नेपाली कांग्रेसले आगामी भदौ ७ देखि १० गतेसम्म १४औँ महाधिवेशन गर्ने गरी महाधिवेशनको कार्यतालिका बनाएको छ । बुधबार र बिहीबार बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशनको मिति तोकेको हो ।
बुधबार महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय समितिको बैठकमा पेस गरेको प्रस्तावमा छलफल गरी तल्ला तहको अधिवेशनको कार्यतालिका केही फेरबदल गरेको र केन्द्रीय महाधिवेशन ७ देखि १० भदौसम्म काठमाडौंमा गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । जसअनुसार कांग्रेसको १४औँ महाधिवेशन आगामी भदौको ७, ८, ९ र १० गते काठमाडौंमा हुनेछ ।
त्यसका लागि तय गरिएको कार्यतालिकाअनुसार १५ फागुनभित्र समायोजनका काम सक्नुपर्नेछ । यस्तै, २५ चैतभित्र क्रियाशील सदस्यको सूचीमाथि छानबिन गरी केन्द्रमा बुझाउनुपर्ने, १७ जेठभित्र क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले छानबिन गरिसक्ने र २४ जेठमा केन्द्रीय समितिलाई बुझाउने कार्यतालिका तोकिएको छ ।
तल्ला तहको अधिवेशन ५ असारदेखि सुरु हुनेछ । वडा तहको अधिवेशन ५ असारमा, स्थानीय तहको अधिवेशन ७ असारमा, प्रदेश सभा क्षेत्रीय अधिवेशन १ साउन, प्रतिनिधिसभा क्षेत्रीय र एक मात्रै निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन ३ साउनमा र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन ६ साउनमा गरिसक्ने निर्णय भएको छ । त्यसपछि साउनको १० र ११ गते प्रदेशको अधिवेशन गर्ने कांग्रेसले निर्णय गरेको छ ।
यस्तै, क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा केन्द्रीय सदस्य तथा अधिवेक्ता रमेश लेखक चयन भएका छन् । सो समितिको सदस्यहरूमा केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, जीवन परियार, कल्याणकुमार गुरुङ, प्रदीप पौडेल, श्यामकुमार घिमिरे र योगेन्द्र चौधरी सदस्य रहेका छन् । बैठकले समितिलाई जेठ २४ गतेभित्र क्रियाशील सदस्यता छानबिन गरी केन्द्रीय समितिलाई बुझाउने जिम्मेवारी तोकेको छ । बैठकले विभिन्न १० वटा प्रस्तावमाथि छलफल गर्दै निर्णय गरेको छ ।
पार्टीको क्रियाशील सदस्यता वितरण र महाधिवेशन तयारीका कार्यहरूलाई असर नपर्ने गरी सरकारले गरेको प्रतिनिधिसभाविरुद्धको आन्दोलनलाई निरन्तरता दिँदै कार्यक्रम निर्माण र आयोजना पार्टी जिल्ला कार्यसमिति एवं विभिन्न तहलाई गर्न निर्देशनसमेत दिएको छ ।
प्रस्ताव नं. १
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४३ मा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरूको पदावधि ४ (चार) वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्थाबमोजिम पाँच वर्षको रहेकोमा, नेपालको संविधानको धारा २६९ (४) (ख) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा ६ (छ) महिना थप गर्न सकिने भएकोले, सोबमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको अवधि ६ (छ) महिनाका लागि थप गर्ने व्यवस्थाका लागि पार्टी विधानको धारा ४३ मा व्यवस्था गर्ने । उक्त निर्णय पार्टीको आगामी चौधौँ महाधिवेशनमा राखिनेछ ।
प्रस्ताव नं. २
नेपाली कांग्रेसको विधानका केही व्यवस्थाहरूमा सामान्य संशोधन, परिमार्जन र व्याख्या गर्न आवश्यक देखिएकोले यसै विधानको धारा ४७ र धारा ५० (५) ले दिएको अधिकार प्रयोग गरी देहायबमोजिम संशोधन, परिमार्जन र व्याख्या गर्ने निर्णय गरिन्छ । यस निर्णयलाई पार्टीको आगामी महाधिवेशनमा अनुमोदनका लागि प्रस्तुत गरिनेछ ।
