दोर्दी १ बाट वैशाखदेखि विद्युत् उत्पादन थालिने

बुधबार, ५ फागुन, २०७७
डिजिटल संस्करण

लमजुङको दोर्दीखोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी १ जलविद्युत् आयोजनाको निर्माण कार्य ९० प्रतिशत सकिएको छ । आयोजनाको बाँध क्षेत्रको सिभिल संरचना निर्माणको काम सकिएको आयोजना प्रबन्धक उज्ज्वल सिलवालले बताए ।

उनका अनुसार चालू आर्थिक वर्षको वैशाखभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको विद्युत्गृहको काम पनि अन्तिम चरणमा पुगेको छ । विद्युत्गृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान भइरहेको छ । आयोजनाको ७ सय मिटर पेनस्टक पाइपमध्ये १ सय ५० मिटर पाइप जडान हुन बाँकी छ ।

 प्रमुख सिलवालले भने, ‘आयोजना आफैँले सबस्टेसनसम्म आवश्यक पर्ने साढे ३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ । उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्नेे १ सय ३२ केभी कीर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ ।’

आयोजनाले प्रसारण लाइनको १५ वटा टावर निर्माण पनि गरिसकेको छ । आयोजनाको सिभिल संरचना निर्माणको काम पहिले नै सक्ने लक्ष्य भए पनि कोरोनाका कारण आयोजनाको निर्माण कार्य पछाडि धकेलिएको आयोजनाले जनाएको छ । ०७४ साल चैतबाट सुरु भएको आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

सुझावित समाचार