आठ सय आँखा रोगीले पाए नि:शुल्क उपचार

शुक्रबार, २८ फागुन, २०७७
डिजिटल संस्करण

तामाकोसी अस्पतालले आठ सय चार बिरामीको निःशुल्क उपचार गरेको छ । तिलगंगा आँखा अस्पताल काठमाडौं र जिल्ला सामुदायिक आँखा केन्द्रको सहकार्यमा सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पतालमा तीन दिनसम्म सञ्चालन भएको आँखा शिविरमा दुई सय २८ जनाको शल्यक्रिया र पाँच सय ७६ जनाको आँखाको परीक्षण गरिएको हो । 

आँखा शिविरमा एक सय ६ महिला र एक सय २२ पुरुष गरी दुई सय २८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको तामाकोसी अस्पतालका निर्देशक गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । ‘आँखाको उपचार र मोतियाबिन्दु भएका आँखाका बिरामीहरूको निःशुल्क रूपमा शल्यक्रिया गरिएको हो । आँखाको उपचारका लागि जिल्लाको ग्रामीण भेगबाट सदरमुकामसम्म आएका बिरामीका कोही आफन्त नभएको र बस्ने ठाउँ नभएका सबै विरामी र कुरुवालाई खाने बस्नेसमेतको व्यवस्थापन तामाकोसी अस्पतालले निःशुल्क व्यवस्थापन गरेको निर्देशक घिमिरेले बताए ।

तामाकोसी अस्पतालले विगतमा पनि जिल्लाका ग्रामीण भेगमा गएर आँखाको जाँच गर्ने र मोतियाबिन्दु भएका बिरामीको हकमा प्रत्येक वर्ष विभिन्न संस्थाहरूको सहयोगमा आँखा शिविर सञ्चालन गर्दै आएको छ । संस्थाले यस वर्ष पनि गाउँगाउँमा आँखा जाँच गराएर अप्रेशन गर्नुपर्ने बिरामी छनोट गरी तिनलाई निःशुल्क शिविरको आयोजना गरेको हो । तीन दिनसम्म सञ्चालन भएको आँखा शिविरमा रमेश पराजुलीको नेतृत्वमा आएको टोलीमा वरिष्ठ सर्जन डा.संयम बजिमय, योगिता भण्डारी, डा. प्रतिभा शाहीलगायतको टोली उपचारमा संलग्न भएका थिए । 
 

सुझावित समाचार