अपराधी सार्वजनिक गर्न प्रहरी सफल भएपछि गुल्मेली जनतामा न्यायको आशा पलायो

सोमबार, २ चैत, २०७७
डिजिटल संस्करण

गुल्मी प्रहरीलाई पछिल्लो समय अपराध अनुसन्धानमा सफलता मिल्दै गएको छ । गुल्मी प्रहरीले झन्डै दुई महिनापछि गुल्मीको रेसुंगा नगरपालिका– १४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विकको हत्यारालाई आइतबार सार्वजनिक गरेको छ । हत्यामा संलग्न गुल्मी दरबार गाउँपालिका– १ का ३१ वर्षीय पोमबहादुर घर्तीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

गत माघ ३ गते बिहान घाँस काट्न जंगल गएका विक रेसुंगा नगरपालिका– १ बलिथुममा दिउँसो २ बजे छातीमा बन्दुक लागेको अवस्थामा मृत फेला परेका थिए । हत्या आरोपित घर्तीले विकलाई सिकार खेल्ने क्रममा बन्दुकले हानेको प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । साथै घटनामा प्रयोग गरिएको बन्दुकसमेत प्रहरीले बरामद गरेको छ ।

आरोपितको बयानको आधारमा स्थानीय जंगलमा तीन टुक्रा पारेर छुट्टाछुट्टै ठाउँमा लुकाएको अवस्थामा बन्दुक बिहान फेला पारिएको प्रहरी उपरीक्षक भट्टराईले बताए । उनले समुदायकै सहयोगमा घटना बाहिर आएकाले अब इस्मा घटनामा प्रहरी केन्द्रित हुने बताए ।

मृतकका छोरा शालिकराम विकले बुबा फर्केर नआए पनि अपराधी उम्कन नपाएकोमा प्रहरीलाई धन्यवाद दिए । उनले लामो समय अभियुक्त नभेटिएपछि मरेको आशा र न्याय बल्ल प्राप्त भएको प्रतिक्रिया दिए ।मृतककी श्रीमती गीता विकले मर्ने मरे पनि दोषी उम्किँदा बाँचेकालाई पनि गाउँमा बस्न सक्ने स्थिति नभएको बताउँदै ढिलोचाँडो राहत महसुस भएको बताइन् ।

गत फागुन २५ गते गुल्मी प्रहरीले दुई ठूला चोरीमा संलग्नलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । गाडी र मोटरसाइलक चोरीमा संलग्न मेटल वर्कसपमा काम गर्ने रेसुंगा नगरपालिका– ७ भुजेलखर्कका २३ वर्षीय सन्दीप चुँदारालाई प्रहरीले सार्वजनिक गरेको हो । उनले गत फागुन १८ गते राति तम्घासको मध्येबजारबाटै केशव अधिकारीको लु.१च ६१६४ नम्बरको बोलेर जिप र  फागुन २२ गते राति तम्घासकै उदिनढुंगाबाट लु.५७ प ४५५ नम्बरको कालो पल्सर चोरेका थिए ।

प्रहरी प्रशासन घेराउदेखि एसपी सरुवा गराउने भाडगाउँ घटनाका अभियुक्तसमेत प्रहरीले सार्वजनिक गरिसकेको छ । रेसुंगा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्यामा संलग्न स्थानीय ४७ वर्षीय लालबहादुर खत्रीलाई प्रहरीले फागुन २० गरे सार्वजनिक गरिसकेको थियो। खत्रीले माघ २९ गतेदेखि बेपत्ता भएकी सम्झनालाई हत्या गरेर फालेका थिए । सम्झनाको शव फागुन १७ गते घरनजिकै फेला परेको थियो । 

अब गुल्मी प्रहरी दुईवटा घटनामा संलग्नलाई सार्वजनिक गर्नुपर्ने दबाबमा छ । इस्माको रहस्यमय हत्या र चन्द्रकोटको बाख्रा फर्म आगलागीमा संलग्नकोअहिलेसम्म पत्ता लागेकाे छैन ।  इस्मा गाउँपालिका– १ का मोतीबहादुर कुँवर ०७७ भदौ २१ गते आफ्नै पसलमा हत्या गरिएको अवस्थामा फेला परे ।

हत्या भएको सात महिना पुग्न थाल्याे । तर, हत्याका अभियुक्त अझै फेला परेका छैनन् । त्यस्तै, चन्द्रकोट गाउँपालिका– ३ हर्राचौरका शौभाग्य शाहको बाख्रा फर्ममा आगलागी गर्ने व्यक्ति पत्ता लागेकाे छैन । शाहको फर्ममा गत पुस २३ गते राति आगलागी हुँदा २५ बाख्रासहित खोर जलेर नष्ट भएको थियो । गुल्मी प्रहरीमा पछिल्लो समय देखिएको सफलताले नागरिकमा नयाँ आशा पलाएको नागरिक समाजका संयोजक पदम पाण्डेले बताए ।
 

सुझावित समाचार