म्यानमारमा सैन्य कूको विरोधमा प्रदर्शन जारी, बुधबारदेखि सरकारी कर्मचारी पनि सहभागी

बुधबार, २८ माघ, २०७७
डिजिटल संस्करण

म्यानमारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध प्रदर्शन जारी राखेका छन्। । यसैक्रममा मंगलबार एक महिला गम्भीर घाइते भएकी छिन् । प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो । मानवाधिकारवादी समूहहरूका अनुसार घाइते भएका ती महिलाको टाउकोमा गोली लागेको छ  ।

प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीहरू घाइते भएका विवरणहरू प्राप्त भएका छन । तर हालसम्म कसैको पनि मृत्यु भएको समाचारहरू भने आएका छैनन् । बुधवार बिहान पुनः विरोध प्रदर्शन सुरु भएको र राजधानीमा आयोजित पाँचौँ दिनको प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी भएका छन् । 

यसैबीच म्यानमारको सेनाले नेतृ आङ सान सुकीको पार्टी नेसनल लीग फर डेमोक्रेसीको याङ्गुनस्थित मुख्य कार्यालयमा छापा मारेर तहसनहस पारिदिएको दलले दाबी गरेको छ । मङ्गलवार राति सुरक्षाकर्मीहरू कार्यालयको ढोका फोरेर भित्र छिरेर तहसनहस गरेको जानकारी दिइएको छ । 

सेनाले जारी गरेको रात्रीकालीन निशेधाज्ञाका बेला छापा मारेको  बताइएको छ । अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म देशभर निशेधाज्ञा लागु गरिएको छ ।
 

सुझावित समाचार