भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का पोलिटब्युरो सदस्य रामविलास यादव सार्वजनिक भएका छन् । जिल्ला प्रशासन कार्यालय सिराहामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठको रोहवरमा यादव सार्वजनिक भएका हुन् ।
जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठनमा लामो समयदेखि आबद्ध रहे पनि अब कानुन र संविधानअनुसार सार्वजनिक रूपबाटै राजनीतिमा आउने गरी सार्वजनिक भएको बताए । प्रेस विज्ञप्ति जारी गर्दै यादवले भूमिगत संगठनमा आबद्ध हुँदा लिएको नीतिअनुसार पार्टी नचलेकाले सार्वजनिक भएको बताएका छन् ।
‘सामाजिक, आर्थिक रूपमा पछाडि पारिएका शोषित–पीडित मधेसी, दलित, आदिवासी जनजातिहरूको मुक्ति तथा राज्यको मूल प्रवाहीकरणमा समावेश गर्ने उद्देश्य राखी संघर्ष गर्दै आएकोमा म र मेरो पार्टीबाट उक्त उद्देश्य प्राप्त गर्न लिएको नीति तथा क्रियाकलाप गलत भएको स्मरण गराउन चाहन्छु,’ यादवले विज्ञप्तिमा भनेका छन् । यादवमाथि दुईवटा बम विस्फोटमा संलग्न रहेको मुद्दा जिल्ला प्रहरी कार्यालय सिराहामा दर्ता छ ।
पोलिटब्युरो सदस्य यादवलाई फूलको माला लगाएपछि कानूनमन्त्री श्रेष्ठले सरकारले द्वन्द्वको अन्त्य गर्न खोजेको बताए । आफूले गोइतसँग पनि वार्ता गर्न खोजेको, तर सार्वजनिक हुन नचाहेको भन्दै मन्त्री श्रेष्ठले भूमिगत संगठनमा रहेकालाई मूलधारमा आएर शान्तिपूर्ण गतिविधिमा लाग्न अनुरोध गरे ।
गोइत र ज्वाला सिंहलाई पनि वार्तामा आउन आग्रह गर्दै श्रेष्ठले सम्मानजनक तरिकाले शान्तिप्रक्रियामा ल्याउन आफूले पहल गर्ने बताए ।