प्रधानमन्त्री केपी ओलीले गाडीमा सयर गर्दै आमहडतालको निरीक्षण गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यंग्य गरेका छन् ।
आफ्नो समूहनिकट किसान महासंघको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डले गाडीमा सयर भएर जनताले खेपेको सास्तीको तमासा हेरेको भन्दै व्यंग्य गरेका हुन् ।
‘उहाँहरूले बन्द आज गर्नु नै हुन्थ्यो, गर्न कोसिस गर्नुहुन्थ्यो, बन्द त खासै हुँदैन । जनतालाई दुःख त दिनुभो, गरिबको तरकारी फ्याँकेर महान् आन्दोलन आज सफल पार्दै हुनुहुन्छ । कति दुःखकष्ट गरेर फलाएर बाटोको छेउमा बेचिराखेको तरकारी, एउटी बुढीआमाले डोकामा बोकेर ल्याएको टमाटर सडकभरि फ्याँकेर क्रान्तिकारिता देखाउनुभो, प्रचण्डले, माधव नेपालले,’ ओलीले भने, ‘अरूका गाडी जलाउनुभो, आफू गाडीमा सयर भएर जनताले कति दुःख पाएका छन् हँ भनेर गाडीबाटै तमासा हेर्नुभो । अर्कोले गाडी चढ्न अलिक भएन, आफैँले बन्द गरेको बाइकसम्म त हुन्छ भनेर बाइक लिएर जनताले कति दुःख पाए भनेर रमिता हेर्दै हिँड्नुभो ।’
कार्यकर्ताले बन्दलाई साथ नदिएका कारण प्रचण्ड र नेपाल निरीक्षणमा निस्किएको ओलीको भनाइ थियो । ‘कार्यकर्ता सिद्धिएछन्, कार्यकर्ता यता छन् कहाँ होस् त । हामी यहाँ छौँ भन्ने टाँस्यो, अनि गाडी रोकेर को उभिएको छ भनेर हेर्दा त प्रचण्ड उभिराखेको । उभिएको कस्तो ठाउँमा भन्दा त सातदोबाटोमा । माधव नेपाल, अर्को । कार्यकर्ता छैनन्, सिद्धिएछन्, आफैँ उत्रिनुभएको छ,’ ओलीले भने, ‘उहाँहरूले फ्याँकेको हो कि सब्जी, टमाटर, उहाँहरूले अराएको मान्छेले फ्याँकेको हो ? त्योचाहिँ मलाई यकिन भएको छैन । तर, उहाँहरूको आन्दोलनले, उहाँहरूको कार्यकर्ताले कमसेकम फ्याँकेको हो ।’
उनले नियम–कानुन नमान्ने दिन सकिएको भन्दै प्रचण्डलाई सरकारले उपद्रो मच्चाउन नदिने पनि प्रस्ट्याए । ‘उहाँहरू आक्रामक ढंगले आउनुहुन्छ, नियम तोड्न खोज्नुहुन्छ । धाकधक्कु लगाउनुहुन्छ, कानुन मान्दिनँ भन्नहुन्छ अनि हप्की–दप्की गर्नुहुन्छ । प्रमुख जिल्ला अधिकारी, एसपी, डिएसपी । हप्की–दप्की गर्ने होइन, कानुनको पालना गर्न सिक्नुस् । लोकतन्त्र भनेको कानुनको राज हो, बलमिच्याइँको होइन । प्रचण्डलाई म सम्झाउन चाहन्छु, ती दिन गए जतिवेला तपाईं कानुन मान्दिनँ, संविधान मान्दिनँ भन्दै उपद्रो मच्चाउन हिँड्नुभएको थियो, त्यो जमाना गयो,’ ओलीले भने ।