नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन् । नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताए ।
उनले भने, ‘त्यो लक्ष्यबाट दायाँबायाँ गर्दैनौँ ।’ उनले अहिले निर्वाचन नहुञ्जेलको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अंकगणितले निर्धारण गर्ने जनाए ।
उनले भने, ‘त्यो अंकगणित स्वाभाविक रूपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा आयो भने कांग्रेसले त्यसको नेतृत्व लिन्छ र लिनुपर्छ भन्ने पार्टीमा आमराय छ ।’ नेता महतले कांग्रेस अरू कसैको नेतृत्वमा तथा अरूलाई समर्थन गरेर सरकारमा नजाने स्पष्ट पारे । रासस