आमजनतामा शिक्षा र चेतनाको स्तर अभिवृद्धि नभई लोकतन्त्र बलियो हुँदैन । जनता सचेत नभएको मुलुकमा लोकतन्त्रका नाममा शासकहरू बलिया बन्छन् ।
विश्व परिवेशमा सर्वस्वीकार्य शासन व्यवस्था लोकतन्त्रको लहर सन् १९९० पछि नेपालमा पनि आयो । त्यसपछिका वर्षमा लोकतन्त्रको विपक्षमा बोल्ने वा उभिने धृष्टता कमैले मात्र गर्न सक्ने भए । लोकतन्त्रका आधारभूत मान्यतामा जनताको शासन, संविधानवाद र उदारवादलाई लिइन्छ । जनताको शासनले जसमाथि शासन गरिने हो, उसैका प्रतिनिधि शासकीय जिम्मेवारीमा रहने व्यवस्थालाई बुझाउँछ । जनताले मतदानमार्फत सार्वभौमसत्ताको अनुप्रयोग गर्छन् । लोकतन्त्रमा स्वतन्त्र, निष्पक्ष र दबाबरहित वातावरणको निर्वाचनमा पाएको मतको आधारमा बहुमतप्राप्त व्यक्ति शासक चुनिने हुन्छ ।
संविधानवादले जनताको मतबाट शासकलाई प्राप्त शासनाधिकारलाई मनपरी वा मनोमानी प्रयोग हुन दिँदैन । लोकतन्त्रमा शासकीय अधिकारलाई संविधानको दायराभित्र रहेर प्रयोग गर्ने भन्ने बुझिन्छ । नागरिकले स्वतन्त्रतापूर्वक आ–आफ्नो मौलिक हक अधिकार प्रयोग गर्न पाउँछन् । लोकतन्त्र भनेकै अभिव्यक्ति स्वतन्त्रता, पेसा तथा व्यवसाय गर्ने स्वतन्त्रता, निजी सम्पत्ति कमाउन र राख्न पाउने स्वतन्त्रताजस्ता विभिन्न मौलिक हक सुनिश्चित भएको मर्यादित सामाजिक जीवनको प्रत्याभूति गर्ने व्यवस्था हो । लोकतन्त्रका आधारभूत सिद्धान्तहरूले यसलाई एउटा विशिष्ट र कसैले अस्वीकार गर्नैनसक्ने उत्कृष्ट शासन पद्धति बनाएको छ । यही कारण विश्वमा लोकतन्त्रको उर्लंदो लहरका बीचमा लामो समयदेखि शासनमा रहेका राजा, महाराजा र कम्युनिस्ट शासकसमेत लोकतन्त्रको मुकुन्डो भिर्न बाध्य भए ।
तर, नेपालमा बहुदलीय प्रजातन्त्रपछिका यी ३० वर्षमा विभिन्न आर्थिक र राजनीतिक समस्या र संकटले के लोकतन्त्र सबै रोगको अचुक औषधि हो त ? भन्ने प्रश्न खडा गरेको छ । मुलुक बेथितिले आक्रान्त बनिरहँदा लोकतन्त्रमाथिकै विश्वास डगमगाउने स्थिति बन्यो । मुलुकमा उदार तानाशाह चाहियो भन्न थालियो । यसबीच, लोकतान्त्रिक पद्धतिको स्थापना र सुदृढीकरणका नाममा धेरै खेतीपाती भए । लोकतान्त्रिक आन्दोलनका नाममा मुलुकमाथि स्वार्थप्रेरित हस्तक्षेपका खेल पनि धेरै नै भए । कम विकसित मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई वैदेशिक सहयोगको सर्त बनाइयो । नाम मात्रैको भए पनि लोकतन्त्र नभए वैदेशिक सहयोग आउँदैन, विकास हुँदैन भन्ने मनस्थितिको निर्माण भयो । लोकतान्त्रिक पद्धतिको स्थापना भन्ने सुन्दर पदावलीभित्रबाट शक्तिराष्ट्रहरूबाट हस्तक्षेपकारी कार्य हुन थाले । यसबाट साना मुलुकका शासकहरूमा राष्ट्रघाती सोच र बलिया राष्ट्रको गुलामीको संस्कार विकास हुँदै गयो ।
