सर्लाहीको कविलासीबाट प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । शुक्रबार कविलासी नगरपालिका–८ अगर्वाबाट ठूलो परिणाममा लागुऔषधसहित कविलासी नगरपालिका–१० निवासी ३० वर्षीय नन्दकिशोर राय पक्राउ परेका हुन् ।
बिआर ३० एम ०३९५ नम्बरको मोटरसाइकलमा मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेका रायको साथबाट नाइट्राभेट ट्याब्लेट फेला परेको प्रहरीले जनाएको हो ।
सुराकीका आधारमा प्रहरीले मोटरसाइकल चेक–जाँच गर्ने क्रममा सेतो प्लास्टिकको झोलामा राखेर लुकाइ–छिपाइ लैजाँदै गरेको ८० पत्ता १२ सय पिस ट्याब्लेट लागुऔषध नाइट्राभेट–१० बरामद भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक दीपक चोरवारले जानकारी दिए ।
प्रहरीले बरामद गरेको लागुऔषध, मोटरसाइकल र पक्राउ परेका रायलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरीको हिरासतमा राखिएकाे छ ।