ग्रेटा थनवर्ग र भारतको कानुनी शासन

दिशा रविले सम्पादन गरेर भनिएको टुलकिटमा किसान आन्दोलनको व्याख्या गर्दै त्यसप्रति ऐक्यबद्धता व्यक्त गरिएको थियो

बिहिबार, १३ फागुन, २०७७
डिजिटल संस्करण

फेब्रुअरी १४ को दिन नयाँदिल्लीस्थित एक अदालतको ढोकाबाट एकजना युवती टाउको झुकाएर निस्किइन् । प्रहरी नियन्त्रणमा रहेकी युवती वरिपरि पत्रकारको ठूलो झुण्ड झुम्मिएको थियो । ती युवती २२ वर्षे दिशा रवि ‘फ्राइडे फर फ्युचर’का भारतीय संस्करणकी अभियन्ता तथा संस्थापक सदस्य हुन् ।

चर्चित स्वीडिस पर्यावरणविद ग्रेटा थर्नवर्गको समर्थन रहेको यस विश्वव्यापी आन्दोलनले जलवायु न्यायको वकालत गर्छ । दिशाको पक्राउ भने अलग सन्दर्भमा भएको हो । उनलाई लामो समयदेखि आन्दोलनरत भारतीय किसानको समर्थन गर्दै लेखिएको एक लेखलाई सम्पादन गरेर सेयर गरेको आरोप छ ।

ट्विटरमा सेयर भएर हटाइएको लेख खासमा एउटा टुलकिट थियो । त्यसले सार्वजनिक रूपमा उपलब्ध सामग्रीहरू प्रयोग गरेर किसान आन्दोलनको व्याख्या गर्दै त्यसप्रति एक्येबद्धता व्यक्त गरिएको देखिन्छ । टुलकिट ग्रेटा थनवर्गले सेयर गरेपछि भने सत्तारुढ भाजपाले त्यसलाई आफ्नो छविमाथिको आक्रमण ठान्यो । कैयौँ भाजपा नेता थर्नवर्ग र किसान आन्दोलनप्रति सहानुभूति देखाउने अन्तर्राष्ट्रिय सेलिब्रिटीप्रति आक्रमक रूपमा प्रस्तुत भए । तिनले भारतीय किसान आन्दोलनमा देखाएको चासोलाई भारतविरुद्धको अन्तर्राष्ट्रिय षड्यन्त्र बताइयो । 

आन्दोलनरत किसानले उठाएको जायज चिन्तालाई सम्बोधन गर्नुको साटो भारतीय सरकार प्रतिरोधी आवाजलाई दबाउने र आन्दोलनलाई विदेशी हस्तक्षेपको रूपमा बदनाम गर्ने प्रयासमा लागेको छ । रविको पक्राउमा यो दुईजिब्रे रणनीति पछ्याइएको मात्र होइन, अर्को पक्ष पनि उजागर भएको छ । भारतमा सत्तारुढ दलले आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि प्रजातान्त्रिक संस्थानलाई नै कमजोर बनाउने क्रम बढेको छ ।

भारतीय न्याय प्रणालीमा क्षय आएको छ । रविलाई ब्रिटिस औपनिवेशकालमा बनेको राष्ट्रद्रोहको मुद्दा लगाइएको छ । भारतीय स्वतन्त्र संग्रामका सेनानीलाई दमन गर्न ल्याइएको बेलायतले बनाएको कानुन बेलायतमै खारेज भइसक्यो । न्यायिक नजिरले यो कानुनको प्रयोगलाई निकै सीमित गरिदिएको छ । रविविरुद्ध देशको बदनामी गराएको र भारतविरुद्ध सामाजिक, सांस्कृतिक र आर्थिक युद्ध घोषित गरेको आरोप छ । पूर्व वरिष्ठ प्रहरी अधिकारी एनसी आस्थनाले नै यी आरोप भारतीय कानुनअन्तर्गत पनि आधारहीन भएको बताएका छन् । 