१. नेपाली कांग्रेसको विधानको धारा ६ (२) (क), धारा ७ (२) (क) (१), धारा ७ (२) (ख) (१), धारा ७ (२) (ग) (१), धारा ८ (२) (क) (१), धारा ९ (२) (क) (१) (उपमहानगरपालिका र महानगरपालिकाको सभापतिबाहेक), धारा १० (३) (क), धारा १० (४) (क) (१), धारा ११ (२) (क), धारा १२ (५) (क) (४), धारा १५ (१) (क) र धारा १५ (१) (ख) मा पार्टीका विभिन्न पदमा उम्मेदवार हुन निरन्तर क्रियाशील सदस्य भएको अवधि तोकिएकोमा उक्त क्रियाशील सदस्यको ‘अवधिसम्बन्धी व्यवस्था’ निलम्बन गर्ने ।
तर, पार्टीको केन्द्रीय सभापति, केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य, प्रदेश सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, महानगरपालिकाको सभापति र उपमहानगरपालिकाको सभापतिका लागि यो व्यवस्था निलम्बन भएको मानिनेछैन ।
२. नेपाली कांग्रेसको विधानको धारा ४ (१०) (ग) र (ङ) बमोजिम अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिको हकमा क्रियाशील सदस्यताको अवधि गणना गर्दा नेपाली कांग्रेसको जुन पदमा हाल समायोजन (पदासीन) भएका छन्, उक्त पदका लागि आवश्यक अवधि पुगेको मानिनेछ । उक्त अवधि आवश्यक पर्ने अन्य पदमा समेत उम्मेदवार हुन योग्य मानिनेछन् ।
तर, पार्टीको केन्द्रीय सदस्य रहेको व्यक्ति न्यूनतम १० वर्ष निरन्तर क्रियाशील सदस्य हुनुपर्ने पदमा उम्मेदवार हुन पाउनेबाहेक अन्य व्यक्ति जिल्ला सभापति, प्रतिनिधिसभा, क्षेत्रीय कार्यसमितिको सभापति, महानगरपालिका र उपमहानगरपालिकाको सभापतिमा उम्मेदवार हुन पाउनेछैन ।
३. कुनै राजनीतिक दल नेपाली कांग्रेससँग एकीकरण वा विलय हुँदा राष्ट्रिय मान्यता प्राप्त दल रहेछ भने त्यस्तो दल एकीकरण वा विलय हुँदा उक्त दलको केन्द्रीय कार्यसमितिको सदस्य रहेको व्यक्ति वा राष्ट्रिय मान्यता प्राप्त दलको केन्द्रीय कार्यसमितिको पदाधिकारी वा सदस्य भएको व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा उम्मेदवार हुन पाउनेछ ।
४. पार्टीको विभिन्न तहमा सभापतिको कार्य अवधि गणना गर्दा निम्नबमोजिम गर्ने :
(क) केन्द्रीय सभापति र जिल्ला सभापतिबाहेक अन्य तहका सभापतिको पदावधि १३औँ महाधिवेशनदेखि गणना हुनेछ ।
(ख) १३औँ महाधिवेशनमा सभापतिमा निर्वाचित नभएको, तर समायोजन गर्दा सभापति कायम भएको भए अवधि गणना नहुने ।
(ग) १३औँ महाधिवेशनमा समायोजनपूर्व सभापति निर्वाचित भएको र समायोजनमा पनि सभापति कायम भएको भए एक अवधि गणना हुने ।
(घ) १३औँ महाधिवेशनमा माथिल्लो तहमा निर्वाचित सभापति समायोजन गर्दा एक तह मातहतको पदको सभापति कायम भएमा एक अवधि गणना हुने ।
(ङ) स्थानीय तहको पुर्संरचना हुँदा साबिकको वडा वा पालिका (गा.पा., न.पा., उपम.न.पा. र म.न.पा.)को समायोजन, रूपान्तरण वा स्तर परिवर्तन भएको अवस्थामा साबिकमा कुनै पनि तहमा सभापति भएको व्यक्ति रूपान्तरणपछि पनि जुनसुकै तहमा सभापति भएमा पदावधि गणना हुने ।
५. प्रदेश अधिवेशन सम्पन्न नभएसम्मका लागि अधिवेशनसँग सम्बन्धित प्रदेश कार्यसमितिले गर्ने भनी विधानमा उल्लेख गरिएका काम केन्द्रीय कार्यसमितिले गर्ने ।
प्रस्ताव नं. ३
विदेशस्थित नेपाली जनसम्पर्क समितिसम्बन्धी :
