कांग्रेस सभापति शेरबहादुर देउवाले भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । सभापति देउवाले शनिबार ट्विट् गर्दै भागरथीको हत्याको खबरले मर्माहित बनाएको भन्दै दोषीलाई कारबाहीको माग गरेका हुन् ।
‘बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खबरले निकै मर्माहित भएको छु,’ देउवाले लेखेका छन्, ‘उक्त घटनाको विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु ।
भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’ विद्यालयबाट घर फर्किदा बाटोबाटै बेपत्ता भएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भट्ट बिहीबार मृत अवस्थामा भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।