संसदीय दलको नेता चयन गर्दै जसपा

शुक्रबार, २८ फागुन, २०७७
डिजिटल संस्करण

पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता चयन गर्ने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।  

जसपा उच्चस्रोतका अनुसार सो दलका अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । ‘दलको विधान पारित भएपछि संसदीय दलको नेता चयन गर्ने पनि एजेन्डा छ, समय भएमा सम्भवतः आजै नेता चयन हुन्छ, अहिले व्यक्तिको टुंगो लागेको छैन,’ जसपा स्रोतले भन्यो । राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । जसपामा ३४ सांसद रहेकामा दुईजना निलम्बित रहेकाले हाल ३२ मात्र  रहेका छन् । 

सत्तासाझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको उक्त छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र आज थप छलफल हुने जसपा नेता लक्ष्मणलाल कर्णले बताए ।  जसपाले कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायतको माग राख्दै आएको छ ।

पार्टीले संसदीय दलको बैठकपछि आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दै छ । बुढानीलकण्ठस्थित देउवानिवासमा साँझ जसपाका शीर्ष नेताले  भेटवार्ता गर्ने कार्यक्रम तय भएको जसपा नेता केशव झाले बताए । रासस

See More On

सुझावित समाचार