१. म्याद समाप्त भएका भारत, अमेरिका, इटाली, जर्मनी, स्पेन, कतार, मलेसिया, न्युजिल्यान्ड, पोल्यान्ड, चीन, फिनल्यान्ड, आयरल्यान्ड, स्वीडेन, स्विटजरल्यान्ड, साउदी अरब, बेल्जियम, जापान र अष्ट्रेलिया, दक्षिण कोरिया, पोर्चुगल, मकाउ, बहराइन, ओमन, फ्रान्स र लग्जम्बर्गस्थित नेपाली जनसम्पर्क समितिको थप गरिएको ६ महिनाको अवधि समाप्त भएको र नेपाली जनसम्पर्क समिति बेलायतको अवधि पनि समाप्त भएकोले उल्लेखित देशहरूस्थित नेपाली जनसम्पर्क समितिको अवधि समाप्त भएको मितिले असार महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी म्याद थप गर्ने ।
२. नेपाली जनसम्पर्क समिति ओमनबाट पार्टीको विधान र नियमावलीबमोजिमको आवश्यक प्रक्रिया पुर्याई क्रियाशील सदस्यताको नयाँ (४१०) र नवीकरण (१००) को नामावलीको सूची र सोबापतको सदस्यता शुल्कसमेत दाखिला हुन आएकोले उक्त जनसम्पर्क समितिबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गर्ने ।
३. नेपाली कांग्रेसको विधान र नियमावलीको व्यवस्थासँग नबाझिने गरी तयार गरी नेपाली जनसम्पर्क समिति कतारबाट अनुमोदन गरी पठाइएको विधानलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा १४ (३) बमोजिम स्वीकत गर्ने ।
प्रस्ताव नं. ४
समायोजन, क्रियाशील सदस्यता वितरणर अधिवेशनका कार्यतालिका नयाँ प्रस्तावित मिति
(क) समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्नुपर्ने अन्तिम अवधि २०७७ फागुन १५ गतेभित्र ।
(ख) विधानले तोकेको कार्यविधिबमोजिम एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र नवीकरण तथा एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र जिल्ला कार्यसमितिले नवीकरणको कार्य सम्पन्न गर्ने अवधि २०७७ फागुन २८ गतेभित्र ।
- वडा कार्यसमितिले पालिका कार्यसमितिलाई बुझाउने : फागुन १२ गतेभित्र ।
- पालिका कार्यसमितिले प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई बुझाउने : फागुन १६ गतेभित्र ।
- प्रदेश सभा क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई (एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कार्यसमितिलाई) बुझाउने : फागुन २० गतेभित्र ।
- प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नवीकरणको फारम र सूची जिल्ला कार्यसमितिलाई बुझाउने : फागुन २८ गतेभित्र ।
(ग) (१) एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यता र एक वा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको क्रियाशील सदस्यता नवीकरणको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि–
(२) एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमितिमा र केन्द्रमा पठाउने अवधि– २०७७ चैत १० गतेभित्र ।
(घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरीउपर छानबिन गरी निर्णय गर्ने र निर्णयअनुसारको सूची प्रकाशित गरी केन्द्रमा पठाउनुपर्ने अवधि– २०७७ चैत २५ गतेभित्र ।
(ङ) नयाँ क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयउपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा क्रियाशील सदस्यता नवीकरणसम्बन्धी परेका उजुरीउपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि– २०७८ जेठ १७ गतेभित्र ।
(च) केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि– २०७८ जेठ २४ गतेभित्र ।
अधिवेशन
(क) गाउँ/नगर वडा अधिवेशन– २०७८ असार ५ गते
(ख) गाउँ/नगरपालिका अधिवेशन– २०७८ असार ७ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन– २०७८ श्रावण १ गते
(घ) प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन– २०७८ साउन ३ गते
