कोरोना कहर रोकथामका लागि लकडाउनसँगै अन्तर्राष्ट्रिय नाका बन्द गरिएकामध्ये नेपाल–भारत जोड्ने सबैभन्दा छोटो दूरीको पश्चिम नेपाल कञ्चनपुरको गड्डाचौकी नाका पनि हो ।
११ माघ सरकारले गड्डाचौकीसहितका नाका खोल्ने निर्णय गरेपछि अहिलेसम्म सो नाका नियमित रूपमा सहज नहुँदा यहाँका स्थानीय एवं व्यवसायी मारमा परेका छन् । १० चैत ०७६ मा बन्द गरिएको नाका केही सर्तसहित आंशिक सञ्चालन भए पनि अझैसम्म पूर्ण रूपमा सञ्चालनमा आएको छैन ।
१ असार ०७७ देखि व्यावसायिक सामान तथा प्रशासनको अनुमतिमा आउजाउ भइरहेको थियो । सरकारले १६ माघदेखि भारत र चीनसँग जोडिएका देशभरिका नाका सञ्चालन गर्ने निर्णय गरेपछि त्यसको कार्यान्वयन नभएको भन्दै स्थानीय एवं व्यवसायी मारमा परेका छन् । नाका बन्दका कारण चोरी तस्करी बढेको र निश्चित केही व्यवसायीले सेटिङमा सामान ल्याउने कारण अन्य व्यवसायी मारमा परेको भन्दै नाका सहज रूपमा खुलाउनुपर्नेमा जोड दिएका छन् ।
स्थानीय एवं नागरिक समाज कञ्चनपुरका सचिव कोमलनिरञ्जन भाटले दुवै देशका नागरिकबीच सामाजिक आर्थिक एवं सांस्कृतिक सम्बन्ध रहेकाले नाका सहज रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिए । ‘कोरोना रोकथामका लागि बन्द गरिएको नाका सहज रूपमा नखुले पनि आउभाउ भने रोकिएन,’ उनले भने, ‘नाका खुला जस्तै छ, ‘तर सबैका लागि सहज गराउनुपर्छ ।’
होटेल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले गड्डाचौकी नाका सहज सञ्चालन हुन नसक्दा महेन्द्रनगरसहित सीमावर्ती क्षेत्रका होटेल व्यवसाय क्षेत्र चौपट भएको बताए । ‘कोडिभका कारण लामो समयदेखि घरमै बसेका भारतीय पर्यटकका लागि नजिक र सुरक्षित गन्तव्य नेपाल हो,’ ‘उनले भने, ‘तर, भारतीय नागरिकलाई नेपालमा सहज आउन दिएको छैन ।’
महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरदत्त पन्तले गृह मन्त्रालयले नाका खोल्ने निर्णय गरे पनि स्थानीय प्रशासनबाट सहज नहुँदा सीमा क्षेत्रमा सास्ती खेप्नुपरेको बताए । नाका सहज रूपमा सञ्चालन नहुँदा यात्रु र यातायात व्यवसायी मारमा परेको उनले बताए ।