निर्वाचन तयारीको कामलाई निरन्तर अगाडि बढाउन प्रधानमन्त्रीको सुझाब (भिडियोसहित)

मंगलबार, २७ माघ, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले निर्वाचन तयारीको कामलाई निरन्तर अगाडि बढाउन निर्वाचन आयोगलाई सुझाब दिएका छन् । निर्वाचन आयोगले गरिरहेको तयारीबारे जानकारी लिन मंगलबार आयोग पुगेका ओलीले कामलाई निरन्तर अगाडि बढाउन सुझाब दिएका हुन् । ओलीले निर्वाचनको तयारीको सम्बन्धमा आयोगले सन्तोषजनक तयारी गरेको भन्दै धन्यवादसमेत ज्ञापन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । 

थापाका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले दलको विवादको सम्बन्धमा प्रमुख निर्वाचन आयुक्तले ११ माघमा आयोगले एउटा निर्णय दिइसकेको र त्यसमा फेरि २० माघमा अर्को निवेदन पनि प्राप्त भएको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । 

दलको विवादबारे छलफल नभएको उनको भनाइ छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले खासगरी सुरक्षाको बन्दोबस्ती, बजेटलगायतका विभिन्न विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको र आयोगले निर्वाचनका लागि सम्पूर्ण तयारीको काममा केन्द्रित गरेको तथा निर्वाचन गराउनुबाहेक आयोगलाई अरू कुराहरूको मतलब नभएको प्रधानमन्त्रीसमक्ष राखेको थापाको भनाइ छ ।

प्रधानमन्त्री ओलीले निर्वाचनका लागि सबै प्रकारका सहयोग गर्न, साधनस्रोतहरूको कमी हुन नदिन सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको थापाले बताए ।

सुझावित समाचार