(ङ) एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन– २०७८ साउन ६ गते
(च) प्रदेश अधिवेशन– २०७८ साउन १० र ११ गते
(छ) केन्द्रीय महाधिवेशन : २०७८ भदाै ७, ८, ९ र १० काठमाडौं
प्रस्ताव नं. ५
क्रियाशील सदस्यता छानबिन समितिलाई निम्न कार्यादेश दिइएको छ–
१. नयाँ क्रियाशील सदस्यता सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयउपर परेको पुनरावेदन र क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा परेका उजुरीउपर विधानको धारा ४ (८) (ङ) बमोजिमको समितिले गर्ने कार्य गर्ने ।
२. पार्टीको विधान, नियमावली र मिति २०७६/११/१३ गते समेतका केन्द्रीय परिपत्रबमोजिम पार्टीका सबै सम्बन्धित निकायबाट क्रियाशील सदस्यता (नयाँ वितरण र नवीकरण)सम्बन्धी कामको जानकारी लिने, प्रक्रियाको पालना भए–नभएको अनुगमन गर्ने र क्रियाशील सदस्यता
(नयाँ र नवीकरण) सम्बन्धमा केन्द्रले तोकेको मितिभित्र कार्यसम्पन्न गर्नका लागि आवश्यक अनुगमन, निर्देशन र निर्णय गर्ने ।
३. क्रियाशील सदस्यता सम्बन्धमा समितिले आवश्यकताअनुसार जिम्मेवारी तोकी केन्द्रीय प्रतिनिधि खटाउन सक्ने ।
४. क्रियाशील सदस्यता सम्बन्धमा परेका उजुरी र पुनरावेदनउपर अन्तिम निर्णय गर्ने ।
५. क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को प्रमाणित सूची केन्द्रले तोकेको मितिभित्र पार्टीको विधान, नियमावली र मिति २०७६/११/१३ गतेको केन्द्रीय परिपत्रले निर्देशन गरेअनुरूपको प्रक्रिया पूरा गरी केन्द्रीय कार्यालयमा आइसक्नुपर्नेछ । प्रक्रिया पूरा नभएका क्रियाशील सदस्यताको नामावलीको सूची स्वीकृत हुनेछैन ।
६. केन्द्रले तोकेको मितिभित्र क्रियाशील सदस्यता नबुझाउने जिल्लाले महाधिवेशनमा भाग लिन पाउनेछैन ।
७. पार्टीको सबै निकायले (वडा/पालिका/प्रदेश सभा/प्रतिनिधिसभा/जिल्ला) केन्द्रले तोकेको मितिभित्र आफूभन्दा माथिको निकायलाई क्रियाशील सदस्यता बुझाउँदा आफ्नो र मातहात निकायको बैठकको निर्णयको प्रमाणित प्रतिलिपि, क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को प्रमाणित सूची, सदस्यता शुल्क र सहयोग रकम (लेबी) अनिवार्य रूपले बुझाउनुपर्नेछ । प्रतिनिधिसभा/जिल्ला कार्यसमितिले केन्द्रमा क्रियाशील सदस्यताको सूची बुझाउँदा उपरोक्त उल्लेखित सबै तहका कागजात अनिवार्य रूपमा संलग्न राख्नुपर्नेछ ।
८. क्रियाशील सदस्यता छानबिन समितिले महाधिवेशनको कार्यतालिकाबमोजिमको मितिभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा देखिएका सम्पूर्ण विवाद टुंग्याई केन्द्रीय कार्यसमितिमा प्रतिवेदन पेस गर्नेछ ।
९. क्रियाशील सदस्यता छानबिन समितिले १३औँ महाधिवेशनको कार्यविधिलाई आवश्यक संशोधन र परिमार्जन गरी लागू गर्नेछ ।
प्रस्ताव नं. ६
आन्दोलनका कार्यक्रमबारे
प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध केन्द्रीय कार्यसमितिले घोषणा गरेअनुरूप पुस १३ गतेदेखि फागुन ३ गतेसम्म विभिन्न तहमा भएका प्रदर्शनमा भएको व्यापक सहभागिताबाट पार्टीले अघि सारेको धारणाका पक्षमा व्यापक जनमत प्रकट भएको छ ।
अतः पार्टीको क्रियाशील सदस्यता वितरण र महाधिवेशन तयारीका कार्यहरूलाई असर नपर्ने गरी आन्दोलनलाई निरन्तरता दिँदै कार्यक्रम निर्माण र आयोजना पार्टी जिल्ला कार्यसमिति एवं विभिन्न तहलाई गर्न निर्देशन दिइएको छ ।जिल्लाद्वारा निर्धारित कार्यक्रमहरूलाई असर नपर्ने गरी भ्रातृ एवं शुभेच्छुक संस्थाहरूले आन्दोलनका थप कार्यक्रम आयोजना गर्नेछन् ।
