चिहान विवादका कारण गाउँलेबीच बढ्यो द्वन्द्व

मंगलबार, २० माघ, २०७७
डिजिटल संस्करण

सल्यानको बागचौर नगरपालिका– ९ जलेखर्कमा चिहानको विषयमा विवाद उत्पन्न भएपछि स्थानीयबीच द्वन्द्व बढेको छ । जलेखर्कमा रहेको करिब डेढ सय वर्ष पुरानो समाधिस्थल सोही ठाउँमा कायमै राख्ने कि स्थानान्तरण गर्ने भन्ने विषयमा गाउँलेहरू दुई पक्षमा विभाजित भएका छन् । चिहानका कारण बढेको द्वन्द्वले वर्षौँदेखिको गाउँलेबीचको  सम्बन्ध बिग्रँदै गएको छ । 

एउटा पक्षले डेढ दशकदेखि प्रयोग गरिरहेको पितृकोटमा रहेको समाधिस्थल कायमै राख्ने भन्दै आएका छन् भने अर्को पक्षले बस्ती विस्तार भएकाले समाधिस्थल गाउँभन्दा टाढा बनाउनुपर्ने अडान राखेका छन् । जलेखर्कमा अधिकांश परिवार दशनामी समुदायका छन् । उनीहरूले मृत्युपछि चिहान बनाएर समाधिष्ट गर्ने प्रचलन छ । 

‘हाम्रो पुर्खाहरूको यसै पितृकोटमा समाधि छन्, हामी पनि मृत्युपछि यही बस्ने हाे,’ स्थानीय चन्द्रबहादुर कुँवर योगीले भने, ‘हाम्रो घर अस्थायी हो । यो चिहान नै हाम्रो स्थायी घर भएकाले मृत्युपछि हाम्रो पुर्खाहरूसँग नै हामी पनि बस्न चाहन्छौँ ।’ स्थानीयहरूको विवादपछि आफूहरूले सोही स्थानमा अमिन बोलाएर चिहानका लागि जग्गा छुट्याएको उनले बताए । उनले भने, ‘अहिले पनि हामीले आफ्नो ठाउँमा समाधि बनाउन नपाउने यो कस्तो अन्याय हो ?’ 

चिहानको विवाद इलाका प्रहरी कार्यालय थारमारे, वडा कार्यालय हुँदै नगरपालिकासम्म पुगेको छ । यस विषयमा सम्बन्धित सरोकारवालाहरूले पटकपटक दुवै पक्षहरूबीच सहमति गराए पनि कार्यान्वयन भने हुन सकेको छैन  । यता अर्को पक्षले भने चिहान भएको ठाउँ आसपासमा अहिले बस्ती विस्तार हुँदै गएकाले आफूहरूलाई समस्या भएको बताएका छन् । 

पुस्ताैँदेखि यस स्थानमा मानिसको समाधिष्ट गरिँदै आए पनि अब भने बस्ती विस्तार हुन थालेपछि स्थानान्तरण गर्नुपर्ने स्थानीय खिमावली गिरीले बताइन् । घरनजिकै रहेको चिहान स्थलमा शव ल्याउँदा महिला र बालबालिकालाई डर तथा त्रास हुने गरेको उनले बताइन् ।

सुझावित समाचार