अनुसन्धानमा लगानी : समृद्धिको मार्ग

शुक्रबार, ३० माघ, २०७७
डिजिटल संस्करण

अनुसन्धान विकास र समृद्धिको दरिलो आधार भए पनि नेपालमा अनुसन्धानको क्षेत्रमा लगानी न्यून भएको गुनासा दिनानुदिन बढ्दो रूपमा आइरहेका छन् । नेपालले वैज्ञानिक अनुसन्धानमा कुल गार्हस्थ्य उत्पादनको केवल ०.४५ मात्रै लगानी गर्छ, जुन विश्वको औसत १.७५ भन्दा कम हो । अनुसन्धान भनेको समय र पैसा दुवै हिसाबले खर्चिलोका साथै अनुत्पादक क्षेत्र हो र हाम्रो जस्तो अल्पविकसित देशले अनुसन्धानमा लगानी गर्नु आर्थिक हिसाबले यथार्थपरक हुँदैन भन्ने आमबुझाइले पनि राज्यले अनुसन्धानमा समुचित लगानी नगरेको देखिन्छ । 

सिंगापुर, दक्षिण कोरियाजस्ता देशले अनुसन्धान र प्रविधिमा लगानी गरेकै कारण आफूलाई कम विकसित मुलुकबाट माथि उठाउँदै विकसित मुलुकमा उभ्याएका छन् । हुन त कतिपय अनुसन्धानले तुरुन्तै प्रतिफल नदिने हुनाले पनि नेपालजस्ता कम विकसित देशका सरकारलाई तुरुन्तै प्रतिफल दिने अन्य क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यता पनि हुन्छ । तर, मनन गर्नुपर्ने कुरा के हो भने अनुसन्धानमा आधारित नभएका योजना खासै दिगो र स्थायी हुँदैनन् । झट्ट हेर्दा अनुसन्धानमा खर्च नगर्दा राज्यको केही लगानी जोगिएजस्तो देखिए पनि यथार्थमा त्यसले राज्यलाई फाइदा पुर्याउनुको सट्टा घाटा नै गरिरहेको हुन्छ । 

आजको विश्वमा प्राकृतिक स्रोत, साधनभन्दा पनि अनुसन्धानमा आधारित ज्ञानलाई नै समृद्ध अर्थतन्त्रको दरिलो आधार मानिन्छ । यदि प्राकृतिक स्रोत नै समृद्धिको दरिलो आधार हुने भए हिराको खानी भएको सियरा लियोन, तेलको खानी भएको कंगो, सुनका खानी भएका लाइबेरिया, इथियोपियाजस्ता देश किन पो अल्पविकसित देशमा सूचीकृत हुन्थे । अघिल्लो शताब्दीमा कच्चा पदार्थले विश्वको सम्पत्तिको ३० प्रतिशत हिस्सा ओगट्थ्यो, अहिले केवल ४ प्रतिशत । ज्ञान भनेको व्यक्ति तथा राज्यको आर्थिक हैसियत मात्रै नभएर सामाजिक हैसियत निर्धारण गर्ने सूचकसमेत भएकाले ज्ञानमा आधारित अर्थतन्त्र विकास गर्नका खातिर सबैको ध्यान केन्द्रित हुन जरुरी छ । दक्षिण कोरिया, सिंगापुर, चीन, ताइवान, भारतजस्ता मुलुकले ज्ञानका माध्यममार्फत नै आफूलाई दरिलो अर्थतन्त्रको रूपमा उभ्याएका छन् । 

कतिपय मानिसमा अनुसन्धान त विकसित देशहरूले गरिहाल्छन् नि, उनीहरूको अनुसन्धानको नतिजा हामीले उपभोग गरे भइहाल्यो नि, यसो गर्दा हाम्रो मुलुकको लगानी पनि लाग्दैन भन्ने खालको धारणा व्याप्त छ । तर, हामीले के बुझ्नुपर्छ भने अनुसन्धानको नतिजा भूगोल, संस्कृति, वातावरणअनुसार फरक–फरक पनि हुन सक्छन् । अरू मुलुकले आफ्नो सम्बन्धमा गरेको अनुसन्धान हाम्रा लागि अनुपयोगीसमेत हुन सक्छ । तसर्थ, अन्य मुलुकले गरेको अनुसन्धानको नतिजालाई हुबहु हाम्रो भूगोलमा रूपान्तरण गर्न नसकिने पनि हुन सक्छ । अन्वेषण, अनुसन्धानले नै नयाँ ज्ञानको सिर्जना गर्छ । अनुसन्धानको अभावकै कारण हाम्रो देशका कतिपय मौलिक विषयवस्तु बाहिर आउन सकेका छैनन् । हामीले हाम्रो मौलिकता, इतिहास र आफ्ना पितापुर्खाको व्यथा, गाथा, भाषा, संस्कृति, भूगोलको बारेमा गहन अध्ययन गर्न सक्दा मात्रै अन्तर्राष्ट्रिय समुदायसामु तथ्यगत तथ्यांक पेस गर्न सक्छौँ, देशको इज्जत बढाउन र मौलिक ज्ञान, सीपको संवद्र्धन र प्रवद्र्धन पनि गर्न सक्छौँ । 

अनुसन्धानमा न्यून लगानीको सामाजिक तथा आर्थिक भार राज्यले पनि बेहोर्नुपरिरहेको छ । नेपाललाई विकसित देशको हैसियतमा उभ्याउन राज्यले अनुसन्धानमा लगानी गर्न हिच्किचाउनु हुँदैन । 
 

