कांग्रेसले दुई वर्षसम्म भूमिगत रहेको विप्लव नेतृत्वको नेकपासँग सरकारले हतियार बुझाउने विषयमा सहमति नभएको प्रति प्रश्न उठाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत सरकार र विप्लव नेतृत्वको नेकपाबीच समझदारी भएको विषयलाई स्वागत गर्दै हतियार बुझाउने बुँदा नभएकोमा प्रश्न गरेका हुन् ।
शर्माले शुक्रबार ट्विट गर्दै भनेका छन्, ‘प्रचण्ड आउँदा खोलाले बगायो थोरै हतियार, विप्लव आउँदा पूरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ ।’ शर्माले नेपालमा कम्युनिस्टहरूको आन्दोलनका लागि नेपाली जनताले पटकपटक ज्यान गुमाउनुपरेको सम्झाउँदै कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली मारिने छैनन् भन्ने साझा उद्घोष गर्ने वेला भए–नभएकोबारे प्रश्न गरेका छन् ।
‘नेपालको पूरै कम्युनिस्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न, ‘०२८ मा केपी–सिपी, ०५२ मा प्रचण्ड–बाबुराम, अहिले विप्लव–प्रकाण्ड, सबैको नाम र काम उस्तै, परिणाम उस्तै । कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली अब मारिने छैनन् भनेर साझा उद्घोष गर्ने वेला भएन कमरेडहरू ?’ शर्माले ट्विट गरेका छन् ।
