आफैँ उभिन सक्दिनन् पुनम, तर सरकारी जागिरे बन्ने साहस

मंगलबार, १८ फागुन, २०७७
डिजिटल संस्करण
आफैँ उभिन सक्दिनन् पुनम, तर सरकारी जागिरे बन्ने साहस

शारीरिक अवस्था कमजोर भएकी पुनम भुजेल बुबाको सहारामा साइकल चढ्दै । तस्बिर : नयाँ पत्रिका

झापा दमक–४ अर्नाखाडीकी १७ वर्षीया पुनम भुजेल अरूको सहयोगविना हिँडडुल गर्न सक्दिनन् । कक्षा ६ मा पढ्दादेखि सुरु भएको शरीर बांगिने समस्याले अहिले उनलाई सहयोगविना हिँड्न नसक्ने बनाएको छ । उभिँदा शरीर पूरै बांगिन्छ, शरीर लुलिएको छ । हिँड्न सक्दिनन् । डाक्टरले ‘मस्कुलर डिस्ट्रफी’ भएको भनेका छन् । अशक्त शरीर भए पनि पुनमले आत्मविश्वासमा भने कमी आउन दिएकी छैनन् ।

अरूको सहारामा हिँडडुल गर्नुपर्ने भए पनि उनले पढाइ छाडेकी छैनन् । उनका बुबा पूर्णबहादुरले हरेक दिन बिहानै साइकलमा राखेर चार किलोमिटर टाढा रहेको दमक बहुमुखी क्याम्पसमा पुर्याइदिन्छन् । बिहानभरि पर्खेर १० बजे छोरी लिएर मात्रै पूर्णबहादुर घर फर्किन्छन् । ‘साइकलमा बस्न सक्छु । उभिएर हिँड्न त कुरै नगरौँ,’ उनी भन्छिन्, ‘बामे सरेर हिँड्नचाहिँ सक्छु । बुबाले कलेजभित्र पु¥याएर छाडिदिनुहुन्छ । बसेको ठाउँबाट नउठी कक्षा सकिन्छ ।’

उनले भर्खरै मात्र कक्षा १२ पनि पास गरेकी छिन् । थप उच्च शिक्षा लिने उनमा इच्छा छ । उनको इच्छा पूरा गर्ने तागत परिवारमा छैन । ‘आमाको पनि हात यसैगरी बांगिएका छन् । छोरीको इच्छा पूरा गर्न मैले बाहिर कतै गएर काम गर्न सकिनँ,’ बुबा पूर्णबहादुर भन्छन्, ‘अब ब्याचलर पढ्छु भन्छिन् । तर, म मजदुरी गरेर खानेले कसरी पढाउने ?’ 

पूर्णबहादुरले ४५ वर्षको उमेरमा विवाह गरेका थिए । पुनम उनीहरूको एक्ली सन्तान हुन् । ‘बुढेसकालको सहारा बन्छिन् भन्ने सोचेको थिएँ । उनकै सहारा बन्नुपर्ने भयो,’ उनी भन्छन्, ‘६० पुगेँ । अब काम गर्न पनि सक्दिनँ ।’ समयमै पैसाको चाँजोपाँजो मिलाउन सकेको भए छोरीको उपचार हुन्थ्यो कि भन्ने पीडाबोध हुने गरेको उनी बताउँछन् । अहिले रोग छिप्पिएको छ । उपचारका लागि खर्च पनि छैन । उनी भन्छन्, ‘कसैले सहयोग गरे उपचार गर्ने थिएँ ।’

पुनममा भने बुबाको सहारा पाइन्जेल पढ्ने हिम्मत छ । स्नातकोत्तरसम्म अध्ययन गर्ने उनको लक्ष्य छ । तर, पढ्ने क्याम्पस अपांगमैत्री नहुँदा उनलाई कलेज जान मुस्किल हुन्छ । ‘क्याम्पसको शौचालयसम्म पुग्न पनि गाह्रो हुन्छ । ‘पानी खाएर कलेज जाँदा पिसाब आउँछ कि भनेर पानी पनि नखाई जान्छु,’ उनी भन्छिन्, ‘कलेजमा ठूला सिँढी चढेर कक्षाकोठामा जानुपर्छ । धन्न सरले ११ र १२ कक्षाचाहिँ मेरो अवस्था देखेर तल्लो तलामै पढाउनुभयो । अब के हुने हो कुन्नि !’ 

शारीरिक रूपमा अशक्त भए पनि उनलाई सरकारी जागिर खाने ठूलो रहर छ । बूढा भएका बा–आमाका लागि पनि उनी सरकारी जागिर खान लोकसेवाको तयारी गरिरहेकी छिन् । ‘बसेर गर्ने काम त गर्न सक्छु । सरकारी जागिर खाएर बुबा–आमालाई पाल्ने मन छ । उहाँहरूले पनि अब कति नै काम गर्न सक्नुहुन्छ होला र !,’ उनी भन्छिन्, ‘खरिदारको पुस्तक किनेर ल्याएको छु । घरमा बस्दा यही पढेर तयारी गरिरहेको छ । अब खुल्नेबित्तिकै फर्म भरेर परीक्षा दिन्छु ।’
 

सुझावित समाचार