के हामीले जनताले चाहेकै लोकतान्त्रिक गणतन्त्र उपभोग गर्न पायौँ त ? परिवर्तनको नाममा नयाँ बोतलमा पुरानै रक्सी त भरिएन ? के सबै लोकतान्त्रिक पद्धति अपनाएका भनिएका देश विकसित भएका छन् ? जनता सुखी, सन्तुष्ट र समृद्ध भएका छन् ? लोकतन्त्रका आधारभूत विशेषताहरू हेर्दा त यो पद्धतिको विकल्प कसैले खोज्नैनपर्ने हो । लोकतन्त्रमा शासकको नराम्रा कामको विरोध गर्न पाइन्छ, विकल्प खोज्न पाइन्छ । संविधान परिवर्तन गर्न पाइन्छ, तर एउटा निश्चित विधिबाट मात्रै । तर, लोकतान्त्रिक भनिएको पद्धतिकै विरोध गर्नुपर्ने अवस्था किन हुन्छ ?
लोकतन्त्रको आधार जनता हुन् । लोकतन्त्रमा जनताले जसलाई सत्तामा पुर्याउँछन्, तिनैले शासन गर्छन् । जनताको अभिमत नै शासकको शक्तिको वास्तविक स्रोत हुन्छ । तर, लोकतन्त्र बृहत् अर्थमा चुनावको प्रक्रिया मात्रै नभएर संस्कार पनि हो । लोकतान्त्रिक नेतृत्व चयन हुन जनता पनि सक्षम हुनुपर्यो । शासकको आचरण, कार्यक्रम र प्राथमिकता जनपक्षिय हुन्/होइनन्, छुट्याउन जनताले सक्नुपर्यो । जबसम्म जनताको रोग, भोक, अशिक्षा र अभाव शासकका निम्ति मत तान्ने आधार बनिरहन्छ, वास्तविक लोकतन्त्र पाउन मुस्किल हुन्छ । शक्ति, सत्ता र पैसाको बलमा जनमत प्रभावित गरेर सहजै सत्तामा पुग्न सकिन्छ । गलत व्यक्ति सत्तामा नपुग्ने, पुगे पनि नटिक्ने ग्यारेन्टी यस्तो लोकतन्त्रसँग छ त ?
नागरिक शिक्षित, सचेत र समृद्ध भए मात्रै लोकतन्त्रले ठीकसँग काम गर्न सक्छ । अशिक्षित जनता लोकतन्त्रका नाममा अलोकतान्त्रिक शासन गर्ने शासकका लागि गज्जब राम्रो भोट बैंक हुन सक्छन्, अलोकतान्त्रिक शासनलाई बैधता दिने आधार बन्न सक्छन् । जनता सचेत नभएको मुलुकमा मिथ्यांक प्रस्तुत गरेर जनताको भोट सहजै तान्न सकिन्छ । औचित्यपूर्ण र व्यावहारिक रूपमा सम्भव योजना र कार्यक्रमहरूका सट्टा जनताका आकांक्षाहरूलाई समातेर र पूरा हुनैनसक्ने झुटा आश्वासन बाँडेर अशिक्षित जनताको मत हत्याउन सकिन्छ ।
शासकले बाँड्ने भ्रम र झुटलाई चिर्न सक्ने अस्त्र शिक्षा र चेतना हो । आमजनतामा शिक्षा र चेतनाको स्तर अभिवृद्धि नभई लोकतन्त्र बलियो हुँदैन । जनता सचेत नभएको मुलुकमा लोकतन्त्रका नाममा शासक बलिया बन्छन् । नेताको आश्वासन र बोलीको मूल्यांकन गर्ने, चुनावी नाराहरूको परीक्षण र सत्यापन गर्ने, घोषणापत्रका विषयको अध्ययन, मूल्यांकन र बहस गर्न सक्ने हुनुपर्छ, जनता ।