आन्दोलनरत किसानले उठाएका चिन्तालाई सम्बोधन गर्नुको साटो भारतीय सरकार प्रतिरोधी आवाजलाई दबाउने र आन्दोलनलाई विदेशी हस्तक्षेपको रूपमा बदनाम गर्ने प्रयासमा लागेको छ । 

‘अतिवाद’लाई प्रवद्र्धन गर्ने संगठनसँग जोडिएका केही व्यक्तिले पनि टुलकिट निर्माणमा योगदान गरेकाले टुलकिट खतरनाक भएको प्रहरीको दाबी छ । तर, यो आरोपमा कुनै बलियो आधार देखिँदैन । त्यसमाथि रविले सार्वजनिक डोमेनमा रहेको लेखमा दुईवटा सम्पादन गरेको देखिन्छ । राष्ट्रद्रोहलाई यति पर्याप्त नहुनुपर्ने हो । 

रविको पक्राउ सम्बन्धमा राज्यका अन्य निकायले पनि सत्तारुढ दललाई सघाउ पुग्ने गरी कदम चालेको देखियो । सरकार समर्थित मिडियाले रविविरुद्ध प्रचार अभियान चलाइरहेका छन् । सामाजिक सञ्जालको एउटा एकाउन्टले रविको 
ह्वाट्सएप च्याट्सम्म पहुँच पाएको र ती च्याटहरू सरकार समर्थित मिडियामा चुहाइएको कुरा सार्वजनिक भएको छ । यसले पनि रविको मुद्दा निष्पक्ष नहुने डर छ ।  

सत्तारुढ पार्टीको राजनीतिक भाष्यलाई चुनौती दिने अन्य कैयौँ अभियन्तालाई पनि विभिन्न मुद्दा लागेको छ । रविको मुद्दाअघि अन्य अभियन्ताले पनि किसानको पक्षमा बोलेका थिए । यी प्रकरणले यस्तो आपराधिक न्यायिक प्रणालीको चित्र प्रस्तुत गर्छ, जो राजनीतिक शक्तिका लागि वाक् स्वतन्त्रतालाई दबाउन पनि इच्छुक देखिन्छ । भारतको न्यायिक प्रणालीभित्रको संरचनात्मक समस्या दशकौँदेखि अस्तित्वमा थियो र यसलाई विभिन्न राजनीतिक दलले आफ्नो स्वार्थसिद्धिको लागि प्रयोग गरेका छन् । तर, अहिले इन्दिरा गान्धीको शासनकालपछि कै ठूलो स्तरमा भारतीय प्रजातान्त्रिक संस्थानको क्षय देखिएको छ ।

आवधिक निर्वाचनलाई भारतमा प्रजातन्त्रको प्रमुख सूचक मानिन्छ । त्यसैले अधिकारमाथिको दमन बढ्दा राजनीतिक परिवर्तनको वकालत पनि बढ्छ । राजनीतिक परिवर्तनका अतिरिक्त संरचनात्मक सुधारको पनि आवश्यकता छ । मुख्यतः भारतीय प्रहरी थप जवाफदेही र स्वतन्त्र हुन आवश्यक छ । न्यायिक क्षेत्रको मनोनयनमा सरकारी प्रभाव न्यूनीकरण गर्नुपर्छ । सल्लाहसुझाबमार्फत अपराधसंहितामा बृहत्तर सुधारको आवश्यक छ । प्रतिरोधी आवाज दबाउने पुराना कानुन पूर्णतः खारेज हुनुपर्छ । यी सुधारविना भारतको संवैधानिक प्रजातन्त्र सत्तारुढ दलको राजनीतिक लहडको सिकार हुने सम्भावना हुन्छ । यो चक्र दोहोरिइरहँदा समावेशी र समतामुखी विकास त्यही घनचक्करमा फस्न पुग्छ । 
(तिवारी राजनीति र संस्कृतिबारे लेख्छिन्)  अलजजिराबाट

सुझावित समाचार