सरकार परिवर्तनलाई लिएर राजनीतिक दलहरूबीच दौडधुप जारी रहेकै वेला राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छिन् । संसद्मा रहेका सबै दलका प्रमुख नेताहरूसहित पूर्वप्रधानमन्त्रीहरूलाई बैठकमा बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले दलका नेताहरूलाई बोलाएको राष्ट्रपति कार्यालयका परराष्ट्र सल्लाहकार टीका ढकालले बताए । ‘ठोस विषयवस्तु भन्ने केही छैन । दलका नेताहरूसँग छलफलमा बसेपछि पक्कै केही विषयमा छलफल होला,’ ढकालले भने, ‘मुख्य गरी अहिले विकसित भएको समसामयिक राजनीतिका विषयमा छलफल गर्न चाहनुभएको हो ।’ ढकालले बैठक दिउँसो ४ बजे राष्ट्रपति कार्यालयमा बस्ने बताए ।
बैककमा संसद्मा रहेका सबै दल र पूर्वप्रधानमन्त्रीहरूलाई बोलाइएको छ । हाल संसद्मा एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गत ५ पुसमा प्रतिनिधिसभा विघटनलाई सदर गरेपछि राष्ट्रपति भण्डारीको व्यापक आलोचना भएको थियो । उक्त विघटनलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले निर्णयलाई बदर गरेर संसद् पुनस्र्थापना गरेपछि ओली सरकार संकटमा परिरहेका वेला राष्ट्रपतिले पुनः सर्वदलीय बैठक बोलाएकी हुन् । राष्ट्रपति भण्डारीले यसअघि सरकारले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गर्नुभन्दा पहिले सबै राजनीतिक दलसँग छलफल गरेकी थिइन् ।