लोकतन्त्रको नाममा सत्तारोहण गरेपछि सत्ता छोड्न नपरोस् भन्नका खातिर लोकतन्त्रमाथि खतरा पैदा भएको, लोकतान्त्रिक पद्धतिलाई थप बलियो बनाउन आवश्यक भएको, अहिलेको परिस्थितिमा आफूले सत्ता छोडेमा लोकतन्त्र गुम्न सक्ने भय रहेको जस्ता बहाना बनाएर सत्तामा टिकिरहन खोज्ने प्रवृत्ति पनि देखिएका छन् । यसैले आमजनतालाई अझ विशेषगरी कम शिक्षित जनसमुदायलाई आकर्षक नारा दिएर ठूला सपना देखाएर सत्तामा पुग्ने महत्वाकांक्षी र अतिवादीहरूलाई लोकतन्त्रप्रतिको ओठेभक्ति लोकतान्त्रिक आचरण र सिद्धान्तमा निष्ठावान् व्यक्तिलाई भन्दा झनै बढी प्यारो र उपयोगी हुने गरेको छ ।
लोकतान्त्रिक व्यवस्था सबैका लागि उपयोगी छ । यसभित्र उद्यम गर्ने, कमाउने, बोल्ने, लेख्ने, आफ्ना विचारहरूको सम्प्रेषण गर्ने, निर्वाचनमा उठ्नेजस्ता अधिकार सबैलाई हुन्छ । लोकतान्त्रिक प्रक्रियाले सबैलाई समेट्छ, कसैलाई छुटाउँदैन । लोकतान्त्रिक अधिकारहरू उपभोग गर्न कुनै खास पार्टीको सदस्य, आस्थावान् वा कुनै खास धर्म, वर्ण, जात वा कुनै खानदानको व्यक्ति हुनुपर्दैन । अनि, एउटा पार्टीले वा समूहले बाँकीलाई अवरोध गर्ने वा निषेध गर्ने भन्ने हुँदैन । लोकतन्त्रमा रहने यो उदारता र व्यापकता नै लोकतन्त्रको नाममा अलोकतान्त्रिक चरित्रहरू सत्तामा पुग्न र हावी हुनका लागि सहजताको कारण बन्ने गरेको छ । पद्धतिमा विश्वास गर्ने, इमानदार र लोकतान्त्रिक संस्कारका लागि लडेका व्यक्तिहरूको कमजोरी वा संकटको समयलाई उपयोग गरेर डेमोगगहरू समय–समयमा सत्तामा पुग्छन् र लोकतन्त्रको हत्या गर्छन् ।
सैनिक हस्तक्षेप मात्र लोकतन्त्रको खतरा होइन । लोकतन्त्रको नारा दिएर गरिने अलोकतान्त्रिक दुष्कर्महरू नै अहिले लोकतन्त्रको मुख्य खतरा हुन् । लोकतन्त्रको आवरणमा निर्वाचित तानाशाहले ढलीमली गर्न सक्छ । दुई सय ३८ वर्ष पुरानो राजतन्त्र फ्याँकेर ल्याएको लोकतन्त्रमा नागरिकले पञ्चायती व्यवस्थाभन्दा बढी सुशासन मौलिक हकको रक्षा, कानुनी शासन, संविधानवादको अपेक्षा गरेका थिए । भ्रष्ट्राचारको नियन्त्रण आर्थिक विकास र बलियो अर्थतन्त्रको अपेक्षा गरेका थिए । संविधानसभाले महत्वाकांक्षी र चौतर्फी सुशासन र विकासको अपेक्षा गरेको संविधान दिएको छ । जुन राज्यको निर्देशक सिद्धान्त र नीतिमा प्रस्टसँग देखाउँछ । लोकतन्त्रको विकल्प छैन । तर, सचेत नागरिक मात्रै लोकतन्त्रका सारथि हुन सक्छन् ।