०६२-६३ को परिवर्तनपछि मुलुकमा लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हाबी भयो : कमल थापा

आइतबार, १८ माघ, २०७७
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले ०६२-६३ को परिवर्तनपछि मुलुक लोकतन्त्रको नाममा सर्वसत्तावादतर्फ उन्मुख भएको बताएका छन् । राप्रपा प्रवास महासंघले आइतबार आयोजना गरेको ग्लोबल जुम बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा राजसंस्था र हिन्दुत्वको धरातलमा उभिएर  मुलुकमा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक रूपान्तरण गर्न चाहन्छ भन्दै भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तनको अन्त्यको निमित्त अहिले बुलन्द आवाजको आवश्यकता भएको बताए। 

सर्वोच्चमा विचाराधीन विषयमाथि दबाब र प्रभाव अनुचित हुने जनाउँदै थापाले सडक प्रदर्शन र वक्तव्यबाजी असान्दर्भिक भएकोसमेत उल्लेख गरे । राजसंस्था र हिन्दूराष्ट्रको मुद्दा राष्ट्रिय एजेन्डा बन्दै जानु र जनमतको वृद्धिलाई सकारात्मक उपलब्धि ठान्नुपर्ने भन्दै थापाले प्रवासमा पनि पार्टीको सक्रिय सदस्यता अभियानलाई सघन रूपमा अघि बढाउन आग्रह गर्दै प्रवासबाट महाधिवेशनमा सहभागिताको सुनिश्चित भएकोमा बधाईसहित खुसी प्रकट गरे । 

कार्यक्रममा प्रवास संगठनका नेताहरू प्रेमकुमार श्रेष्ठ , लोक तिवारीलगायत विभागका प्रमुख विजय खड्काले समेत धारणा राखेका थिए। बैठकमा २६ देशका प्रतिनिधिहरूको सहभागिता रहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

सुझावित समाचार