अनुसन्धानमा लगानीकै अभावका कारण देशका विभिन्न भूगोलमा के कस्ता खनिज उपलब्ध हुन सक्छन् भन्ने अझै स्पष्ट हुन सकेको छैन । नेपालका विभिन्न भूगोलका समुदायहरूमा के कस्ता वंशानुगत रोग लाग्न सक्छन् भन्ने ज्ञानको अभावले जनताले स्वास्थ्य उपचारमा ठूलो धनराशि खर्च गर्नुपरिरहेको छ । अनुसन्धानमा न्यून लगानीको सामाजिक तथा आर्थिक भार राज्यले पनि बेहोर्नुपरिरहेको छ । नेपाललाई विकसित देशको हैसियतमा उभ्याउन राज्यले अनुसन्धानमा लगानी गर्न हिच्किचाउनु हुँदैन । 

तर, अनुसन्धानमा लगानी गर्दैमा स्वतः अनुसन्धानको स्तर वृद्धि हुने र ती अनुसन्धानको प्रतिफलले राष्ट्र समृद्ध भइहाल्ने भन्ने पनि होइन । लगानीका साथै अनुसन्धानमा चाहिने उच्च दक्ष जनशक्ति तयार भएको हुन पनि उत्तिकै आवश्यक छ । दक्षिण कोरियाले अनुसन्धानको स्तर वृद्धि गर्नका लागि सुरुवाती चरण सन् १९७० को दशकमा आफ्ना विदेशमा भएका दक्ष जनशक्तिलाई व्यापक रूपमा स्वदेश फर्कन आह्वान गरेको थियो । कतिपय अवस्थामा अनुसन्धानमा उत्कृष्ट मानिएका देशमा नागरिकलाई तालिमका लागि समेत पठायो । नेपालको अवस्था त्यस्तो पनि छैन । अनुसन्धानमा अब्बल मानिएका मुलुकहरूबाट विद्यावारिधि र पोस्ट–डक्टरेट गरेका जनशक्ति यथेष्ट रूपमा नेपालमा नै छन् ।

कतिपयले त आफ्नै लगानीमा निजी अनुसन्धान केन्द्रहरू पनि सफलतासाथ सञ्चालन गरिरहेका छन् । जर्नलमा प्रकाशन भएका कृतिहरूको संख्या, उद्धरण (साइटेसन), एच–इन्डेक्स आदि मापदण्डका आधारमा त्यस्ता अनुसन्धानकर्ताको गुणस्तर र क्षमतालाई पहिचान गर्न सक्नु मात्रै पर्छ । त्यस्तै, अनुसन्धानको गुणस्तर वृद्धि गर्नका लागि सिंगापुरको उदाहरणलाई पनि अनुसरण गर्न सकिन्छ । सिंगापुरले एमआइटी, ड्युक, जोन हप्किन्सजस्ता विश्वविद्यालयसँग सहकार्य गर्दै यी संस्थाहरूको क्याम्पस सिंगापुरमा विस्तार गरेको थियो । यसैगरी, नेपाल सरकारले पनि केही उत्कृष्ट विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूको क्याम्पस नेपालमा विस्तार गर्नका लागि पहलकदमी बढाउन सक्छ । हाम्रै नेपाली मूलका कतिपय व्यक्ति विश्वका गुणस्तरीय विश्वविद्यालयमा प्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ, उहाँहरूमार्फत यो प्रक्रियाको थालनी गर्न सकिन्छ । 

हामीले अनुसन्धान शब्दलाई नै हल्का रूपमा त लिइरहेका छैनौँ भन्ने विषय पनि विचारणीय छ । धेरै अस्पतालले आफूलाई अस्पताल तथा अनुसन्धान केन्द्र भनेर नामकरण गरेको पाइन्छ । यीमध्ये कति प्रतिशत अस्पतालमा अनुसन्धान कार्यमार्फत नवीन ज्ञान सिर्जना हुन्छ भन्ने यकिन तथ्यांक छैन । हामीकहाँ विभिन्न तहका सरकारका वार्षिक बजेटमा अनुसन्धान शीर्षकमा केही रकम विनियोजन गरिएको हुन्छ । तर, त्यस रकमको सदुपयोग गरेर कतिवटा प्रभावकारी, गहिरो अनुसन्धान गरिए भन्ने प्रश्न भने अनुत्तरित नै रहने गरेको छ । दिगो परिणाममुखी अनुसन्धानमा राज्यको लगानी भएमा युवामा अनुसन्धानमा रुचि बढ्नुका साथै उनीहरूले यसको महत्वसमेत ग्रहण गर्न सक्छन् । विश्वविद्यालयहरूले पनि आफूलाई केवल अध्यापन मात्रै गराउने संस्थाभन्दा पनि अनुसन्धान गरी ज्ञानको भण्डार सिर्जना गर्ने संस्थाको रूपमा चिनाउन सक्नुपर्छ । 

अन्त्यमा, अहिलेको डिजिटल युगमा प्रविधिको विकाससँगै नेपालमा पनि धेरै व्यक्तिले अनुसन्धानको महŒव बुझ्दै गएका छन् । अब नेपालले पनि विश्वस्तरमा शैक्षिक क्षेत्रमा प्रतिस्पर्धा गर्नका लागि राज्यले अनुसन्धानमूलक शिक्षामा यथोचित लगानी गर्दै प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म नै हाम्रो शिक्षण प्रणालीलाई अनुसन्धानमूलक बनाउन जरुरी देखिन्छ । 

(पराजुली अध्येता तथा अनुसन्धानकर्मी हुन्) 
[email protected]

 

सुझावित समाचार