बुढानीलकण्ठ बैठक : जसपाका नेताले भने, ‘निकासका लागि कांग्रेसले भूमिका खेलोस्’

शुक्रबार, २८ फागुन, २०७७
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूले नयाँ सरकार निर्माणका लागि कांग्रेसको भूमिका खोजेका छन् । कांग्रेससँग औपचारिक छलफलका लागि सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पुगेका जसपाका नेताहरूले प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको हैसियतले राष्ट्रिय राजनीतिको निकासका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने सुझाब दिएका छन् । 

बैठकपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘जसपाका नेताहरूसँग छलफलमा बस्यौँ । राष्ट्रिय रूपमा साझा धारणा बनाउनुपर्नेमा सबैमा सहमति भएको छ । ठोस रूपमा यो कुरामा नै टुंगोमा पुगेका छौँ भनेर भनिहाल्ने अवस्था बनेको छैन । तर, संसद्को पुनर्स्थापनापछाडि अब राष्ट्रिय राजनीतिले हिँड्ने बाटोको सन्दर्भमा खासगरी प्रमुख प्रतिपक्षी दलले विशेष अग्रसरता लिनुपर्छ भन्ने कुराको सन्दर्भमा उहाँहरूले अपेक्षा राख्नुभयो । उहाँहरूले राष्ट्रिय राजनीतिलाई निकास दिनुपर्ने र त्यो निकासतर्फ अगाडि बढ्दै गर्दाखेरि कांग्रेस, माओवादी र जसपा एकैठाउँमा उभिनु उचित हुन्छ भन्ने धारणा उहाँहरूबाट आयो ।’

बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महताे सहभागी थिए । कांग्रेसका सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए ।

प्रवक्ता शर्माका अनुसार अब कांग्रेसले पार्टीभित्र, माओवादी र जसपासँग चरणबद्ध रूपमा संवाद गरेर निष्कर्षमा पुग्नेछ । ‘५ पुसमा प्रतिनिधिसभाको विघटन भएपश्चात् कांग्रेसको अग्रसरतामा प्रतिगमनविरुद्ध दलहरूका बीच साझा धारणा निर्माण भएको थियो,’ प्रवक्ता शर्माले अघि भने, ‘अब सम्भवतः त्यसको अर्को खण्ड प्रारम्भ हुँदै छ, संवाद सुरु भएको छ र त्यसका लागि चाहिँ केही दिन प्रतीक्षा गर्नुपर्ने हुन्छ ।’ उनले थपे, ‘राष्ट्रिय राजनीतिमा जुन प्रकारको डेभलप होला, त्यसलाई एउटा उपयुक्त निष्कर्षमा पुर्याउनका लागि गहन संवादको प्रक्रिया सुरु भएको छ, उहाँहरूले कांग्रेसको भूमिकाको खोजी गर्नुभएको छ । हामी यसमा पहलकदमीको क्रममा पनि छौँ । थप परिपक्व भएपछि साझा धारणा बनाएर जान्छौँ ।’  बैठकबाट बाहिरिने क्रममा जसपाका अध्यक्ष महन्थ ठाकुरले छलफलमा जसपाका तर्फबाट एजेण्डाहरु राखेको बताए । ‘हामीले आफ्ना एजेण्डाहरु राख्यौँ । यसबारे तपाईंहरूको कुरा सुन्न आएको हो भन्यौँ, उहाँहरूले पनि कुरा राख्नुभयो,’ ठाकुरले भने । जसपाको नेतृत्वमा छलफल चलाउने विषयमा छलफल भयो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ठाकुरले भने, ‘तपाईंको मुखबाट सुनेँ । यो त खुसीको कुरा हो ।’ तर, अबको प्रधानमन्त्रीमा त तपाईंको नाम चर्चामा छ नि ? सञ्चारकर्मीको अर्को प्रश्नमा ठाकुरले अघि भने, ‘यस्तो राम्रो खबरका लागि तपाईंलाई धन्यवाद छ । यो त मेरो लागि खुसीको सरप्राइज नै भयो ।’ 

जसपासँगको बैठकअघि कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो । बैठकमा नेताहरूले ओली सरकारको विकल्प खोज्नका लागि कांग्रेसले औपचारिक संवाद थाल्नुपर्ने बताएका छन् । ‘ओलीको विकल्प खोज्ने विषयमा पार्टीले खुला रूपमा संवाद गरेर अगाडि बढ्नुपर्ने निष्कर्ष बैठकको छ । यसमा सबै नेताको धारणा समान छ,’ प्रवक्ता शर्माले भने । 
 

See More On

सुझावित समाचार