राष्ट्रिय सभा सदस्य कोमल वलीबारे गरेको टिप्पणीका कारण प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाका नेता तथा पूर्वमन्त्री रघुजी पन्त विवादमा परेका छन् । सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ । नेता पन्तले शनिबार एक कार्यक्रममा वलीबारे आपत्तिजनक टिप्पणी गरेका थिए । ‘लैंगिक हिंसाजन्य’ अभिव्यक्ति दिएको भन्दै उनको आलोचना भइरहेको छ ।
राष्ट्रिय सभा सदस्य वलीले पनि पन्तको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् । ‘प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एक–अर्काको आदरसम्मानविना समाजमा न्याय समानता र विवेकशीलताको अन्त्य हुन्छ । समाज हिंसातिर जान्छ र करुणा जस्ता कुरा हराउँछन् ।
तसर्थ एकले अर्कालाई सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘तर, नेकपाका नेता रघु पन्तले महिलाहरूले प्राप्त गर्ने पदहरू पिँडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ, उहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरू बीचैमा रोकिएको जस्तो छ ।
उहाँले प्रयोग गर्ने शब्दहरूले आफ्ना आमा–दिदीबहिनी सबैलाई अपमान गरेको छ । विवेकहीन मानिसको आलोचनाले आफैँलाई आलोचित गर्दछ । यस्ता व्यक्तिले नेतृत्व गरेका राजानीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?’ उनले भनेकी छिन् ।