प्रस्ताव नं. ७
महिलाउपर बढ्दो हिंसा, बलात्कार र हत्याका विरुद्ध
देशका विभिन्न भागमा महिलाउपर हिंसा, बलात्कार र हत्याका घटनाहरू पछिल्लो समय झनै बढेर गएकोमा गम्भीर चिन्ता प्रकट गर्दै बैठकले त्यसविरुद्ध समाजको जागरुकता र राज्यको कर्तव्यमा तदारुकता बढाउन अपिल गर्ने निर्णय गरेको छ ।
यस्ता घटनाका विरुद्ध दबाबमूलक अभियानका लागि पार्टीपंक्तिलाई परिचालन गर्ने निर्णय बैठकले गरेको छ । फागुन ८ गते दिनको १ बजे राजधानीको रत्नपार्क (शान्तिबाटिका) मा नेपाल महिला संघद्वारा आयोजित प्रदर्शनमा व्यापक सहभागिताका लागि बैठकले सबैलाई अपिल गरेको छ ।
प्रस्ताव नं. ८
कोभिड– १९ विरुद्धको खोप
कोभिड– १९ को प्रकोप अझै समाप्त भएको छैन । कैयौँ देशमा पछिल्लो समय परेको नयाँ र गम्भीर प्रकृतिको कोभिड– १९ नेपालमा प्रवेश गर्न सक्ने सम्भावनाप्रति नेपाल सरकार गम्भीर देखिएको छैन । नेपाली कांग्रेस पार्टी कोभिडको नयाँ भेरिएन्ट नेपालमा प्रवेश हुन नदिनका लागि आवश्यक पर्ने सम्पूर्ण उपाय गर्न सरकारसँग माग गर्दछ ।
कोभिड– १९ विरुद्ध आमजनतालाई खोप लगाई स्थायी रूपमा यो प्रकोपलाई रोक्न सरकारले कुनै स्पष्ट कार्य योजना ल्याएको छैन । छिमेकी राष्ट्र भारतबाट सहयोगस्वरूप प्राप्त १० लाख डोज खोपको वितरणमा सुस्पष्ट प्राथमिकता निर्धारण गरिएको छैन ।
अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी तथा सञ्चारकर्मीहरूलाई खोपमा प्राथमिकता उपयुक्त हो । तर, ज्येष्ठ नागरिकहरूलाई धेरै अगाडि प्राथमिकतामा राखेर खोप वितरण गर्नुपर्नेमा बल्ल अहिले आएर सरकारले त्यसलाई प्राथमिकतामा राखेको घोषणा गरेको छ । सरकारले खोपको विश्वसनीयताको बारेमा यथेष्ट सूचना प्रवाह नगर्नाले खोप लगाउनेबारेमा जनआशंका कम भएको छैन भने खोपको वितरणमा पनि पहुँचका आधारमा जथाभावी बाढिएको खबरहरू आइरहेका छन् । यसप्रति नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।
प्राथमिकताका आधारमा प्रत्येक नेपालीले खोप प्राप्त गर्ने गरी अनुदानमा या आवश्यक बजेट विनियोजन गरेर विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूपको पर्याप्त खोप ल्याउन र जनतालाई निःशुल्क उपलब्ध गराउन विस्तृत कार्ययोजना अविलम्ब निर्माण गरी सार्वजनिक गर्न माग गर्दछ ।
प्रस्ताव नं. ९
विभिन्न नियुक्ति सम्बन्धमा
एकातर्फ निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई दबाब दिने, अर्कातर्फ निजामती सेवा र प्रहरीमा सरुवा, विभिन्न निकायमा नियुक्ति एवं समस्या समाधान गर्न होइन नागरिकलाई प्रलोभनमा पार्ने उद्देश्यले भूमि आयोगमा नियुक्ति गर्ने, यो द्वैध चरित्रले सत्ताको चरम दुरुपयोग भएको छ भने नैतिक आचारको दृष्टिले समेत यो बिल्कुलै गलत र आपत्तिजनक रहेकोे ठहर यो बैठक गर्दछ ।
प्रस्ताव नं. १०
पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिविरुद्ध
कोभिड– १९ बाट आर्थिक रूपमा कमजोर भएका आमनागरिकहरूमाथि सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आमनागरिक झन् मर्कामा परेका छन् । आमनागरिकको दैनिक जीवनसँग सरोकार राख्ने पेट्रोलियम पदार्थको मूल्यवृद्धि तुरुन्त फिर्ता लिन सरकारसँग माग गर्दै उपभोग्य वस्तुलगायतमा झनै महँगी बढेकोमा सरकारप्रति विरोध प्रकट गर्दै ध्यानाकर्षण गराउने निर्णय गर्दछ ।