नेकपा खारेजको असर : प्रदेश २ मा एमाले र माओवादी केन्द्रले दलका नयाँ नेता छनोट गर्ने

शुक्रबार, २८ फागुन, २०७७
डिजिटल संस्करण

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रदेश २ मा दुवै पार्टीले दलका नयाँ नेता छनोट गर्ने भएका छन् । अदालतले गरेको फैसला कार्यान्वयन गर्दै निर्वाचन आयोगले प्रदेश सभा सचिवालयलाई नेकपालाई दिएको मान्यता खारेज गरी तत्कालीन एमाले र माओवादी केन्द्रलाई मान्यता दिन परिपत्र गरेपछि दुवै पार्टीलाई दलको नेता छान्न बाध्यात्मक अवस्था आएको हो । 

तत्कालीन एमाले संसदीय दलका नेता सत्यनारायण मण्डल र माओवादी केन्द्र संसदीय दलका नेतामा रामचन्द्र मण्डल थिए । नेकपाका दुई समूह अर्थात् प्रचण्ड–नेपाल र ओली समूहमा विभाजित भएपछि सत्यानारायण ओलीकै समूहमा थिए । रामचन्द्र मण्डल पनि प्रचण्ड समूह छाडेर ओली समूहमा लागेका थिए । ‘दुई पार्टीबीच एकीकरण हुँदा संसदीय दलका नेता एउटा चयन भएको थियो,’ सभामुख सरोजकुमार यादवले भने, ‘अब दुई पार्टी पुनः अलग–अलग भएपछि संसदीय दलका नेता पनि अलग–अलग हुन्छन् । दुवै पार्टीले पुनः संसदीय दलका नेता छनोट गर्नुपर्ने हुन्छ ।’ 

सत्यनारायण मण्डललाई एमाले संसदीय दलका नेता बन्न कठिनाइ नभए पनि रामचन्द्र मण्डललाई पुनः माओवादी केन्द्र संसदीय दलको नेता बन्न चुनौतीपूर्ण छ । ‘माओवादी केन्द्रबाट म एक्लै ओली समूह (एमाले) मा गएको थिइनँ । मजस्ता धेरै सांसद गएका छन् । त्यसकारण अब संसदीय दलका नेता को हुने वा नहुने अहिले नै छलफलको विषय बनेको छैन,’ नेता रामचन्द्र मण्डलले भने । माओवादी केन्द्रबाट एमाले गएका प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरू, मेयर, उपमेयरबीचमा आगामी रणनीतिको विषयमा छलफल भइरहेको उनले बताए । 

नेकपा खारेज भएपछि दलका नेता शत्रुधन महतोको पद पनि गएको छ । तत्कालीन नेकपा विभाजित हुने अवस्थामा पुगेपछि बहुमत सांसदले सत्यानारायण मण्डललाई हटाएर महतोलाई नेकपा संसदीय दलको नेता चुनेका थिए । निर्वाचन आयोगले प्रदेश सभालाई पठाएको पत्रको मितिदेखि संसदीय दलका नेताको रूपमा महतोले पाउने सेवासुविधा बन्द हुने प्रदेश सभामुख यादवले बताए । 

सुझावित समाचार