्य सन्तोषी साउद (ऐर)ले नियमानुसार विकास निर्माण अघि बढ्ने बताउँदै सडकमा रहेका घरलगायतका संरचना तोडेरै भए पनि काम अघि बढाइने बताइन् । गुणस्तरअनुरूप काम भइरहेको जनाउँदै नगरपालिकाले विकासविरोधी समूह तत्वहरूले गलत आरोप लगाउने गरेको बताइन् । भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले निर्माण कार्यमा विवादै नभएको जिकिर गर्दै धमाधम काम भइरहेको बताए ।
भीमदत्त नगरका इन्जिनियर तथा परियोजनाका फोकलपर्सन गोरखबहादुर सिंहले सो क्षेत्रमा विवाद नभएको र काममा पनि कुनै अवरोध नभएको दाबी गरेका छन् । ‘त्यहाँ विवाद नै छैन, तपाईंहरूलाई कसले भन्यो, ‘इन्जिनियर सिंहले भने, ‘जसलाई पायक नै पर्दैन, उनीहरूले समस्या भएको उठाइरहेका छन् ।’
परियोजना सञ्चालनअगावै स्थानीय दुर्गादत्त बोहरा, रतनसिंह ठकुराठी, गोरखबहादुर चन्द, ओमप्रकाश भण्डारी, कृष्णदत्त भट्ट, डम्बरदेवी कुँवरको सामान्य घरका संरचना तोड्नुपर्ने बताए । ‘सबै स्थानीयले सडक र नालामा पर्ने संरचना तोड्न हामीसँग सहमति जनाएका छन्,’ उनले भने, ‘उनीहरूको ठूलो क्षति पनि छैन, सामान्य पेटी, इँटा र गिट्टी हटाउनुपर्छ ।’ नाला ठूलो लागेको हुनाले डुबान पर्ने चिन्ताले त्यस विषयमा केही स्थानीयले सुझाब दिएको बताउँदै उनले सो क्षेत्र जहिले डुबान पर्ने बताए ।